दाङमा हात्तिपाइले रोगको संक्रमणदर अझै उस्तै

दीपक जी.एम.
दाङ, ९ पुस । दाङमा हात्तिपाइले रोगको संक्रमणदरमा कमि आउन सकेको छैन् । बिगत १० वर्षदेखि निरन्तररुपमा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान संचालन भएपनि संक्रमणदर कमि हुन नसकेको देखिएको हो ।

स्वास्थ्य कार्यालय दाङका अनुसार पछिल्लो पटक गरिएको नमुना संकलनमा हात्तिपाइले रोगको संक्रमणदर ६ प्रतिशतभन्दा माथि देखिएको छ । जिल्लाका ८ ठाउँमा २ हजार ५ सय ४२ जनामा गरिएको नमुना परिक्षणमा ६ दशमलव २२ प्रतिशत अर्थात १५८ जनामा रोगको संक्रमण देखिएको हो ।

नमुना परिक्षण गरिएका ठाउँमध्ये गढवा सबैभन्दा बढी जोखिममा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गढवामा ३३० जनामा गरिएको परिक्षणमा ६२ जनामा संक्रमण देखिएको छ । जुन कुल परिक्षणको १८ दशमलव ७९ प्रतिशत हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा ३ सय ३३ जनाको नमुना संकलन गरिएकोमा १२ जनामा संक्रमण देखिएको छ ।

घोराही–१६ बाहुन डाँडामा ३०९ जनामा गरिएको परिक्षणमा ५ जना, घोराही–२ को रामपुरमा ३११ जनामा गरिएको परिक्षणमा १८ जना, तुलसीपुर–१० को टरिगाउँमा ३०८ र तुलसीपुर–१९ को हाडिमेमा ३२२ जनामा गरिएको परिक्षणमा ८÷८ जना हात्तिपाइले रोगका संक्रमित फेला परेका छन् ।

त्यसैगरी राप्ती गाउँपालिकाको सिसहनियामा ३२२ जनामा गरिएको परिक्षणमा २९ जना र लमही–६ मा ३०७ जनामा गरिएको परिक्षणमा १६ जना संक्रमित फेला परेका छन् ।

संक्रमणदरको प्रतिशत २ भन्दा भएमा हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउनु नपर्ने मापदण्ड भएपनि दाङमा संक्रमणदर अझै बढी नै देखिएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि निरन्तर १० वर्षदेखि खुवाउने अभियान संचालन भएपनि सबै मानिसहरुले औषधि सेवन नगर्दा संक्रमणदर कम हुन नसकेको उहाँले बताउनुभयो ।

सन् २०२० मा संक्रमणदर २ प्रतिशत भन्दा कम बनाउन नेपाल सरकारको लक्ष्य रहेको थियो तर जिल्लामा अझै पनि संक्रमणदर कम हुन सकेको छैन् । दाङमा पनि संक्रमणदरमा कमि नआएका कारण ११ औँ पटकमा पनि औषधि खुवाउनुपर्ने अवस्था आएको फोकल पर्सन चन्दले जानकारी दिनुभयो ।
हात्तिपाइले रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो रोग लागेको ६ देखि १० बर्षपछि मात्रै शरीरको बाहिरी भागमा देखापर्ने भएकाले रोग लाग्नु अघि नै औषधी सेवन गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *