फरक क्षमता भएका विद्यार्थीका लागि बरदान बन्दै बालमन्दिर

पाण्डव शर्मा
घोराही, २६ साउन । घोराही बजारको मुख्य केन्द्रमा रहेको बालमन्दिर आधारभूत विद्यालय अहिले फरक क्षमता भएका (अपांगता भएका) बालबालिकाहरूका लागि वरदान सावित भएको छ ।
अहिले विद्यालयमा ३५ जना फरक क्षमता भएका विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । कक्षा पाँच सम्म कुल दुई विद्यार्थी रहेकोमा ३५ जना फरक क्षमता भएका विद्यार्थीहरू रहेको विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले विद्यालयमा बौद्धिक अपांगता भएका विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । आगामी दिनमा अन्य प्रकृतिका अपांगता भएका विद्यार्थीहरूलाई पनि अध्यापन गर्ने योजना गरेको छ ।
फरक क्षमता भएका विद्यार्थीहरूलाई स्रोत शिक्षक मार्फत एउटै कक्षामा राखेर अध्यापन गराउने काम भइरहेको छ । ‘फरक क्षमता भएका केही विद्यार्थीहरूलाई अन्य विद्यार्थीहरूको कक्षामा राखेर पनि अध्यापन गराइरहेका छौं,’ भण्डारीले भन्नुभयो, ‘अन्य विद्यार्थीहरूलाई भन्दा फरक क्षमता भएका विद्यार्थीहरूलाई अध्यापन गराउने तरिका केही फरक पर्छ ।’
प्रदेशस्तरीय नमुना विशेष शिक्षा आवासीय विद्यालय अन्तर्गत फरक क्षमता भएका विद्यार्थीहरूलाई आवासीय रुपमा राख्ने व्यवस्था गरिएको छ । उनीहरूलाई खान बस्न, पढ्न र कापी कलम पूर्ण रुपमा निशुल्क रहेको भण्डारीले जानकारी दिनुभयो । ‘घोराही आसपासमा घर भएका फरक भएका विद्यार्थीहरू भने आफ्नै घरबाट अध्ययनका लागि आउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘ती विद्यार्थीहरूलाई मासिक पाँच सय रुपैयाँ भत्ता प्रदान गरिरहेका छौं ।’
अहिले विद्यालयमा प्रकृतिको अनुरूप आवश्यकताको आधारमा पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालयको भवन निर्माण भइरहेको छ । अहिले दुई करोड लागतमा जमिन तलामा ९ कोठाको पक्की भवन बनिरहेको छ । सो भवन आगामी पुससम्म निर्माण सम्पन्न गरेर निर्माण कम्पनीले आफूहरूलाई हस्तान्तरण गरिसक्ने उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा गत आवमा बचत भएको २८ लाख र चालु आवमा थप विनियोजन भएको ५० लाख रुपैयाँ गरेर ७८ लाख लागतमा तला थप गरिने भण्डारीले जानकारी दिनुभयो । सो भवन पूर्ण रुपमा अपांग र बालमैत्री बन्ने छ । विद्यालयमा रोल्पा, रूकुम, सल्यान , प्यूठान, दाङ लगायतका जिल्लाबाट फरक क्षमता भएका विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरूको संख्या बढ्दो क्रममा रहेकाले स्रोत शिक्षक थप्नुपर्ने आवश्यकता देखिएको छ ।
वालमन्दिरलाई सरकारले समेत प्रदेशस्तरीय नमुना विशेष शिक्षा आवासीय विद्यालय घोषणा गरेको छ । विद्यालयमा विद्यार्थीहरूको क्षमताको पहिचान गरेर अध्यापन गराइने भण्डारीले जानकारी दिनुभयो । ‘अहिले हामीसँग फरक क्षमता भएका विद्यार्थीहरूका लागि पाठ्यक्रमको अभाव रहेको छ,’ उहाँले भन्नुभयो, ‘अब यसतर्फ सरकारले उचित ध्यान दिनुपर्ने देखिन्छ ।’

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *