इन्धनको मूल्य वृद्धिले उपभोक्ता दोहोरो मारमा

काठमाडौं, जेठ २३। पेट्रोलियम पदार्थको मूल्य बितेको एक वर्षमा १२ पटक बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दै गएका कारण आन्तरिक बजारमा पनि मूल्य बढेको नेपाल आयल निगमको दाबी छ । एक वर्षअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ४५ डलर प्रतिब्यारेल थियो । अहिले करिब ७० डलर पुगेको छ, जसका कारण आन्तरिक बजारमा मूल्य बढेको निगमको भनाइ गलत नभए तापनि पेट्रोलियम पदार्थमा सरकारले लगाएका करका दरहरू हेर्दा पेट्रोलियम पदार्थको परल मूल्यभन्दा बढी कर सरकारले उठाउने गरेको देखिन्छ । निगम पनि इन्धनमा विभिन्न शीर्षकमा लगाएको करका कारण नेपालमा इन्धनको मूल्य अकासिँदै गएकोमा सहमत छ ।

सरकारले गत जेठबाट प्रतिलिटर १० रुपैयाँका दरले थप पूर्वाधार कर लिने गरेको छ भने यसबाहेक ५ रुपैयाँ गत वर्षको बजेटले नै भन्सार महसुल पनि थपिदिएको छ । यसरी प्रतिलिटरमा १५ रुपैयाँ कर अर्थमन्त्री डा। युवराज खतिवडाको पालामा थपिएको हो । यो करको रकमको सदुपयोग भयो वा भएन एउटा कुरा हो, तर सरकार आफैंले अत्यावश्यक मानेको पेट्रोलियम पदार्थमा किन धमाधम कर बढाउँदै गइरहेको छ, यसको कुनै तर्क सरकार वा निगमसँग छैन । करमात्र होइन, उपभोक्ताबाट निगमले अनावश्यक शीर्षकमा इन्धनमा शुल्क पनि लिन्छ ।

 

यी शुल्कहरूको सरकारले सदुपयोग गरेको कुनै उदाहरण भने छैन । किनकि सरकारले इन्धनमा पूर्वाधार कर, वातावरण प्रदूषण शुल्क, सडक मर्मत दस्तुर, निगमको प्रशासनिक शुल्कजस्ता विभिन्न शीर्षकअन्तर्गत रकम संकलन गर्छ । यसरी विभिन्न शीर्षकमा लगाइएको कर तथा शुल्कका कारण उपभोक्ताले महँगोमा इन्धन किनिरहेका छन् । तर, सरकारले पूर्वाधार कर उठाएर पूर्वाधारमा लगानी गरेका भए नेपालका पूर्वाधारको बिजोग हुने थिएन ।

त्यस्तै, वातावरण प्रदूषण शुल्क कति वातावरण सुधारमा खर्च गरेको छ अनि सडक मर्मत दस्तुरले कति सडक मर्मत भएर सवारी साधन चलाउन कति सहज भएको छ । यी सबै नागरिकले भोगेकै कुरा हुन् । त्यसमाथि निगमको प्रशासनिक शुल्क पनि उपभोक्ताले तिरिरहेका छन् । वर्षभरि निगम घाटामा छ भनेर वर्षको अन्त्यमा नाफा देखाएर बोनस खाएको पनि ६ वर्ष भइसकेको छ । यसरी ६ वर्षदेखि निरन्तर नाफामा रहेको निगम चालू आर्थिक वर्षमा नोक्सानीमा गइसकेको दाबी गर्दै निगमले मूल्य बढाएको छ ।

त्यसैले यदि इन्धनमा लगाइएका विभिन्न कर तथा शुल्क घटाउने हो भने इन्धनको मूल्य घट्न सक्ने निगमको पनि भनाइ छ । साथै, विश्व बजारमा अमेरिकी अर्थतन्त्र सबल हुँदै गएका कारण डलरको मूल्य वृद्धि हुँदै छ । डलरको भाउ बढेसँगै फेरि इन्धनको मूल्य बढ्ने देखिन्छ । अर्थात् नेपाली बजारमा इन्धनको मूल्य निकट भविष्यमा घट्ने कुनै छाँट देखिँदैन । इन्धनको मूल्य लगातार बढ्नुको कारण यसले बजारमा मूल्यवृद्धिमा चाप बढ्छ, जसका कारण बजार भाउ बढ्छ । २०७७ असार महिनामा प्रतिलिटर १ सय ५ रुपैयाँ रहेको पेट्रोलको मूल्य अहिले बढेर १ सय २५ प्रतिलिटर पुग्दा तथा ९१ रुपैयाँ रहेको प्रतिलिटर डिजेलको मूल्य बढेर १ सय ८ रुपैयाँ पुग्दा बजारमा यसले पक्कै मूल्यवृद्धिमा चाप पार्छ नै ।

हाल कोरोना संक्रमण रोक्न सरकारले सार्वजनिक सवारी साधन बन्द गरेका कारण तत्काल यसको असर नदेखिए पनि सवारी साधनहरू चल्न थालेपछि यसको असर देखिन्छ नै । एकातिर इन्धनको भाउ बढ्ने अर्कातिर बजारभाउ पनि बढ्ने गरी उपभोक्तालाई दोहोरो घाटा हुने कार्यलाई एउटा सीमामा राख्न नै मूल्य स्थिरीकरण कोषको व्यवस्था गरिएको हो । तर, निगम उक्त कोषको रकमले घाटा व्यवस्थापन गर्न पनि चाहँदैन र लगातार मूल्य बढाउँदै गइरहेको छ, जसका कारण उपभोक्ता मूल्यवृद्धिको दोहोरो मारमा पर्ने निश्चित छ । तसर्थ, सरकारले तत्काल मूल्य स्थिरीकरण कोषको उपयोग गरी मूल्यलाई एउटा सीमामा राख्न आवश्यक छ । कारोबार दैनिकबाट।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *