दाङमा चार महिनामा सवारी दुर्घटनामा २६ जनाको मृत्यु

गणतन्त्र समाचारदाता
तुलसीपुर २६ मंसिर । दाङमा बितेको चार महिनाको अवधिमा १ सय भन्दा बढि सवारी साधन दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङकले देखाएको छ । चालु आर्थिक वर्षको साउन देखि कार्तिक मसान्त सम्मको तथ्याङक अनुसार जिल्लाभर १ सय ७ वटा सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी निरिक्षक थमन जी.सीले जानकारी दिएका छन् ।उनका अनुसार दुर्घटना हुनेमा ट्रक ÷ट्याङकर ५ वटा ,बस ५,टेक्टर २,जिप,कार १०,टेम्पो ९ र ६९ ओटा मोटरसाईकल रहेका छन् ।

त्यस्तैगरी अन्य साधनमा साईकील ५ वटा र ठेला गरी जम्मा १ सय ७ वटा साधनहरु दुर्घटना भएका छन् । चालु आर्थिक वर्षको चार महिनाको अवधीमा विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २६ जनाले अकालमै ज्यान गुमाएा छन् । यसरी ज्यान गुमाउनेमा २० जना पुरुष , ३ महिला र ३ बालक रहेको ट्राफिक प्रहरी प्रमुख जिसीले जानकारी दिएका छन् ।

जसमा साउनमा १० पुरुष र १ बालक गरी ११ जना , भदौमा १ महिला र १ बालक गरी दुई जना, असोजमा ३ जना पुरुष र कार्तिकमा ८ पुरुष, १ महिला र १ बालक गरी १० जना गरी २६ जनाको ज्यान गएको छ । उनका अनुसार सोहि दुर्घटनामा परि १ सय ४ जना गम्भिर घाईते भएका थिए । ती मध्ये ७३ जना पुरुष,२१ महिला,३ बालक र ७ बालिका रहेका छन् ।

यस्तैगरी सामान्य घाईते हुनेमा २२ पुरुष,६ महिला,५ बालक र १ बालिका गरि ३४ जना रहेका छन् । जिल्ला ट्राफिक प्रहरीका अनुसार सबैभन्दा धेरै सवारी साधन दुर्घटना हुने क्षेत्र अमेलिया देखि भालुबाङ रहेको छ । त्यसपछि लमही देखि तुलसीपुर सडक खण्ड पनि दुर्घटनाको जोखिम क्षेत्रको सुचीमा रहेको छ ।

अहिले दैनिक २ देखि ३ सवारी साधनहरु दुर्घटना हुने गरेका छन् । यसरी जिल्लामा बढ्लो सवारी दुर्घटनालाई न्युनीकरण गर्नका लागी जिल्लाभर विभिन्न समयमा ट्राफिक सचेतना अभियान सन्चालन भईरहेको भएता पनि सोचे अनुसार दुर्घटनामा कमी आउन नसकेको ट्राफिक प्रहरी प्रमुख जिसीको भनाई छ ।

बेलाबेलामा सवारी चेक जाँच गर्नुको साथै ट्राफिक सचेतना सन्चालन गरे पनि जिल्लामा सवारी दुर्घटना रोकिएको छैन । प्रहरीको प्रतिवेदन अनुसार धेरै जसो सवारी दुर्घटना हुनुको कारण तिव्र गतिमा सवारी चलाउनु नै भएको उल्लेख गरिएको छ ।सवारी दुर्घटना हुनुको थुप्रै विविध कारणहरु भएता पनि धेरै जसो दुर्घटना हुनु तिव्र गतिमा सवारी चलाउनु रहेको छ ।

यस्तैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउनु, ओभरलोड ,चालकको लापरवाही, सडकबाटो जिर्ण हुनु, सवारी साधनको यान्त्रिकीकरण ठिक नहुनु लगाएतका कारणले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको अध्ययन प्रतिवेदनले देखाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *