निर्मला बलात्कार तथा हत्याको गाँठो फुकाउँदै प्रहरी

बैतडी । बैतडीमा १७ वर्षीया किशोरी भागरथीको बलात्कार र हत्याको सफल अनुसन्धानपछि प्रहरीका लागि निर्मला पन्तको अनुसन्धान सफल बनाउनु पर्नेछ । करिब साढे दुइ वर्षमा २० भन्दा बढी दक्ष जनशक्ति परिचालन गरेको प्रहरी अब भने अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने योजनामा छ । आरोपीतलाई पुष्टि गर्ने प्रत्यक्षदर्शी र अनुसन्धानमा संलग्नहरुको राय नबाझियोस् भनेर विशेष सचेतता अपनाउनुपर्ने भएकाले आरोपीत सार्वजनिक गर्न समय लागेको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरीले कुनै अपराधको अनुसन्धानका लागि पूर्ण शक्ति प्रयोग गरेको छ भने त्यो निर्मला पन्त हत्या काण्ड नै हो । जति असफल अनुसन्धान गरे पनि कञ्चनपुरमा करिब साढे दुइ वर्षअघि भएको घटना प्रहरीका लागि गलपासो बनेर बसेको छ । घटनायता सीआइबी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका गरी अनुसन्धानमा २० जनाको अनुभवी जनशक्ति परिचालन भएको छ । तिनमा करिब ७ जना घटनाको सुरुदेखि नै संलग्न छन् । घटना भएको २५ दिनमै सार्वजनिक भएका दिलिपसिंह विष्टलाई डीएनए परीक्षण मेल नखाएको भन्दै छोडिएपछि अहिलेसम्म अनुसन्धानमा संलग्न अधिकृतहरु सबैको एउटै रायसहित आरोपीतसम्म पुग्ने योजनामा प्रहरी छ ।  सुरुमा अनुसन्धानमा संलग्न डीएसपी अंगुर जीसीसहितको टोलीले दिलीपलाई किटान गरे पनि अर्को अनुसन्धान टोली भने त्यसमा विश्वस्त हुन सकेन । पछिल्लो समय निर्मला पन्तको घटना भएको समयमा घटनास्थलबाटै हिँडेका ६ जनालाई नजिक राखेर अनुसन्धान अगाडि बढाएको छ । तर तीमध्ये घटना गराउने को हो भन्ने प्रमाणित गर्न सक्ने प्रत्यक्षदर्शी जरुरी देखिएको छ । घटना हुनुअघि र पछिका परिस्थितिलाई जोडेर आरोपीत प्रमाणित गर्नुपर्नेछ । त्यसका लागि प्रहरी मुख्यालयले अहिलेसम्म अनुसन्धानमा संलग्न सबै अधिकृतलाई एकै ठाउँमा राखेर दोषीसँग जोडिएका तथ्य भिडाएर हेरिरहेको छ ।

निर्मला पन्तको चिनजानकै र नजिककै व्यक्तिबाटै हत्या भएको र घटनास्थल पनि उखुबारी नै हो भन्नेमा अनुसन्धानमा संलग्न लगभग सबै एकमत छन् । दिउँसो २ देखि पौने ३ सम्ममा हत्या भएको देखिएको छ । त्यो समयमा करिब ६ जना व्यक्ति घटनास्थलबाटै हिँडेका छन् । जो १८ देखि २५ वर्ष उमेरभित्रका छन् ।  अब डीएनएबाट कसैलाई प्रमाणित गर्ने अवस्था नरहेको भनेर राष्ट्रिय मानव अधिकार आयोगले नै बताइसकेको छ । घटनास्थलमा कापी भिजेको छैन, चप्पल साइकलमै झुण्डिएको हुनु, १५ रुपैयाँको चटपटे बेचेको र त्यो खाने व्यक्ति नभेटिनु लगायतका तथ्य जोडेर प्रहरी अनुसन्धान गर्दै छ । अहिले शंकाको घेरामा रहेका अधिकांशमाथि ८० प्रतिशत यी सबै आधार मिले पनि अनुसन्धान अधिकृतहरुको राय नबाझियोस् भन्नेमा सचेतता अपनाउँदा ढिलाइ भएको प्रहरीको भनाइ छ । गलत अनुसन्धान गरेको भन्दै कार्वाहीमा परेका सबै अधिकृत बहाल भइसकेका छन् । समयमा अनुसन्धानले सही बाटो लिएकाले भागरथी हत्याको असफल अनुसन्धान गर्ने प्रहरीले यस पटक दाग मेटाउन सक्छ कि सक्दैन, हेर्न बाँकी नै छ । स्रोत कान्तिपु टिभी

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *