महिला हिंसाका मुद्दा प्राथमिकताका साथ सम्बोधन हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २४। प्रधानमन्त्री केपी शर्मा ओलीले महिला हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोनध गरिने बताउनुभएको छ। १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाउनुभएको छ ।उक्त नीतिअनुसार केन्द्र, प्रदेश र स्थानीय तहका विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रवाह भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको स्मरण गर्नुभएको छ ।

लैङ्गिक समानता र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानूनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरुप राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व उल्लेखनीयरुपमा वृद्धि भएको छ ।” सन्देशमा भनिएको छ, “शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका सूचकमा पनि सकारात्मक सुधार भएका छन् । नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट पनि यस क्षेत्रमा नेपाल सरकारले गरेको लगानी र थालेको प्रयासले राम्रो प्रतिफल दिएको मान्न सकिन्छ ।”

उहाँले अज्ञानता र कुरीतिको आड लिएर भएका खराब अभ्यासका कारण बोक्सी, छाउपडी, दाइजो, बालविवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै रहेकाले अपराधलाई निरुत्साह गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मकरुपमा जनचेतना जगाउनु आवश्यक भएकामा जोड दिनुभयो । विभिन्न प्रकार र स्वरुपका लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न सरकारले शून्य सहनशीलताको नीति लिई अपराधीलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्तिसमेतको कानूनी व्यवस्था गर्दै नैतिक शिक्षा र सचेतनाका कार्यक्रम निरन्तर गरिरहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरेको राष्ट्रपतिले स्मरण गर्नुभएको छ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ हामी यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको उल्लेख गर्नुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *