जनावर देखिन थालेपछि अवलोकन गर्नका लागि वनमा मचानसमेत निर्माण’.

शिवु खनाल
दाङ, ४ साउन
डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले जंगली जनावर र मानव बीचको द्वन्द्व न्यूनिकरणको लागि सामुदायिक वनमा आठवटा पानीको पोखरी निर्माण गरेको छ । देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । जंगलमा निर्माण गरिएको पोखरीले मानव र वन्यजन्तुबीचको द्वन्द्ध न्यूनिकरण हुने डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउनुभयो । वन जंगलको छेवैमा रहेका बस्तीमा पुगेर वन्यजन्तुले किन मानिस माथि आक्रमण गरिरहेको छ भन्ने विषयमा स्थलगत अनुगमन गर्दा पानीको मुख्य समस्या देखिएको प्रमुख सुेबदीले बताउनुभयो । वन्यजन्तुलाई चाहिने पानी वनजंगल छेउमा नभएपछि पानीकै लागि मानव बस्ती पस्दा दुर्घटना हुने गरेको पत्ता लागेपछि पोखरी निर्माण कार्यलाई प्राथामिकता दिइएको उहाँले बताउनुभयो ।
सामुदायिक वनमा पोखरी निर्माण गरिएपछि त्यस क्षेत्रमा यसवर्ष जंगलमा आगलागि भएको छैन, चराचुरुङ्गीले प्यास मेटाउन पाएका छन् भने हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाच्ने प्रजातिका जनावरको आहार व्यवस्थापनमा सहज भएको डिभिजन वन कार्यालय देउखुरी दाङ लमहीका प्रमुख सुबेदीले जानकारी दिनुभयो । पानीको अभावमा मानव र वन्यजन्तु द्वन्द्व बढेकाले न्यूनिकरणको लागि चालु आर्थिक वर्षमा पोखरी निर्माण गरिएको हो । कार्यालयले विनियोजन गरेको ३४ लाखको लागतमा देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा आठवटा पोखरी निर्माण गरिएको उनले जानकारी दिनुभयो ।
जंगलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गरी पानीले भरिएपछि वन्यजन्तुलाई पानीको अभाव नहुने र पानीका स्रोतहरु तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताउनुभयो । विगतमा सामुदायिक वन क्षेत्रमा रहेका तालतलैया संरक्षणको अभावमा पुरिएर सुकेपछि पानीको अभावमा जंगली जनावरले बासस्थान सारेका थिए, अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले भन्नुभयो,—। ‘पानीकै अभावमा जंगली जनावर देख्नु दुर्लभ हुन्थ्यो । सामुदायिक वन क्षेत्रमा पानीको व्यवस्था भएपछि हाल देखिन छाडेका जनावर देखिन थालेका छन् । सामुदायिक वनमा चितल, बदेल, निलगाई, मयुर र चितुवा सहजै देखिने गरेको छन् ।’
यता जनावर देखिन थालेपछि अवलोकन गर्नका लागि सामुदायिक वनमा एउटा मचानसमेत निर्माण गरिएको छ । २४ फिट उचाइमा एकतले मचानसमेत निर्माण गरिएको छ । मचान निर्माण गरिएपछि सामुदायिक वनमा रहेका जनावर र सामुदायिक वनको मनोरम दृश्य नियाल्न सकिने भएको छ । सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउनुभयो । डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले जंगलमा पोखरी निर्माण गर्न तथा जथाभावी जंगलका रुख ढालेर डोजरे विकास नगर्न देउखुरी क्षेत्रका सबै सामुदायिक वनलाई आग्रह गरेको छ । यता वन्यजन्तु अनुसन्धाकर्मी चिरञ्जिबि खनालले देउखुरीमा हुँडार, चितुवा, स्याल, काठे भालु, निर बिरालो, चरी बाघ लगायतका वन्यजन्तुहरु पाउने गरेको जानकारी दिनुभयो । त्यती मात्र नभइ चितल, जरायो, राते, चौका, बादेल जस्ता वन्यजन्तुका विभिन्न प्रजाती पनि देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वनमा पाइने जानकारी दिदैँ, तुलनात्मक रुपमा उत्तर भन्दा दक्षिण तफको वन घना र पानीको श्रोत धेरै भेटिने गरेको अनुसन्धाकर्मी खनालले बताउनुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *