डोटीमा पहिरोमा परेर दुई बालबालिकाको मुत्यु, जाजरकोटमा हावाहुरी र पानीका कारण ७ जना बेपत्ता

डोटी, असार ४। लगातार परिरहेको वर्षाका कारण डोटीमा पहिरोमा परेर दुई बालबालिकाको मुत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ का ७ बर्षीय बालक बिनोद भण्डारी र ११ बर्षीया बालिका जेनिषा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी प्रमुख दान बहादुर मल्लले बताउनुभयो । उनीहरुको दिपायल सिलगढी नगरपालिका-५ को चिसापानी भन्ने ठाउँ पहिरोमा पुरिएर मृत्यु भएको हो । बाख्रा चराउन गएका उनीहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए ।

नेपाल प्रहरी, स्थानियले पहिरो पन्छ्याउदा उनिहरुको शव मृत फेला परेको हो । बुधबार मात्रै जिल्लाको केआई सिंह गाउपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परी मृत्यु भएको थियो ।

 

यसैबीच भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी हुनसकेको छैन । मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका–८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय अझै सम्पर्कमा आएका छैनन् ।

हावाहुरी, पानीसहित आएको बहुकाले उडाएर बेपत्ता भएका उनीहरूको खोजीका लागि प्रहरी टोली र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाए पनि त्यहाँ पुग्न नसकेको प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताउनुभयो । सोही घटनामा परी बच्न सफल ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए ।

त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । बुधबार बिहान मात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो । यो समाचार तयार पर्दासम्म प्रहरी र स्थानीयवासी भैँसी भैँसी ओडारमा पुगेर लेक लागी बिरामी भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताउनुभयो । घटनास्थल पुग्न पाँच घण्टाभन्दा बढी लाग्ने स्थानीयवासीको भनाइ छ । बेपत्ताको उद्धारका लागि गृहमन्त्रालय, प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरिएको छ । उद्धार टोली बिरामी पर्नुका साथै पानी, हावाहुरीसहितको बहुकाले माथि जान नसकेको उहाँले बताउनुभयो । घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *