राष्ट्रिय परिचयपत्रका लागि दाङमा २५ सयले गरे विवरण दर्ता

गणतन्त्र समाचारदाता
दाङ, २३ पुस । राष्ट्रिय परिचयपत्रका लागि दाङमा पाँच महिनाको अवधिमा करिब २ हजार पाँच सयले विवरण दर्ता गराएका छन् । चालु आर्थिक वर्षको साउन १८ देखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको छ । साउन १८ देखि पुस २० गतेसम्मको अध्यावधिक विवरण अनुसार जिल्लामा २ हजार ४ सय ७५ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गराएका हुन् ।

करिब पाँच महिनाको अवधिमा मंसिर र पुसमा विवरण दर्ता गराउनेको संख्या बढी देखिएको जिल्ला प्रशासन कार्यालय दाङका कम्प्युटर अपरेटर दिपेन्द्र पाण्डेले बताउनुभयो । तथ्यांक अनुसार साउन महिनामा १३४ जनाको विवरण संकलन भएको छ । त्यसैगरी भदौमा १३९ जना, असोजमा ४१२ जना, कार्तिकमा ३५३ जना, मंसिरमा ८७३ र पुसमा ५६४ जनाको विवरण संकलन गरिएको छ ।

विवरण संकलन शुरु भएको साउन १८ देखि पुस २० गतेसम्मको तथ्यांक अनुसार जिल्लामा १ हजार ४ सय ९८ पुरुषको विवरण संकलन गरिएको छ भने ९ सय ७७ जना महिलाको विवरण संकलन भएको छ ।
महिला भन्दा पुरुष बढी वैदेशिक रोजगारीमा जाने भएका कारण पासपोर्ट बनाउँदा परिचयपत्रका लागि विवरण अनिवार्य दर्ता गराउनुपर्ने भएकाले पनि विवरण दर्ता गराउनेमा पुरुष बढी देखिएको कम्प्युटर अपरेटर पाण्डेले बताउनुभयो ।

परिचयपत्रको महत्व गाउँ–गाउँसम्म पुग्न नसकेकोले पनि उल्लेख्यरुपमा वृद्धि हुन नसकेको पाण्डेले बताउनुभयो । जिल्लामा अहिलेसम्म दश पालिकामध्ये सात पालिकाबाट व्यक्तिगत विवरण दर्ता गराउनेको संख्या शुन्य रहेको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाबाटमात्रै राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता भएको उहाँले बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *