नियमविपरित चल्ने २९ हजार बढी सवारी कारबाहीमा

दाङ, १२ माघ । ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेको संख्या न्युनिकरण हुन सकेको छैन् । दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले विभिन्न समयमा सचेतनामूलक कार्यक्रम संचालन गरेपनि नियमविपरित सवारी चलाउनेको चालकको संख्या कमि हुन नसकेको देखिएको छ । प्रहरीले दाङमा छ महिनाको अवधिमा नियमविपरित चल्ने २९ हजार बढी सवारी चालकलाई कार्बाही गरेको छ ।

प्रहरीले विभिन्न समयमा गरेको सवारी जाँचको क्रममा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सिटबेल्ट नबाँध्ने, मोवाइलमा कुराकानी गरेर सवारी हाँक्ने, ओभरलोड (सिट क्षमताभन्दा बढी) बोक्ने, छतमा यात्रु राख्ने, निजि सवारीमा यात्रु बोक्ने, तिब्र गतिमा सवारी चलाउने, लेन अनुशासनविपरि चलाउने सवारी चालकलाई कार्बाही गरेको छ ।

प्रहरीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २९ हजार ४ सय ५० सवारी साधनलाई नियन्त्रणमा लिएर कार्बाही गरेको छ । चालुवर्षको साउनदेखि पुस मसान्तसम्म नियमविपरित चल्ने सवारीबाट करिब २ करोड राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिए । ‘जिल्लाका विभिन्न स्थानमा छड्के जाँचको क्रममा नियमविपरित चल्ने २९ हजार बढी साना,ठुला सवारी साधानबाट १ करोड ७९ लाख ६७ हजार राजश्व संकलन गरेका छौँ’ उनले भने–‘नियमविपरित सवारी संचालन हुँदा दुर्घटना बढेको छ, यस्तो अवस्थामा ट्राफिक नियम उल्लंघन गरेर चल्ने सवारी साधनलाई कार्बाही गर्ने गरेका छौँ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार ६ महिनाको अवधिमा सबैभन्दा बढी मंसिर महिनामा धेरै सवारी साधन कार्बाहीमा परेका छन् । मंसिर महिनामा मात्रै सात हजार सवारी साधन कार्बाहीमा परेका छन् भने ४१ लाख १५ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक प्रमुख जिसीले जानकारी दिए । पुस महिना ६ हजार ४५० सवारी साधन कार्बाहीमा ३७ लाख ९० हजार राजश्व संकलन भएको छ ।

त्यसैगरी कार्तिक महिनामा ४ हजार ९ सय सवारी साधन कार्बाहीमा ३० लाख १४ हजार, असोजमा ४ हजार ८ सय सवारी कार्बाहीमा २९ लाख ४१ हजार राजश्व संकल भएको छ । त्यसैगरी साउन महिनामा ३ हजार ५ सय ५० सवारी कार्बाहीमा २२ लाख ५९ हजार ५ सय र भदौ महिनामा २ हजार ७५० सवारी साधन कार्बाहीमा १७ लाख ४७ हजार राजश्व संकलन भएको प्रमुख जिसीले बताए ।

मापसे गरी सवारी चलाउने ४ हजार ५५ सवारी कार्बाहीमा परेका छन् । त्यसैगरी सिटबेल्ट नबाँधेर सवारी चलाउने १२६, मोबाइलमा कुराकानी गर्दै सवारी चलाउने २१२ जना कार्बाहीमा परेको प्रमुख जिसीले जानकारी दिए ।

त्यसैगरी ओभरलोड (क्षमताभन्दा बढी) यात्रु तथा सामान बोक्ने ५ हजार २०२ सवारी कार्बाहीमा परेका छन् । ‘जिल्लामा क्षमताभन्दा यात्रु तथा सवारी बोक्ने सवारी साधनमा अझ बढी देखिएको छ’ प्रमुख जिसीले भने–‘क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम पनि बढेको छ ।’

सवारी कार्बाही गरेर राजश्व संकलन गर्ने भन्दा पनि नियमको पालना गराउने उद्देश्यका साथ विभिन्न समयमा ठाउँ–ठाउँमा छड्के अनुगमन गर्ने गरिएको उनले बताए । ‘नियम विपरित संचालनमा आउने सवारीको निगरानी बढाएका छौँ, तर पनि नियम विपरित सवारी चलाउने क्रम रोकिएको छैन्’ उनले भने–‘गतवर्षको तुलनामा पनि केहि झन् बढी कार्बाहीमा परेको देखिएको छ ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *