बाघ संरक्षणसँगै मानवीय क्षतिको चुनौती

काठमाडौँ, साउन १४ । आज विश्व बाघ दिवस । बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ मनाइँदै छ तर बाघ संरक्षणसँगै नेपालमा बढेको मानवीय क्षति चुनौती बन्दै गएको छ । नेपालमा पछिल्ला वर्ष बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् । बाघ संरक्षण नेपालले उच्चतम सफलता हासिल गरे पनि द्वन्द्व भने समाधान हुन सकेको छैन ।

सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता जनाउनुभएको थियो । सन् २००९ को बाघको गणना गर्दा नेपालमा १२१ वटा बाघ थिए । सन् २०२२ मा त्यो सङ्ख्या बढाएर २५० बनाउने लक्ष्यअनुसार काम भइरहेको छ । फलस्वरूप सन् २०१८ मा भएको गणनामा नेपालमा २३५ बाघ भेटिएका छन् । संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहँदा सन् २०२२ सम्ममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने निश्चित भएको छ ।

यसरी एकातिर बाघको सङ्ख्या बढिरहँदा बाघ पाइने संरक्षित क्षेत्र वरिपरि बाघको आक्रमणबाट हरेक वर्ष स्थानीय बासिन्दा पीडित हुनेको सङ्ख्या पनि वृद्धि भइरहेको छ । गत वर्ष मात्र बर्दियामा राष्ट्रिय निकुञ्जकै एक जना कर्मचारीसहित १२ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ भने यही साउनमा फेरि बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ ।

चितवनमा गत वर्ष पाँच जना व्यक्तिको बाघको आक्रमणमा परी ज्यान गयो । धमाधम बाघले मान्छे मार्न थालेपछि समस्याग्रस्त बाघ डार्ट गरी राखिएको छ । यस्ता बाघ चितवनका खोरमा दुईवटा र बर्दियामा दुईवटा रहेका छन् । जङ्गलमा छाड्दा पुनः ठूलो क्षति हुन सक्ने सम्भावना बढेपछि बर्दियाबाट एउटा र चितवनबाट दुईवटा बाघ जावलाखेलको सदरचिडियाखानामा ल्याइएका छन् ।बर्दिया र चितवनमा भएको सबै घटनाको अध्ययन गर्दा मध्यवर्ती क्षेत्र तथा निकुञ्जको भित्री भागमा प्रवेश गरेका व्यक्तिमाथि बाघले आक्रमण गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो, “बाघ मान्छे खोज्दै बस्तितिर आउने होइन । बाघको विचरण क्षेत्रमा बिनासजगता र असावधानीपूर्वक प्रवेश गर्दा बाघले आक्रमण गर्ने गरेको छ । ” विश्व वन्यजन्तु कोषमा कार्यरत बाघ विज्ञ डा। कञ्चन थापा हरेक घटनाको विशेष अध्ययन गरेर व्यक्ति किन निकुञ्जभित्र वा जङ्गलभित्र पस्यो भन्ने कुराको पहिचान गरेर समाधानका लागि पहल लिनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “त्यो क्षेत्रमा बाघ छ, बाघले आक्रमण गर्न सक्छ भन्ने थाहा हुँदाहुँदै पनि हातमुख जोर्नका लागि उसले काठ, दाउरा, सागपातका लागि प्रवेश गरेको हो वा सचेतनाको कमीले प्रवेश गरेको हो भन्ने कुराको यकिन गरेर मात्र समस्या समाधानका लागि कार्यक्रम लागू गर्नुपर्छ । ”

जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल कार्यालयमा बाघ संरक्षण कार्यक्रमका प्रमुख डा। भगवानराज दाहालको भनाइ पनि बाघले आक्रमण गर्ने हिसाबले जोखिमपूर्ण क्षेत्रको पहिचान गरी त्यस क्षेत्रका बासिन्दाको जीविकोपार्जन, सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने रहेको छ । डा। दाहालले भन्नुभयो, “बाघले आक्रमण गरेपछि मार्छ भन्ने थाहा भएर पनि किन जङ्गल पसेर माछा मार्न, निउरो टिप्न निकुञ्जभित्र प्रवेश गर्छन् ?”

पछिल्ला दिनमा बर्दियामा धेरै जसो बाघ समस्याग्रस्त बाघका रूपमा देखिएका छन् । सन् २०१८ को बाघ गणनालाई हेर्दा बाघ पाइने सबै निकुञ्जका ९८ प्रतिशत भूभागमा बाघ विचरण गरेको देखिएको छ । अब बाघको सङ्ख्या बढाउने हो भने बाघको बासस्थान निकुञ्जभन्दा बाहिर रहेको वन क्षेत्रलाई पनि विकसित गर्नुपर्ने धारणा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख श्रेष्ठको छ ।

सरकारले बाघलगायत अरू वन्यजन्तुको आक्रमणमा परेर घाइते भएको तथा मृत्यु भएकालाई क्षतिपूर्ति रकम प्रदान गर्ने गरेको छ । बाघका विषयमा विद्यावारिधि गर्नुभएका डा। चिरञ्जीवी पोखरेलले भन्नुभयो, “बाघको आक्रमणबाट मृत्यु भएका घरपरिवारलाई केही सानो रकम दिएर मात्र पुग्दैन । पीडितका आश्रित परिवारलाई शिक्षा, सीप, रोजगारी तथा जीविकोपार्जनका लागि विशेष प्याकेज चाहिन्छ । त्यसका लागि दीर्घकालीन वित्तीय स्रोतको सुनिश्चित गरिनुपर्छ । ” गोरखपत्रमा खबर छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *