दाङमा व्यवसायीक सम्भावनाको खोजी आर्थिक समृद्धिका लागि उत्पादनमा जोड

पाण्डव शर्मा
घोराही, ६ माघ । दाङका व्यवसायीहरुले यहाँको व्यवसायीक सम्भावनाको खोजि गर्न थालेका छन् ।
समृद्ध मुलुक निर्माणका लागि उत्पादनमुखी व्यवसाय गर्नुपर्नेमा व्यवसायीहरुको जोड रहेको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन दाङ जिल्ला उद्योग वाणिज्य अधिवेशन मार्फत नयाँ नेतृत्व आएपछि यहाँका व्यवसायीक क्षेत्रमा नयाँ सम्भावनाको खोजि हुन थालेको छ । निर्वतमान नेतृत्वले अघि बढाएका विभिन्न परियोजनाहरुलाई पूरा गर्दै थप नयाँ सम्भावना खोज्ने नयाँ नेतृत्वले प्रतिबद्धता व्यक्त गरेको छ ।

सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिले आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष टंकसिंह बुढाथोकीले निर्वतमान नेतृत्वले यहाँको व्यवसायीक क्षेत्रको विकासमा उल्लेख्य भूभिका निर्वाह गरेको उल्लेख गर्दै आँफूहरुले थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सभगृह निर्माणको कामलाई पूर्णता दिनु र औद्योगिक क्षेत्र निर्माणको कामलाई पूर्णता दिनु आँफूहरुको पहिलो कार्यभार भएको बताउनुभयो ।

बुढाथोकीले अघिल्लो कार्यसमितिमा आँफू उपाध्यक्ष रहेको स्मरण गर्दै त्यति बेला देखि नै आँफूहरुले उत्पादनमुखी व्यवसायमा जोड दिएको बताउनुभयो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नारायण भुसालले व्यवसायीका मुद्दाहरुलाई नयाँ नेतृत्वले जोडतोडका साथ उथाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले उवासंघ जिल्लाको एउटा व्यवसायीक तथा सामाजिक संस्था भएकाले यहाँका समग्र पक्षमा वकालत र खबरदारी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विगतमा दाङलाई प्रदेशको राजधानी बनाउने उवासंघको तर्फबाट आँफूहरुले निकै पहल गरेको स्मरण गर्दै समृद्ध जिल्ला र व्यवस्थित राजधानीका लागि नयाँ कदमहरु चाल्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले दाङमा अहिले पनि रातको समयमा बजार पूर्ण रुपमा बन्द रहेको उल्लेख गर्दै यसले यहाँको पर्यटन प्रद्र्धनमा असर गरेको बताउनुभयो ।

उहाँले आर्थिक विकासका लागि कृषि र पर्यटन क्षेत्रको विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पशु सेवा विज्ञ केन्द्र दाङका डा. वेलबहादुर केसीले दाङलाई कुखुरा उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष टिका बुढाथोकीले उवासंघमा बस्तुगत समितिहरुलाई उचित स्थान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

समितिका निर्वतनमा पूर्वअध्यक्ष पदमबहादुर बस्नेतले विगत देखिनै उवासंघसँग आँफूहरुले उचित समन्वय गरेर काम गरिरहेको जानकारी दिनुभयो ।
समितिका सचिव चन्दन भण्डारीले आँफूहरुले आयातमुखी बजारलाई निर्यातमुखी बनाउने गरी काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा उवासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा तथा अविर लगाएर स्वागत सम्मान गरिएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *