पानी ः सहज स्वास्थ्य उपचार

सुदर्शन पौडेल
शरीर स्वस्थ रहन पानीको मात्रा सन्तुलित हुनुपर्छ । व्यक्तिको कार्यक्षमता विकास, आकर्षक व्यक्तित्व, निद्रा, मानसिक तन्दुरुस्तीका लागि पानीको ठूलो भूमिका हुन्छ ।

शरीरको कुल तौलको ६० देखि ७५ प्रतिशत पानीले ओगटेको हुन्छ। शरीरका सबैभन्दा बढी रगतमा ८३ प्रतिशत र सबैभन्दा कम एडिपोस टिस्युहरुमा १० प्रतिशत पानी हुन्छ । यसैको मद्दतले रक्त सञ्चार नियमित गर्न र शरीरको तापक्रमलाई सन्तुलन गरी राख्न मद्दत मिल्छ ।
मांसपेसी निर्माण, कोषिकाहरुमा रसायनिक प्रतिक्रिया गराउने कार्यमा पनि पानीको भूमिका रहन्छ। यसले शरीरमा अत्यावश्यक पोषणको काम गर्छ ।

पानीको अभावले शरीरमा अक्सिजनको कमी हुने, शरीरमा शिथिलता वा थकान महसुस हुने, कोषिकाहरुको निर्माण र तिनको कार्यमा अवरोध आउँछ । विभिन्न उमेर समूह र अवस्थाका मानिसमा पानीको आवश्यकता फरकफरक हुन्छ । युरोपियन खाद्य सुरक्षा प्राधिकरणका अनुसार ६ महिनासम्मका शिशुलाई दैनिक ६८० मिलिलिटर (आमाको दूध मात्र) पर्याप्त हुन्छ भने ६ देखि १२ महिनाको बच्चाको लागि ८०० मिलिदेखि एक लिटर पानी प्रतिदिन आवश्यक पर्छ। यो क्रम उमेर बढेसँगै बढ्दै जाने हुन्छ ।

दुई वर्षको बच्चाको लागि १२०० मिलि, दुईदेखि ३ वर्षको लागि १३०० र चारदेखि आठ वर्षको उमेरमा १६०० मिलि पानीको आवश्यकता पर्छ । पूर्वकिशोरा अवस्थाका केटाहरुलाई २१०० र केटीहरुलाई १९०० मिलि र उत्तर किशोरावस्थादेखि माथिका सबै पुरुषले अढाई र महिलालाई दुई लिटर पानी आवश्यक पर्ने उल्लेख छ ।

गर्भवती र स्तनपान गराउने महिलालाई करिब आधा लिटर पानी थप सेवन गर्न सिफारिस गरिएको छ । हरेक व्यक्तिको पेसा, व्यवसाय, शारीरिक अवस्था, वाह्य वातावरणीय अवस्था आदिका आधारमा पानीको मात्रा थपघट हुनसक्छ । जस्तो बढी परिश्रम हुने काम वा शारीरिक सुगठनको अभ्यास गर्नेहरुलाई पानीको आवश्यकता बढी हुन्छ भने गर्मी मौसममा बढी पसिनाबाट पानी निस्कने हुँदा पनि पानीको आवश्यकता बढी हुने गर्छ । जाडो मौसममा पानी पर्याप्त सेवन गर्नुपर्छ ।

शरीरले खानाको माध्यमबाट करिब २० प्रतिशत पानी पाइरहेको हुन्छ। खानाको रुपमा ताजा तरकारी र फलफूल सेवन गर्दा शरीरलाई आवश्यक पानीको अलावा पर्याप्त पोषणतत्व पनि उपलब्ध हुन्छ । यस्ता खाद्य पदार्थले शरीरमा पानीको आवश्यक मात्रा संग्रह गरी सन्तुलनमा राख्न पनि मद्दत मिल्छ । मानिसको स्वास्थ्यमा पानीको महत्वका सम्बन्धमा धेरै अनुसन्धान प्रकाशित भएका छन् । यसै वर्ष ‘हाइड्रेसन फर हेल्थ’ को बाह्रौं अन्तर्राष्ट्रिय गोष्ठी भर्चुअल माध्यमबाट सम्पन्न भयो ।

उक्त गोष्ठीमा सहभागी विज्ञहरुले पानी र स्वास्थ्यका विविध पक्षहरुमा चर्चा गरे । त्यसमध्ये पहुँचका सम्बन्धमा विश्वमा दुई अर्ब मानिसलाई पानीको सहज पहुँच नभएको तथ्याङ्क प्रस्तुत गरियोे ।
हामीलाई थाहा छ, पानीको उपलब्धता नै मानिसको सभ्यताको आधार हो । सभ्यताको विकाससँगै पानीको उपलब्धता भएका स्थानमा मानव वस्ती विकास भएको देखिन्छ । पर्याप्त (स्वच्छ) पानीको उपलब्धताले मानिसको शारीरिक तथा मानसिक अवस्था निर्धारण गर्छ ।
विश्वमा मोटोपना जनस्वास्थ्य समस्याको रुपमा देखा पर्दैछ । यस सम्बन्धमा नेपालमा पर्याप्त अध्ययन भएको छैन ।

यद्यपि, सहरका बालबालिकादेखि युवाहरुमा मोटोपनाको संख्या बढदो क्रममा छ । यो समस्या धेरैथोरै गाउँघरमा पनि देखिँदै छ । ऋाम रुपमा हामीले बुझेको कुरा भनेको अत्यधिक पोषणयुक्त खाना, शारीरिक श्रमको कमी वा कुनै खास रोगका कारण यो समस्या आउँछ भन्ने हो ।
पछिल्लो समयमा क्रमिक रुपमा स्थापित भएको तथ्य भनेको शरीरमा पानीको सन्तुलन कायम रहँदा खानाको मात्रा नियन्त्रित हुने, पाचन प्रक्रिया राम्रो हुन गई मोटोपन घटाउन मद्दत मिल्ने अध्ययनहरुले देखाएका छन् ।

मोटोपनाको सम्बन्ध विविध खालका मानसिक समस्याहरुसँग पनि पाइएको छ। अतः यो कुचक्र तोड्ने सहज उपाय पर्याप्त स्वच्छ पानीको सेवन हुनसक्छ ।
नेपालका स्कुल र कलेजहरुमा आवद्ध करोडभन्दा बढी विद्यार्थी पढाइ हुने दिनहरुमा पर्याप्त (स्वच्छ) पानी पिउन र चर्पीको प्रयोग गर्न पाउँदैनन्। यस्तो अवस्था देशका अन्य पेसा, व्यवस्थामा काम गर्ने लाखौं व्यक्तिको हकमा पनि लागू हुन्छ। कतिपय अवस्थामा विद्यालयमा उपस्थिति कम भएका घटना सुन्दै आएका छौं ।

नेपालमा विद्यालय, कलेजको स्तर आशातित सुधार हुन नसक्नुमा प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध पानीको उपलब्धतासँग गाँसिएको पाइन्छ । अतः विद्यालयवा समूहगत काम गर्ने स्थानहरुमा स्वच्छ पानी र सरसफाइको वातावरण निर्माण गर्नु आवश्यक छ । पानीलाई स्वाद र रङविहीन हुन्छ भनिन्छ तर विभिन्न भौगर्भिक क्षेत्र हँुदै बहने पानीमा उक्त क्षेत्रका प्राकृतिक रसायन र लवणहरुको कारण पानीको स्वाद निर्धारण भएको हुन्छ । कुन मुल, झरना वा मुहानको पानी मिठो भन्ने चर्चा सुनिन्छ। कतिपय अवस्थामा माटो, तामा, काठको घैलामा संग्रह गरेको पानीमा मिठो स्वाद थपिन्छ। पानीको स्वाद बढ्दा त्यसको सेवन बढ्ने हुन्छ ।

अतः घर, विद्यालय, कार्यालय वा समूहगत कार्यस्थलमा (सुरक्षित) स्वाद थपेर वा पानीको वितरण प्रक्रियालाई आकर्षक बनाएर पनि यसको सेवनलाई बढाउन र जनस्वास्थ्य प्र्रबर्धन गर्न सकिन्छ ।
मुत्रासयको संक्रमण, महिलाको पाठेघर झर्ने, पिसाब चुहिने जस्ता समस्या नेपाल लगायत अन्य देशमा पनि देखिन्छ । यस्तो समस्याका कारण मानिसले अत्यधिक शारीरिक पीडा, मानसिक यातनादेखि (उपचारमा) आर्थिक व्ययभार परिरहेको हुन्छ । हालका समयमा मुत्रासयको स्वास्थ्यको सम्बन्ध पानीको सन्तुलित मात्राको सेवनसँग जोडिएका अध्ययनहरु प्रकाशित भएका छन् ।

सबै राष्ट्रका लागि यस्तो समस्याको (आउनै नदिन) स्थायी र सुलभ समाधानको लागि दैनिक उचित मात्रामा पानी सेवनलाई परिवार, समुदाय र स्वास्थ्य संस्थाहरुमा प्रोत्साहन गर्नुपर्छ ।
हालका दिनमा विश्वव्यापी रुपमा मिर्गौलाका रोगीहरु निकै बढेको पाउँछौं । पानी र मिर्गौलाको स्वास्थको सम्बन्धका सन्दर्भमा धेरै अध्ययनहरु प्रकाशित छन् । शरीरमा (लामो समय) पानीको कमी भएमा मिर्गौलालाई धेरै नकारात्मक असर पर्न थाल्छ । पानीको मात्रा कम हुँदा शरीरमा कोर्टिसोल जस्ता स्ट्रेस हर्मोन बढी उत्पादन हुन्छ ।

त्यसका अलावा पाचन रसायन (¥याल), आँशु जस्ता प्रतिजैविक प्रोटिन कम उत्पादन हुने गर्छ । यस्ता हर्मोन वा प्रोटिनको सम्बन्ध शरीरको प्रतिरक्षात्मक प्रणालीसँग सम्बन्धित हुन्छ ।
त्यसका अलावा पानीको उचित मात्रा कायम हुन नसक्दा मुटु रोग लागेको तथ्यहरु प्रकाशित भएका छन् । इटलीको ट्रियास्टे विश्वविद्यालयको अध्ययनमा शरीरमा पानीको मात्रा कम हुँदा मुटुमा गम्भीर आघात पुग्ने र स्ट्रोक समेत हुनसक्ने तथ्य प्रकाशित भएका छन् । त्यस्तै अमेरिकाको टफ्स विश्वविद्यालयले गरेको अध्ययनमा वृद्धहरुको मुटुलाई बचाइराख्न पानीको ठूलो भूमिका पाइएको थियो ।

यस सम्बन्धमा पर्याप्त अध्ययन भएका छैनन तर पनि जनस्वास्थ्यको प्रबर्धन गर्न सस्तो र सुरक्षित उपाय हाम्रा सामु छन् भने त्यसको अनुसरण गर्न राज्य, समुदाय र परिवारले ढिला गर्नुहुन्न ।

एउटा मिर्गौला रोगीको उपचार वा मुटु रोगीको उपचारमा लाग्ने प्रत्यक्ष वा अप्रत्यक्ष खर्चको तुलनामा स्वच्छ र सफा पिउने पानीको उपलब्धताको लागि लगानी नगन्य हुन्छ । पानीको मात्रा कमी भएको अवस्थामा शरीरले केही सूक्ष्म संकेत दिइरहेको हुन्छ । जस्तो प्यास लाग्नु, थकान महसुस हुनु, (टाउको दुख्नु) आदि ।

उक्त संकेतलाई बुझेर आवश्यक सावधानी अपनाउनु पर्छ। शरीरमा पानीको मात्रा एक प्रतिशतमात्र कमीले पनि प्यास लाग्ने गर्छ । यस्तो अवस्थामा तुरुन्तै पानी उपलब्ध हुन सकेन भने शरीरमा अन्य लक्ष्यणहरु थपिँदै जान्छन् ।
पानीको मात्रा पर्याप्त नभएमा पिसाबको रङ पहेलो हुन्छ ।

पिसाबको रङ कुनै खाना वा औषधिको प्रभावले पनि बदलिन सक्छ तर यसैलाई मात्र आधार मान्न भने सकिँदैन । यस बाहेक प्रत्यक्ष सेवन गरेको पानी र पिसाब, पसिना आदि माध्यमबाट शरीरबाट निस्कने पानीको हिसाब गरेर सावधानीका उपायहरु अपनाउन सकिन्छ । पानी सेवन गर्ने विधिका सम्बन्धमा धेरै अध्ययनहरु प्रकाशित भएका छन् ।

एकै पटक धेरै मात्रामा पानी पिउनुभन्दा थोरैथोरै तर मात्रा अड्कलेर पानी पिउनु उचित हुन्छ । यसो गर्दा पिएको पानीलाई शरीरले आफ्नो सन्तुलन कायम पर्याप्त हुनेगरी कायम गरी राख्छ । अतः पानी पिउने गिलास वा कपमा अट्ने पानीको मात्रा र त्यसलाई सेवन गर्ने समय निर्धारण गर्न सक्दा राम्रो हुन्छ ।

खाना खानुभन्दा करिब आधा घण्टाअघि एक गिलास (करिब ३०० मिलिलिटर) पानी पिउने र खाना पनि रसिलो बनाएर खाने गर्नुपर्छ । खाना खाएको करिब आधा घण्टापछि पुनः एक गिलास पानी पिउनु राम्रो हुन्छ । बिहानको खाली पेटमा पानी पिउनु लाभदायक हुन्छ भने सुत्नुअघि पनि केही पानी पिउनु राम्रो हुन्छ । कतिपय रोग वा स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको परामर्श अनुसार पानीको पिउने मात्रा र समय तय गर्नुपर्छ। कोभिड–१९ को महामारीको अवस्थामा पनि तातोपानीको सेवन (र, बारम्बार कुल्ला वा पानीको बाफ लिँदा) निकै आराम हुन्छ ।
शरीरमा पानीको आवश्यकता पूर्ति गर्न सादा पानीको सेवन उत्तम हुन्छ । इसका अलावा ताजा फलफूलको रस, दूध–दही–मही, जडिबुटीयुक्त पेय पदार्थ आदि विकल्पको रुपमा प्रचलनमा रहेका छन् ।

तर विभिन्न नाममा बजारीकरण भइरहेका औद्योगिक पेय पदार्थ जस्तैः सोडा–चिनीयुक्त पेय, शक्तिबर्धक पेय, बियर आदिलाई पानीको विकल्पको रुपमा सेवन गर्नु कदापि हितकर हुँदैन । यस्ता औद्योगिक पेय पदार्थले शरीरको पानी सञ्चय गर्ने क्षमतालाई घटाइदिन्छन् र अहितकर रसायन वा पदार्थहरुप्रति निर्भर बनाउँदै लैजान्छन् ।

उच्च परिश्रम गर्ने व्यक्ति तथा खेलाडीको लागि लक्षित गरी तयार पारिएका पेय पदार्थहरुमा चिनी, नुन, पोषण र (सूक्ष्म) खनिजहरु मिसाइएको हुन्छ, यस्तो पेयहरु कम शारीरिक परिश्रम गर्ने व्यक्तिहरुका लागि फाइदाभन्दा बढी प्रत्युत्पादक हुन सक्छन् । हालको समयमा घातक रुपमा विस्तार भएको औद्योगिक पेय पदार्थहरुको उपभोगलाई नियन्त्रणमा लिनु आवश्यक छ । राज्यले यस्ता उत्पादनलाई हतोत्साहित गर्ने नीति ल्याउनुपर्छ भने समुदाय वा परिवारले पनि नियन्त्रण गर्दै लैजानुपर्छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *