चुनावमा एमालेको ओली पक्षलाई देशभर हराउने विपक्षी गठबन्धनको भित्री योजना

काठमाडौं । सकभर प्रतिनिधि सभा पुनःस्थापना गराउने नभए चुनावमा जाने गरी ओलीविरोधी गठबन्धनले रणनीतिक तयारी गरिसकेका छन् । चुनाव मंसिरमा हुन कठिन भएको र अर्को वर्षको वैशाख या जेठमा हुने बुझाई गठबन्धनको रहेको छ ।

मंसिरमै भएपनि एमालेको केपी शर्मा ओली पक्षधरलाई देशभर हराउने गरी गठबन्धन भित्री तयारीमा रहेको बुझिएको छ । अहिलेको गठबन्धनलाई महागठबन्धन नाम दिएर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह, नेकपा एमालेको माधव नेपाल पक्षधर र राष्ट्रिय जनमोर्चासहित केही साना दल मिलेर जानेबारे सहमतिको खाका समेत तयार भएको विश्वस्त स्रोतले बताएको छ ।

चुनावमा प्रत्यक्षतर्फ १६५ सिटमा एकले अर्को पार्टीको उम्मेदवारलाई सहयोग गर्ने गरी कुरा मिलाउने सहमतिको नजिक गठबन्धन पुगेका छन् । नेपाली काँग्रेसले ५० देखि ६० प्रतिशतमा गठबन्धनका अन्य दलहरुको साथ पाउने गरी बाँकीमा अन्य दलहरुलाई सघाउने गरी खाका बनाइएको छ । देशभर एमालेको ओली पक्षलाई हराउने रणनीतिका साथ यो खाका बनाइएको बुझिएको छ ।

माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्षधर, जसपाको यादव समूहका अलावा साना दलसमेतलाई गठबन्धनमा राखेर चुनावी सहकार्यको खाका बनेको हो । माओवादी केन्द्र र एमालेको माधव नेपाल समूह मिलेर एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सम्भावना पनि रहेको बुझिएको छ । त्यस्तो अवस्थामा उक्त समूहले ४० प्रतिशतसम्म सिटमा साथ पाउने गरी तयारी भएको छ । एक्लै चुनाव लडेमा दुवैले २०-२० प्रतिशतसम्म सिट पाउने गरी खाका बनाइएको छ । उपेन्द्र यादव समूहका अलावा अन्य साना दलले १० प्रतिशत सिटमा गठबन्धनको साथ पाउने गरी बनाइएको छ ।

अहिलेको गठबन्धन चुनावी सहकार्यसम्म पनि रहेमा ओली नेतृत्वको एमालेलाई देशभरका केही स्थानबाहेक सबैमा हराउन सकिने सम्मको आँकलन समेत गरेका छन् । ओली समूहका हस्तीहरु नै चुनाव हार्ने अवस्था बन्नेगरी गठबन्धन बढ्न खोजेको छ ।

यसैगरी, माधव नेपाल समूह नयाँ दल खोल्नेमा पछि नहट्ने गरी बढेको छ । नयाँ दल दर्ता भइसकेको र त्यही नामबाट चुनाव लड्दा ओली नेतृत्वको एमालेभन्दा बढी सिट आउने आशाका साथ नेपाल उत्साही भएका हुन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *