चीनले १६ लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा दिने

काठमाडौं, १५ साउन । नेपालका लागि चिनिया राजदूत होउ याङ्छीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्नुभएको छ । शुक्रवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गर्नुभयो। उहाँले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकाले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री शर्माले चिनिया सहयोगमा नेपालमा संचालित विभिन्न आयोजनाहरुको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्य सम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले चिनिया लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजनाहरु सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताउनुभयो ।
भेटको क्रममा चिनिया राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनिया नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गर्नुभयो । चिनिया जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरूको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभिड महामारी विरुद्धको लडाईँमा आफूहरु नेपालको साथमा रहँदै आएको बताउनुभयो ।
चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *