नेदरल्याण्ड्स युरोकपको अन्तिम १६ मा प्रवेश

४ असार, काठमाडौं । नेदरल्याण्ड्स युरोकप २०२० को अन्तिम १६ मा प्रवेश गर्ने तेस्रो टिम बनेको छ । समूह सी अन्तर्गत बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० ले हराउँदै लगातार दोस्रो जित हात पारेको डच टोली नकआउट राउण्डमा स्थान पक्का गरेको हो ।

घरेलु मैदान योहान क्रप एरेनामा भएको खेलमा नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए र डेन्जेल डमफ्राइसले गोल गरे ।

खेलको ११औं मिनेटमा डिपाएले पेनाल्टीमा पहिलो गोल गरेका थिए । अष्ट्रियाका कप्तान डेभिलअलावाले पेनाल्टी एरियामा डमफ्राइसलाई फाउल गरेपछि नेदरल्याण्ड्सले पाएको पेनाल्टीमा डिपाएले गोल गरे ।

दोस्रो हाफमा पनि नेदरल्याण्ड्सले एक गोल गर्‍यो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डोनयल मालेनको पासमा डमफ्राइजले ६७औं मिनेटमा गोल गरेका थिए ।

लगातार दोस्रो जितपछि नेदरल्यण्ड्सले समूह सी मा ६ अंक जोडेको छ र एक खेल अगावै नकआउटमा स्थान बनाएको छ । नेदरल्याण्ड्सले एक खेल खेल्न बाँकी भए पनि समूह सी को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

नेदरल्याण्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले पराजित गरेको थियो । नेदरल्याण्ड्स सन् २००८ पछि पहिलो पटक नकआउट चरणमा पुगेको हो । सन् १९८८ को च्याम्पियन नेदरल्याण्ड्स २००० र २००४ मा सेमिफाइनलसम्म पुगेको थियो ।

उता पहिलो खेलमा नर्थ मेसेडोनियालाई पराजित गरेको अष्ट्रियाको यो पहिलो हार हो । अब समूहको अन्तिम खेलमा नेदरल्याण्ड्सले नर्थ मेसेडोनिया र युक्रेनले अष्ट्रियासँग खेल्नेछ । युक्रेन र अष्ट्रियाबीचको विजेता अन्तिम १६ मा प्रवेश गर्नेछ । यदि खेल बराबरी भएमा गोलअन्तर हेरिनेछ ।६ समूहको शीर्ष दुई टोलीसँगै तेस्रो हुनेमध्ये उत्कृष्ट चार टिम पनि अन्तिम १६ मा प्रवेश गर्ने भएकोले समूहमा तेस्रो हुने टिमको पनि सम्भावना कायम रहनेछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *