माघी पर्वलाई लक्षित गर्दै तुलसीपुरमा बजार अनुगमन अखाद्य वस्तु बिक्री गर्नेलाई कारबाही गरिने

यमकला भुसाल
तुलसीपुर, २८ पुस  । माघी पर्वलाई लक्षित गर्दै तुलसीपुरमा बजार अनुगमन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले स्वास्थ्यसगं प्रत्यक्ष जोडिएको दैनिक उपभोग्य वस्तुको गुणस्तर,नापतौल एवं कालाबजारी गर्ने माथी निगरानी एवं नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाएको हो । सोमवार तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा पुगेको टोलीले तुलसीपुर बजारका खाद्यन्न पसलहरुमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा तुलसीपुरको एक खाद्य पसलबाट म्याद नाघेको साढे १० केजी मासको दाल जफत गरिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १२ वटा पसलमा अनुगमन गरिएकोमा ४ वटा पसल दर्ता नभएको पाइएको छ ।

त्यस्तै केही पसलबाट म्याद गुज्रेका चक्लेट,धुलो खुसार्नी,तितौरा लगाएतका खाद्य सामग्री फेला परेको शर्माले जानकारी दिनुभयो । उहाँले जफत गरिएका सामाग्रीहरु नष्ट गरिने पनि बताउनुभयो ।

अनुगमनको क्रममा मूल्यसूचि नटाँसेको, नविकरण नगरेको,बोर्ड नराखेको,किराना पसलमा खाद्यवस्तु र अखाद्यवस्तु अलग–अलग नराखेको व्यवसायीहरुलाई सुधार गर्न र दर्ता नविकरण नगरेकोलाई ३ दिन भित्र प्रक्रियामा आउन सुझाव दिएको बताउनुभयो ।

चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तु बेच्ने लगायतका समस्या देखिने गरेकाले माघीलाई लक्षित गरेर अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाइएको प्रमुख शर्माले जानकारी दिनुभयो । अनुगमनका क्रममा गलत काम गरेको पाइएमा कडा कारबाही गरिने बताइएको छ ।
बजार अनुगमनमा उपभोक्ता हित संरक्षण शाखासहित उपभोक्ता हित संरक्षण मञ्च नेपाल, स्थानीय प्रशासन, प्रहरी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *