घोराहीमा एक दम्पतिको रोदन ः ‘आर्थिक अभावमा रोग र भोकको सामाना बाध्य छौँ’

दिपक जी.एम.
दाङ,२६पुस ।घोराही उपमहानगरपालिका वडा नम्बर १८ मुसलमान डाँडाका एक दम्पति आर्थिक अभावका कारण उपचार गराउन समस्यामा परेको छ । ४६ वर्षका काले बिक र ४३ वर्षका मनु बिक आर्थिक समस्याका कारण रोगलाई लुकाउँदै घरमै बस्न बाध्य छन् । रकम अभावका कारण उपचार गर्न नपाएका उनीहरु दुवै जनालाई अहिले खान बस्नसमेत समस्या भएको छ ।

श्रीमान काले बिक जण्डिस रोगबाट ग्रसित हुनुका साथै फोक्सोमा पनि फोका–फोक रोगबाट समस्यामा रहनुभएको छ भने श्रीमती मनुलाई फोक्सोमा पानी जमेको कारण उपचारका लागि आर्थिक अभाव देखिएको छ ।
श्रीमानको रोगको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भारतमा गएपनि आर्थिक अभावले त्यसै फर्किन बाध्य भएको काले बिकले बताउनुभयो । ‘बुढी पहिलैदेखि बिरामी छ, उसैको उपचार गरौँला भन्ने समयमा म आफै पनि बिरामी भएँ, म आफै बिरामी परेपछि अहिले कमाउने मान्छे नै छैन्, अब उपचार पनि के पैसाले गराउने हो र बाबु’ उहाँले भन्नुभयो–‘पैसा नभएपछि दुवै जना रोग लुकाएर घरमै बसेका छौँ ।’
स्थानीय सरकारले रोगको उपचारका लागि सिफारिसमात्रै दिएको अरु कुनै सहयोग नगरेको उहाँले गुनासो गर्नुभयो । ‘वडा नम्बर १८ ले रोगको उपचारका लागि सिफारिस गरेको छ तर सिफारिस पत्रले अस्पतालमा काम गर्दैन्, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्रले काम नगरेपछि बाहिर पनि आर्थिक समस्याकै कारण उपचार गर्न गएका छैनौँ’ उहाँले भन्नुभयो–‘ म १०÷१५ दिनदेखि घरमै सुतिरहेको छु, श्रीमती झन् पहिलै देखि बिरामी छन् ।’
घरमा तीन जनाको परिवार छ । छोरा बुहारी दुवै जना रोगले थला परेपछि दैनिकी गर्जो टार्न समेत समस्या परेको आमा खेती बिकले बताउनुभयो ।‘ अहिले त साँझ बिहान पनि के खाम भन्ने समस्या भएको छ, उपचार त के पैसाले गर्ने होर, उहाँले गहभरी आँशु ल्याउँदै भन्नुभयो–‘उपचार पनि दाङमा हुँदैन् रे, बाहिर जानेपनि पैसा छैन् ।’
काले बिक रोजगारीको शिलशिलामा भारतमा रहनुभएको थियो । एक महिना अघि भारतमै बिरामी भएर थलापरेपछि घर फर्किनुभयो । अहिले आर्थिक अभावका गाउँलेहरुले सहयोग उठाएर साँझ बिहानको छाक टार्न बाध्य भएको काले बिकले बताउनुभयो । ‘गाउँले दाजुभाइले सहयोग गरिरहनुभएको छ, यो नभएको भए त हामी रोगले भन्दा पनि भोकले मर्ने थियौँ’ उहाँले भन्नुभयो–‘यस्तो समस्या कसैलाई नि नपरोस, घर बनाएको कर्जा नै तिर्न पाएको छैनौँ ।’
उपचारका लागि अपिल
आर्थिक समस्यामा रहेका विक परिवारलाई आर्थिक सहयोगका लागि सबैमा अपिल गरेको छ । ‘हामी रोग र भोकसंगै लडिरहेका छौँ, कतैबाट सहयोग भए गरिदिनुहुन अनुरोध गर्दछौँ’ काले विकले राजमार्ग अनलाईनसंग भन्नुभयो–‘गाउँले दाजुभाईको सहयोगले बाँचिरहेका छौँ, साँझबिहानको छाक टार्न नै समस्यामा छौँ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *