जीवनका बारेमा हाम्रो दृष्टिकोण

प्रेम रावत
मानिसको दृष्टिकोण के छ भने, उसले हेर्दा केही चलायमान देख्छ र केही अस्थिर देख्छ, अनि उसलाई आफू गतिशील छु भन्ने लाग्दैन । उसले देख्छ– अरू मानिसहरू चलायमान छन्, अन्य चीज बदलिरहेका छन् । म परिवर्तन भइरहेको छैन । उदाहरणलाई लिने हो भने, मानौँ तपाईं रेलमा झ्यालको छेउमा बस्नुभएको छ । अनि, तपाईं झ्यालबाहिरको परिवेशलाई नियालिरहनुभएको छ । जब रेल चल्न शुरु हुन्छ तब तपाईंले बाहिरका सबै वस्तुहरू पनि चलिरहेको देख्नुहुन्छ । रुख आइरहेको छ, गइरहेको छ । गाडीहरू आइरहेका छन्, गइरहेका छन् ।
जीवजन्तु आइरहेका अनि गइरहेका छन् । कतै जङ्गल छ, कतै पुल छ त कतै नदी छ । सबै आइरहेका अनि गइरहेका देखिन्छन् तर तपाईं बसिरहनुभएको छ । तब तपाईंलाई आफू हिँडिरहेको छु भन्ने नै लाग्दैन तर सबै कुरा हिँडिरहेको भान हुन्छ । यद्यपि यथार्थमा जुन रुख आइरहेको अनि गइरहेको छ, त्यो कतै गइरहेको छैन । त्यो त जहाँको त्यहीँ नै छ । तपाईं आइरहनुभएको छ अनि गइरहनुभएको छ ।
तपाईंको दृष्टिकोणले के भन्छ भने, तपाईं परिवर्तन हुनुभएको छैन तर वास्तवमा तपाईं नै बदलिइरहनुभएको छ । तथापि, चीजबीजहरू जस्ताको त्यस्तै हुन्छन् । रुख होलान्, पहाड होला, जुन हजारौँ वर्षसम्म रहन सक्छन् । सबै थोक बदलिरहेको छ तर तपाईं नै सबैभन्दा बढी परिवर्तनशील हुनुहुन्छ । यो तपाईंको जीवन हो । तपाईंको परिवारसँग तपाईंको सम्बन्ध छ । कोही तपाईंको छोरा होला, कोही तपाईंको काका हुनुहोला । कोही केही होला त कोही कुनै नाताको होला । यो सम्बन्धको डोरो पनि तपाईं–हामीले नै बनाएका हौँ । हामी यिनै सम्बन्धलाई लिएर बिहानदेखि बेलुकासम्म जिइरहेका हुन्छौँ । तपाईंको चिन्ताको स्रोत के छ भने, ‘यिनीहरूले मलाई हेरेर के भन्लान्, के सोच्लान् ?’
कतिपय मानिस ठूला–ठूला कुराका पछि दगुर्छन् । अघिल्लो जन्ममा के होला ! स्वर्ग कस्तो छ ! नर्क कस्तो छ तर एकदमै थोरै मात्रै मानिसहरू छन्, जसले अहिले के भइरहेको छ भन्ने कुरामा ध्यान दिन्छन् । म जीवित छु, यो कसरी सम्भव भयो ! उनीहरूको इच्छा त भोलि के हुन्छ भनेर जान्न पाइयोस् भन्ने हुन्छ । यसका लागि निकै प्रबन्ध मिलाउँछन् । ठूला–ठूला योजना तर्जुमा गर्छन् अनि योजनालाई पूरा गर्नका लागि कटिबद्ध भएर मिहिनेत पनि गर्छन् । जब यो कोरोना भाइरस आयो नि ! यसका बारेमा चाहिँ कस्तो योजना थियो त ? सारा संसारभरि पैmलिएर यसले त तहल्कै मच्चाइरहेको छ तर यसका लागि कुनै योजना नै थिएन । यसर्थ हामी त हामीले बनाएको योजना पूरा होओस् भनेर एकदम धेरै मिहिनेत गरिरहेका हुन्छौँ । तथापि, यदि यो श्वासको आवागमन नै बन्द भइदियो भने त के कुरा बाँकी रहन्छ र ?
मानिस त आफ्ना सपना अर्थात् कल्पनामा हराइरहेको छ तर वास्तविकता के हो भन्ने कुरालाई उसले पहिचान गर्न सकिरहेको छैन । यथार्थ के हो भने, तपाईं जीवित हुनुहुन्छ । भोलि के हुनेछ भन्ने कुरा यथार्थ होइन । को तपाईंको भाइ हो, को तपाईंकी बहिनी हुन् ? यो पनि वास्तविक होइन । वास्तविकता त तपाईंभित्र श्वास आइरहेको छ अनि गइरहेको छ, त्यो कुरा हो । वास्तवमा यो के हो भनेर यसलाई चिन्नुहोस्, यसलाई बुझ्नुहोस् । किनभने, हरेक मानिसभित्र आपूmले आपूmलाई चिन्न चाहने तिर्खा छ । ऊ स्वयंलाई चिन्न चाहन्छ ।
स–साना बालबच्चाले शुरु–शुरुमा हिँड्न सक्दैनन् । उनीहरूले मानिसलाई पनि चिन्न सकिरहेका हुँदैनन् । बिस्तारै–बिस्तारै उनीहरूले सबैलाई चिन्न थाल्छन् । बिस्तारै–बिस्तारै उनीहरूले भोक के हो, प्यास के हो, सुत्नु भनेको के हो, उठ्नु भनेको के हो भन्ने कुरालाई महसुस गर्न थाल्छन् । बिस्तारै–बिस्तारै त्यो मानिसभित्र एउटा तिर्खा जाग्छ– ‘म आफूले आफूलाई चिन्न सकूँ ।’
बिस्तारै–बिस्तारै उसले ‘म को हुँ’ भनेर खोज्न थाल्छ । कुनचाहिँ गीत, कुन कथा भएको किताब, कुन रंग मलाई मन पर्छ ! कुनचाहिँ खेलौना मलाई चाहिन्छ इत्यादि । बाल्यावस्थामा उसलाई यो संसार पनि छ भन्ने कुराको ज्ञान थिएन । यदि उसमा कुनै संसार थियो भने पनि त्यो आमा र उसका बीचको थियो । अनि उसका चारैतिर उसको संसार थियो । त्यसपछि मानिसले अब आफ्नो संसार निर्माण गर्न थाल्छ । त्यसका बीचमा ऊ स्वयम् सामेल हुन्छ । यद्यपि, सबैभन्दा ठूलो कुरा उसले ‘म को हुँ’ भनेर जान्न चाहन्छ । वस्तुतः यो संसारमा आफूले आफूलाई चिन्नका लागि कुनै पनि साधन छैन ।
बाहिरको ज्ञानलाई प्राप्त गर्नका लागि निकै धेरै स्रोत–साधन छन् । आफूले आफूलाई चिन्नका लागि भने कुनै साधन छैन । कुनै योजना नै छैन । कुनै विद्यालय छैन । अनि, कसरी मानिसले आफूले आफूलाई चिन्न सक्छ ? कसरी उसले यी सारा कुरालाई बुझ्न सक्छ ! सबैभन्दा पहिला उसले के बुझ्नुपर्छ भने, मभित्र एउटा तिर्खा छ । त्यो तिर्खा आफूले आफैँलाई चिन्ने बारेमा हो । जुन प्यास मभित्र छ, जुन स्वर्ग मभित्र छ, त्यसलाई म जान्न चाहन्छु । मभित्र भएको नर्कबाट म बच्न चाहन्छु । सबैभन्दा ठूलो नर्क मानिसभित्रै छ । सबैभन्दा ठूलो स्वर्ग मानिसभित्रै छ । एउटा चीजबाट जोगिनुपर्छ भने अर्को चीजलाई स्वीकार गर्नु आवश्यक हुन्छ । यी दुईवटा चीजको अनुभव नभईकन मानिसले ‘म को हुँ’ भनेर कसरी बुझ्न सक्ला त ! उसको प्रकृति के हो ! मानिसलाई त म सधैँ जीवित रहन्छु भन्ने लाग्छ तर यो सम्भव छैन । यथार्थ त के हो भने, रेल गुडिरहेको छ । उसलाई भान हुन्छ– अन्य सबै चीज हिँडिरहेको छ, ऊ हिँडिरहेको छैन । तर, यथार्थ यस्तो हुँदैन । ऊ नै चलायमान छ, किनभने ऊ त्यसमा बसेको छ । ती सबै चीजहरू हिँडेका होइनन् । मानिसले यो दृष्टिकोणलाई बझ्नु अति आवश्यक हुन्छ ।
यो शरीर प्राप्त भएको छ । यो श्वास आउनु र जानु नै ती सृष्टिकर्ताको कृपा हो । यसकारणले मेरो अस्तित्व छ । यसकारण म आफ्नो जीवनमा शान्ति प्राप्त गर्न सक्छु । म आफ्नो जीवनमा ती परम आनन्दको अनुभव गर्न सक्छु । मानिसले जे–जे गरिरहेको छ, त्यो आफ्नो सुख–शान्तिका लागि गरिरहेको छ । ऊभित्र जुन सुख–शान्तिको चाहना छ, जुन इच्छा छ, त्यो कहाँबाट आयो ? त्यो इच्छालाई कसले उत्पन्न गरायो ? यो कुरा हामीले आफ्नो जिन्दगीमा सिकेका हौँ कि प्राकृतिकरूपमा पहिलेदेखि नै छ । कुनै कुराहरू स्वाभाविक हुन्छन् अनि कुनै कुरालाई सिक्नुपर्छ । कतिपय कुरा सिक्नका लागि हामीले विद्यालय, विश्वविद्यालय, ठूला–ठूला शिक्षण संस्थाहरूमा जानुपर्ने हुन्छ । त्यहाँ सिकेपश्चात् हाम्रा इच्छा, कामना, आकाङ्क्षाहरू उत्पन्न हुन्छन् । कैयौँ ठूला–ठूला विज्ञापन अनि पोस्टरहरू देख्छौँ, हामीलाई साथीले केही बताउँछ, हामीलाई मित्रहरुले केही बताउँछन्, अनि हामी सिक्छौँ, हाम्रा इच्छाहरू उत्पन्न हुन्छन् । तर, केही यस्ता इच्छाहरू हुन्छन् जसलाई हामीले सिक्नुपर्दैन, ती स्वाभाविक हुन्छन् । जस्तो कि भोक लाग्नु स्वाभाविक कुरा हो । यसका लागि हामीले कतै गएर सिक्नुपर्दैन । खानाको आवश्यकता परेपछि शरीरले हामीलाई बताउँछ– ‘खाना खाऊ !’ सृष्टिकर्ताले पहिला नै यस्तो प्रबन्ध मिलाएका छन् । किनकि, उनलाई थाहा थियो– हुनसक्छ मानिस मायामा यति फस्न सक्छ त्यति बेला उसले आफ्नै शरीरलाई समेत ख्याल गर्दैन । त्यसकारण मानिसमा भोक जगाइयो । भोक लागेपछि खाने इच्छा उत्पन्न हुन्छ अनि मानिसले खानाको खोजी गर्दछ । यो प्राकृतिक कुरा हो । यसलाई सिक्नुपर्दैन । तिर्खा लाग्छ अनि मानिसले पानी पिउँछ । के वास्तविक सुख–शान्तिको चाहना नैसर्गिक हो या सिकिएको हो ? यो स्वाभाविक तिर्खा हो । यो भित्रको तिर्खा हो । बाहिरी समस्याको समाधान बाहिर नै प्राप्त हुन्छ । त्यस्तै गरेर भित्रको चाहना, हृदयको प्यास, वास्तविक सुख–शान्तिलाई पाउने तिर्खाको समाधान पनि तपाईंले आफैँभित्र पाउनुहुनेछ, बाहिर होइन ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *