२० रुपैयाँमा खाना खान पाएपछि कोरोना संक्रमित बिरामी र कुरुवालाई राहत

बाँके, जेठ ७। नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई २० रुपैयाँमै खाना उपलब्ध भएपछि राहत मिलेको छ ।

अस्पताल परिसरमै प्रतिछाक २० रुपैयाँमा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोइका नामबाट साँझ-बिहान दुवै छाक खाना खुवाउन सुरु गरेको छ ।

बिहानको छाकमात्रै २० रुपैयाँमा खाना खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल परिसरका होटल बन्द भएकाले अस्पतालमा आउने बिरामी तथा कुरुवाको समस्यालाई मध्यनजर गरेर साँझको पनि खाना खुवाउन सुरु गरिएको सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपैयाँ सहयोग गर्न थालेपछि श्री सुन्दर काण्ड मित्र मण्डल अञ्जनी माता रसोइले गएको कात्तिकदेखि भेरी अस्पतालमा बिरामी र कुरुवाका लागि लक्ष्य गरेर २० रुपैयाँमा बिहानको खाना खुवाउन सुरु गरेको थियोे । पछिल्लो समय कोभिड-१९ को सङ्क्रमण फेरि बढ्न थालेपछि बेलुकाको खानासमेत खुवाउन थालिएको होे ।

अञ्जनी माता रसोइको अनुरोधका आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय मासिक एक लाख रुपैयाँ उपलब्ध गराउन थालेको छ । उपमहानगरपालिकाले सहयोग बढाएको र अन्य सहयोगी मनहरूबाट पनि सहयोग उपलब्ध हुन थालेपछि रसोइमा यही मङ्गलवारदेखि बेलुकाको खानासमेत २० रुपैयाँमा उपलब्ध गराउन थालिएको छ । यसअघि बिहानको खाना २० रुपैयाँ र बेलुकाको खाना ८० रुपैयाँप्रति छाक रहेको थियो ।

कोभिड(१९ का बिरामीको उपचार केन्द्र बनेको भेरी अस्पतालमा पश्चिम नेपालका विभिन्न जिल्लाबाट दैनिक सयौँ व्यक्ति उपचारका लागि आउने गरेका छन् । अस्पतालमा उपचाररत बिरामी र कुरुवालाई लक्ष्य गरेर २० रुपैयाँमा खाना खुवाउन थालिएको मित्र मण्डलका व्यवस्थापक जितेन्द्रबहादुर सिंहले बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *