ओली सर्वसत्तावादका जन्मदाता प्रचण्ड माधन हुन्–महामन्त्री कोइराला

टीका बस्नेत दाङ फागुन ४ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली राजनीतिमा मौलाउँदै गएको ओली सर्वसत्तावादका जन्मदाता प्रचण्ड र माधव नेपाल नै भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले मंगलबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले भन्नुभयो, ‘ओलीको सर्वसत्तावादको बिरुद्धमा हामी संयुक्त जनआन्दोलनमा जाँदैनौं । आज प्रचण्ड माधव नेपालले प्रधानमन्त्री ओलीको सर्वसत्तावादका बिरुद्ध संयुक्त आन्दोलन गरौं भनिरहनुभएको छ । सर्वसत्तावादका जन्मदाता प्रचण्ड नेपालसँगै आन्दोलनमा सहकार्य हुँदैन ।’ विश्वबाट समाप्त भइसकेको कम्युनिष्ट शासनलाई स्थापित गर्नमा नेपाली कांग्रेसले इतिहासमै ठूलो कमजोरी गरेको भन्दै महामन्त्री कोइरलाले कम्युनिष्टलाई सरकारमा ल्याउनका लागि कुनै आन्दोलन नगर्ने बताउनुभयो । नेपाली कांग्रेस चुनावबाट भाग्न नसक्ने भन्दै महामन्त्री कोइरालाले चुनाव हुने अवस्था आएमा चुनावमा भाग लिने बताउनुभयो । ‘अहिले चुनाव हुने अवस्था नै छैन । प्रधानमन्त्री ओली चुनाव गराउन चाहेको छैनन् । उनले अलमल्याउने काम गरिरहेका छन् । अहिलेको आवश्यकता संसद पुनःस्थापना हो’, महामन्त्री कोइरालाले भन्नुभयो, ‘संसद बिगठनको मुद्दा अदालतमा छ । अदालतको निर्णय अनुसार हामी अगाडि बढ्छौं । ओलीले चालेको कदम असंवैधानिक हो भन्ने हाम्रो धारणा हो ।’धर्मको विषयमा जनमत संग्रह हुनुपर्ने भन्दै महामन्त्री कोइरालाले कांग्रेस सरकारका गएमा यो मुद्दालाई लिएर जनमत संग्रह गराउने बताउनुभयो । ‘धर्म निरपेक्ष र सापेक्ष नभई स्वतन्त्र हुन्छ । संविधानमा धर्मलाई निरपेक्ष भनेर उल्लेख गर्नु कमजोरी हो । यो विषयलाई जनतामाझ लिएर जानुपर्दछ’, महामन्त्री कोइरालाले भन्नुभयो, ‘कांग्रेसको सरकार भएमा हामी यो मुद्दालाई उठाउँछौं ।’नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, दिपक गिरीलगायतका नेताहरुको सहभागीता थियो । पत्रकार सम्मेलनको सहजीकरण युनियनका निवर्तमान सचिव देवेन्द्र बस्नेतले गर्नुभएको थियो ।
[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *