`यसपटक मेरो सिफारिसमा होइन, संवैधानिक प्रावधान अनुसार संसद भंग भएको हो´-प्रधानमन्त्री वली

११ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपल्ट आफ्नो सिफारिसमा संसद भंग भएपनि यस पटक भने आफ्नो सिफारिसमा संसद भंग नभएको जिकीर गरेका छन् ।

सरकार नियन्त्रित नेपाल टेलिभिजनसँगको एक अन्तरवार्तामा प्रधानमन्त्री ओलीले आफूले संविधानको धारा ७६(७) कार्यान्वयन मात्र गरेको बताएका छन् ।प्रधानमन्त्री ओलीले भनेका छन्– पहिलोपल्ट विघटनको प्रस्ताव गरेको थिएँ । प्रतिनिधि सभाको मिति तोक्न राष्ट्रपतिसमक्ष मन्त्रिपरिषदबाट सिफारिस गर्न लगेको थिएँ । त्यो मेरो सिफारिस थियो । यसपल्टको सिफारिस मेरो होइन । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त हुन नसकेपछि मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्री नियुक्त हुन नसकेपछि वा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने व्यवस्था कार्यान्वयन भएको हो ।

उनले अगाडि भनेका छन्– त्यहाँ ‘बट’–‘इफ’ छैन । प्रधानमन्त्री नियुक्त हुन सकेन, नसकेपछि ७६ (७) ले के भन्छ भने– प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नेछ र निर्वाचनका लागि नयाँ मिति तोक्नेछ । त्यसो भएर यसपल्ट मैले सिफारिस गरेको होइन, संविधानले सिफारिस गराएको हो ।

प्रधानमन्त्रीले सरकार निर्माणमा सफल भएन भने संविधानको प्रावधान अनुसार जतिसुकै बेला निर्वाचन हुन सक्ने व्यवस्था गरेको समेत दावी गरेका छन् ।

संसदबाट प्रधानमन्त्री छानिने प्रणाली रहिन्जेल दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बन्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो संवैधानिक व्यवस्थामा भरसक बहुमत आउन सम्भव नभएको बताएका छन् । उनले नेपाललाई अस्थिरतामा राख्ने प्रबन्ध पहिल्यै नै घुसाइएको दावी गरेका छन् ।

पछिल्लोपटक सरकार प्रतिकूल आएका सर्वाेच्चका फैसलालाई ओलीले सरकारलाई काम गर्न नदिने र असफल गर्ने खालको भएको टिप्पणी गरेका छन् । उनले यस अगाडि कामचलाउ सरकारले पटक–पटक मन्त्रिपरिषद विस्तार गरेको उल्लेख गरेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *