घोराहीमा तीन वर्षमा ४१ किमि सडक कालोपत्र

पाण्डव शर्मा
दाङ  । घोराही उपमहानगरपालिकामा पछिल्लो तीन वर्षमा ४१ किलोमिटर सडक कालोपत्रे भएको छ ।

उपमहानगरपालिकाले सञ्चालन गरेको योजना अन्तर्गत ३४ किलोमिट र संघीय तथा प्रदेश सरकारबाट उपमहानगरमा आएको अनुदानबाट ७ किलोमिटर गरेर ४२ किलोमिटर सडक कालोपत्रे भएको इञ्जिनियर रामधन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा धेरै सडक कालोपत्रे भए पनि कोरोना भाइरसका कारण भएको लकडाउनका कारण अपेक्षितरुपमा योजनाहरु सम्पन्न हुन सकेका छैनन् ।

निर्माणाधिन र अहिलेको बजेटमा विनियोजन गरिएका सडकहरु गरेर चालु आर्थिक वर्षमा थप १८ किलोमिटर सडक कालोपत्रे भइसक्ने श्रेष्ठले जानकारी दिनुभयो । ‘यो तथ्यांकमा संघीय र प्रदेश सरकारले बनाएका सडकह छैनन्,’ उहाँले भन्नुभयो, ‘पछिल्लो तीन वर्षमा सडकको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएको छ ।’

उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले पूर्वाधार क्षेत्रको विकास विना अरु विकास सम्भव नभएकाले सडकको स्तरवृद्धि र कालोपत्रेमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो । उपमहानगरले आम उपभोक्ताको लागत सहभागिता र नगरस्तरीय बजेटबाट सडक कालोपत्रेको काम गरिरहेको छ ।

वडास्तरीय योजना तर्जुमामा समेत सडक कालोपत्रेको माग बढी आउने गरेको चौधरीले जानकारी दिनुभयो । ‘उपमहागरपालिकाको केन्द्र घोराही बजारबाट सबै वडा कार्यालय जोड्ने सडक कालोपत्रे भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘उपमहानगरको सबैभन्दा दुर्गम वडा मानिएको १९ नम्मरलाई पनि कालोपत्रेले छोइसकेको छ, अब केही समयभित्रै वडा कार्यालय सम्म नै कालोपत्रे भइसक्ने छ ।’

सडकको अवस्था र गुणस्तरको मापदण्ड अनुसार एक किलोमिटर सडक कालोपत्रे गर्न ५० लाख रुपैयाँ देखि डेढ करोडसम्म लाग्ने इञ्जिनियर श्रेष्ठले जानकारि दिनुभयो । ‘पहाडी क्षेत्रमा काम गर्न लागत स्वभाविक रुपमा बढी नै हुन्छ,’ उहाँले भन्नुभयो, ‘उपमहानगरले विभिन्न ठूला सडकहरु धमाधम कालोपत्रे गरिरहेको छ ।’

कृतिम जलाशयबाट ३५ सय विगाहमा सिचाई

घोराही उपमहानगरपालिकाले हालसम्म २५ ओटा जलाशय निर्माण गरेको छ । ती जलाशयमा २६ लाख घनमिटर पानि जम्मा भएको इञ्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । कृतिम जलाशयबाट त्यस क्षेत्रमा ३ हजार ५ सय विगाह क्षेत्रफलमा १२ महिना सिचाइँ भएको उपमहानगरपालिकाले जनाएको छ ।

त्यस क्षेत्रका ३५ सय घरधुरीहरु प्रत्यक्ष लाभान्वित भएका छन् । ‘कृतिम जलाशयबाट बहुउपयोगी फाइदा देखिएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘त्यहाँका किसानहरुले माछापालन गरेर प्रत्यक्ष आम्दानी गर्न सफल भएका छन् ।’ कृतिम जलाशयका कारण सुक्न थालेका त्यहाँका कुवाहरुमा समेत पानी रसाउन थालेको छ ।

कृतिम जलाशयलाई पर्यटकीय केन्द्र बनाउन उपमहानगरको योजना रहेको छ । आगामी तीजसम्म चेपे सोतामा डुंगा चलाइने मेयर चौधरीले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *