राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही होस: आदिवासी जनजाति महासंघ

सुर्खेत, जेठ २३। नेपाल आदिवासी जनजाति महासंघले सुर्खेतमा आदिवासी राउटे समुदायका दुई युवतीहरूमाथि भएको यौन दुर्व्यवहारमा संलग्न व्यक्तिलाई तत्काल कडा कानुनी कारबाही गर्न माग गरेको छ। महासंघले आइतबार प्रेस वक्तव्य जारी गरी कारबाही गर्न सरकारसँग माग गरेको हो।

‘जुनसुकै हिंसा मानवअधिकारविरोधी कार्य हो नै अझ यौन हिंसा चरम मानव अपराध हो, पूर्वसुचूतित जानकारीसहितको मञ्जुरी बिना तस्विर तथा भिडियो खिच्ने, गलत नियतले राउटे युवतीलाई होटेलमा ल्याउने, मादक पदार्थ सेवन गराउने र यौन दुर्व्यवहार गर्नेजस्ता कार्यहरू घृणित मानवताविरोधी र अक्षम्य कार्य हुन्,’वक्तव्यमा भनिएको छ,‘ यस घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा संलग्न व्यक्तिहरू चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडाभन्दा कडा कारबाही अगाडि बढाउन सम्बन्धित राज्य सरकार र संयन्त्रहरू तथा सम्बन्धित सम्पूर्ण निकायहरूलाई महासंघ जोडदार आग्रह गर्दछ।’

विभिन्न बहानामा सत्ता र शक्तिको दुरूपयोग गर्दै अनुसन्धान कमजोर बनाउने, अभियुक्तहरूलाई उन्मुक्ति दिनेजस्ता कार्यहरू सम्बन्धित जिम्मेवार संयन्त्रहरूबाट नगर्न पनि महासंघको माग छ। महासंघले उप्रान्त यस्ता खालका भिडियो खिची सामाजिक सञ्जालहरुमा नहाल्न र खिचिएको भिडियोहरू हटाउन पनि माग गरेको छ।

राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक विनोद पुनलाई पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनैजनाले भिडियो बनाएको र उक्त भिडियोउनीहरुले सामाजिक सञ्जालमा अपलोड गरेका थिए।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *