प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै

काठमाडौं, बैशाख २६। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज विश्वासको मत लिन लाग्नुभएको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा ओलीले विश्वासको मत लिन लाग्नुभएको हो । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो। प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जनामात्र सांसद छन्।एमालेकै नेपाल खनाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन्। सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ। तर एमालेकै नेपाल खनाल पक्षका कम्तीमा ३० सांसद ओलीको विपक्षमा छन भने ओली विरुद्ध लाग्ने निर्णय गरीसकेको जसपाको उपेन्द्र यादव पक्षमा १८ देखि २२ सांसद रहेको बताइएको छ।

महन्थ ठाकुरका पक्षमा १० देखि १४ जना सांसद रहेको बताइएको छ। यही अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत नपाउने प्रष्ट देखिन्छ। संसद कांग्रेसका ६२, माओवादी केन्द्रका ४९, राप्रपा, नेमकिपा र राष्टिय जनमोर्चाका एक एक जना सांसद छन। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका २–२ जना निलम्बित छन्। निलम्बित सांसदले मतदान गर्न पाउँदैनन्। नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ।

यसैबीच नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरूलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गर्नुभएको छ । एमाले माधव नेपाल समूहले भने पार्टी एकताका लागि सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ। आइतबार साँझ सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले सोमबार बिहान ९ बजेसम्मको समय दिएको योगेश भट्टराईले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *