निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आह्वान

गणतन्त्र समाचारदाता
काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् ।

‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार छ’ उनले भने, ‘राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत हो । तसर्थ कुन कुरामा नअल्मलिई आम निर्वाचनको तयारीमा जुट्न आहृवान गर्दछु ।’

प्रचण्ड र माधव नेपालको चर्को आलोचना
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी नेताहरुको चर्को आलोचना गरे । केही नेताहरु पद, प्रतिष्ठा र पद शोपानमा केन्द्रित भएको र पार्टीले आफ्नो कुण्ठाको बन्धक बनाएको उनले बताए । सरकार गठन भएको एक वर्षमै अस्थिरताको सन्देश दिन खोजेको भन्दै उनले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने, ‘कुनै नेताले मुलुक बाहिर गएर त कुनै नेताले देश डुब्न लाग्या भन्दै माझी गुहार्नु थाल्नुभयो ।’

सरकारलाई राम्रोसँग काम गर्न नदिएको, संवैधानिक अंगहरुमा पदपूर्ति गर्न रोकेको र विपक्षी दललाई समेत उछिनेर नकारात्मक कुरा मात्र गर्न उद्दत भएको उनको आरोप छ । ‘पछिल्लो समय सरकार कस्तो घेराबन्दीको शिकार भयो भन्ने तपाईहरु अनविज्ञ नै हुनुहुन्न’ टेलिभिजन सम्बोधनका क्रममा उनले भने ।

आफूले नयाँ चुनावबाट प्रधानमन्त्री र महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव राख्दा आफूमाथि संगीन आरोप लगाएर आरोप पत्र पेश भएको बताए । त्यो दिनबाट पार्टी विभाजनतर्फ अप्रत्यक्ष योजना बनाएर आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी नेताहरुले गरेको ओलीको आरोप छ ।

अस्थिरताको षड्यन्त्रमा लागे
सरकारले नेपालको नयाँ नक्सा प्रकाशन गर्नुका साथै सर्वसम्मतिका आधारमा संविधान संशोधन गरेको र समस्या समाधानका लागि भारतसँग वार्ताको तयारी भइरहेको उनले बताए ।

चीनसँग पारवाहन यातायात प्रोटेकलमा हस्ताक्षर भएको भन्दै उनले भने, ‘यसलाई सुदृढ गर्न सबैले सहयोग गर्नु पर्ने बेलामा सरकारलाई असहयोग र असफल पार्न भइरहेका यी गतिविधिका पछाडि गम्भीर षडयन्त्र लुकेको स्पष्ट छैन र ?’
चार वर्ष अगाडि नाकाबन्दीका साहसका साथ सामना गर्दै त्यसलाई अन्त्य गरे वापत, नेपालको पारवहन सुविधा विस्तार गरेर फेरि कहिल्यै नाकाबन्दी नहुने कुराको सुनिश्चित गरेबापत आफ्नो नेतृत्वको सरकारलाई यसैगरी षडयन्त्रपूर्ण ढंगले अपदस्थ गरिएको उनको दाबी छ ।

‘परिस्थिति र समयसन्दर्भ फरक भए पनि पात्रहरु उनै हुनुहुन्थ्यो । के यसले हाम्रा कतिपय नेताहरु नेपाललाई अनन्त अस्थिरतामा फसाउने योजनामा सहभागी भएको स्पष्ट रुपमै देखिनु हुन्न र ?’ प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा भनेका छन् ।

पार्टीलाई एकतावद्ध रुपमा अगाडि बढाउने, नेतृत्व हस्तान्तरणको विधि र प्रणाली बसाउने र पार्टी, सरकार र संसदलाई जनताको हितमा केन्द्रीत गर्ने आफ्नो प्रयासमा निरन्तर बाधा भएपछि आफू संसद विघटनको निर्णयमा पुगेको बताए । उनले भने, ‘प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन मेरो रुचिको विषय थिएन, तर मुलुकलाई अकर्मण्य अवस्थामा राखिराख्नु उचित हुँदैनथ्यो ।’

बक्स
नेकपाका ११४ सांसदको भेलाको निश्कर्ष ः प्रतिनिधिसभाको नियमित काम अघि बढाउनुपर्छ
गणतन्त्र समाचारदाता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ ।
सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

‘प्रतिनिधिसभाको नियमित कार्य अघि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ । सांसदहरुको भेलाले बुधबार नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *