प्रशव फिस्टुला रोग सम्बन्धी बृहत् छलफल

यमकला भुसाल
तुलसीपुर, ३० मंसिर । प्रशव फिस्टुला रोग सम्बन्धी १ दिने अन्तक्रिर्या कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । मंगलवार जनस्वास्थ्य सरोकार ट्रस्ट (फेक्ट नेपाल) काठमाडौँको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रमा महिलाहरुमा देखिने गरेको फिस्टुला रोग बारे महिला स्वास्थ्य स्वयंसेविकालाई जानकारी दिइएको छ ।

लामो समय सम्म प्रशव ब्यथा लाग्दा शिशुको टाउकोले आमाको योनीमार्ग र पिसाव थैली वा मलाशयलाई लगातार धेरै समयसम्म थिच्दा त्यसमा प्वल पर्न गई पिसाव चुहिने समस्याको उपचार निशुल्क हुने (सिबिआरएचसिसि) फेक्ट नेपालका निर्देशक डा. तारा शाक्यले बताउनुभयो । फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो,उहाँले भन्नुभयो,–महिलामा फिस्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने गर्दछ ।

उहाँले सानो उमेरमा गर्भवती हुँदा र लामो प्रसव व्यथा लाग्दा शिशुको टाउकाको दबाबले पिसाब थैलीमा वा मलाशयमा प्वाल पर्ने र सन्तान जन्माइसकेपछि सुत्केरीलाई लगातार पिसाब बगिरहने समस्या देखा पर्ने बताउनुभयो ।

उहाँका अनुसार मलाशयमा परेको दबाबले गर्दा कहिलेकहीँ दिसा पनि चुहिने हुनसक्छ भने लगातार दिसा र पिसाब दुवै चुहिँदा महिलालाई शारीरिक र मानसिकरूपमा हुने कष्ट सगंसगै घर परिवारबाट पनि अपहेलित हुने अवस्था सिर्जना हुने गर्दछ । प्रशब फिस्टुला गर्भवती हुँदा कम्तीमा ४ पटक नियमित गर्भजाँच, प्रसुति सेवाको लागि दक्ष स्वास्थ्यकर्मीद्धारा प्रसुति गराउन सके यस रोग लाग्न बाट बच्न सकिने शाक्यले बताउनुभयो ।

कार्यक्रममा फेक्ट नेपाल काठमाडौँका डा. बसन्त महर्जनले प्रशव फिस्टुला भनेको के हो ? यो रोग लागेपछि आई पर्ने समस्याहरु, लक्षणहरु, प्रशव फिस्टुलाको अबस्था र रोकथामका उपायहरुको बारेमा जानकारी गराउनुभएको थियो । अझै पनि अधिकांश महिलाहरु रोग लुकाएर बस्ने गरेको भन्दै उहाँले यो रोगको नेपाल सरकारले निशुल्क उपचार गराउदै आएको र यसको उपचार शल्यक्रियाबाट मात्रै गर्न सकिने बताउनुभयो ।
यसैबिच विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार १ हजार जना महिला प्रशव हुदाँ ३ जना महिला यो समस्याबाट ग्रसित हुने गरेका छन । त्यस्तै हरेक वर्ष २ सय देखि ४ सय जना महिलामा यो समस्या देखापर्ने गरेको अनुमान गरिएको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *