कपुरकोटबाट तुलसीपुर जोड्ने बैकल्पीक मोटरबाटो निर्माण

गणतन्त्र समाचारदाता
तुलसीपुर, १७ पुस । दाङ तुलसीपुर–३ सातबाससम्म जोड्न सल्यानको कपुरकोट गाउँपालिकाले मोटरबाटो निर्माण गरेको छ । मोटरबाटो निर्माण भएसंगै लामिडाँडा, पाखापानी, गाँडापानी, धनवाङ लगाएतका क्षेत्रका किसानहरुलाई उत्पादित कृषीजन्य वस्तु बजार तथा आफ्नो घर सम्म लैजान सहज भएको छ ।

कपुरकोट–४ गाँडापानी निवासी गोविन्द विकले धैरेनी क्षेत्रमा रहेको आफ्नो खेत सम्म गाउँपालिकाले मोटरबाटो पुर्याइ दिएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

‘यती छिट्टै यहाँ मोटरबाटो आइपुग्ला भन्ने सोँचेका थिएनौँ, तर गाउँपालिकाले बाटो ल्याइदियो–उहाँले भन्नुभयो ।सातबाससम्म मोटरबाटो जोडेपछि दाङको तुलसीपुर जान पनि सहज हुने उहाँले बताउनुभयो । यस्तै कपुरकोट ३ धैरेनी निवासी ८९ वर्षिय केवल बोहोराले आफ्नो बस्ती सम्म मोटरबाटो आउला भन्ने कल्पना समेत नगरेको भन्दै बुढेसकालमा घर नजिकै बाटो आएकोमा खुसी ब्यक्त गर्नुभयो ।

कपुरकोट गाउँपालिकाको ७ लाख रुपैयाँको लगानीमा मोटरबाटो निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हुकुम बुढाथोकीले बताउनुभयो ।
दाङको सिमाना सम्म जोड्न अब २ सय मिटरमात्रै बाँकी रहेको उहाँले बताउनुभयो । सुख्खायामको समयमा पनि तरकारी तथा फलफुल राम्रो फल्ने धैरेनी क्षेत्रका किसानलाई मोटरबाटोको् पहुँचमा पुगेपछी धेरै सम्भावनाहरु खुलेर गएको निर्माण उपभोक्ता समितीका कोषाध्यक्ष सुसिला बुढाथोकीले बताउनुभयो ।

गाउँपालिकाले कपुरकोट ४ को किमुचौर हुँदै लामिडाँडाबाट पनि सातबासको नजिकै मोटरबाटो पुर्याएको छ । गाउँपालिकाले लामिडाँडाबाट सातबाससम्म सडक निर्माणका लागि यस वर्ष मात्रै १० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

मोटरबाटो अनुगमनको क्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले अव मोटरबाटो संगै क्रमिक रुपमा विद्युत विस्तार, सिंचाइको लागि कुलोको ब्यवस्थापन पनि गरिने बताउनुभयो ।
अध्यक्ष सेनले कपुरकोट ३ पाखापानीमा निर्माणाधीन अवस्थामा रहेका गाउँघर क्लिनिक र खानेपानी टंकीको पनि अवलोकन गर्नुभयो । गाउँपालिकाको ४ लाख रुपैयाँ अनुदानमा गाउँघर क्लिनिक र ३ लाख रुपैयाँ अनुदान सहयोगमा टंकी निर्माण हुन लागेको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *