होटलमा लगानी बढ्यो, आम्दानी घट्यो

 

चन्द्रप्रकाश नेपाली

दाङ, २७ साउन । कोरोना भाईरसको संक्रमणका कारण मारमा परेका धेरै क्षेत्र पुरानै अवस्थामा फर्किए पनि होटल व्यवसायमा भने सुधार हुन सकेको छैन् । कोरोना भाईरस र लामो बन्दाबन्दिका कारण मारमा परेका होटल व्यवसायीहरु अझै पनि व्यवसायबाट फाईदा लिन सक्ने अवस्था नभएको बताउछन् ।

लगातार दुई वर्ष देखा परेको कोरोना भाईरसको दुई वटा भेरिएन्टबाट प्रभावित भएको होटल व्यवसाय अहिले निषेधाज्ञा खुकुलो भएसँगै केही चलायमान भएपनि यसबाट नाफा कमाउने अवस्था भने नभएको दाङ देउखुरी होटल व्यवसायी समितीका अध्यक्ष रुद्रबहादुर डाँगीले बताउनुभयो ।

उहाँले अहिले सना होटल व्यवसायीहरुको अवस्था केही सुधार भएपनि ठुला होटल व्यवसायीहरु निकै मारमा परेको उहाँले बताउनुभयो । घोराही १५ मा सञ्चालनमा रहेको भिंग्रेली भिलेजका सञ्चालक निरञ्जनराज भण्डारीले अझै पनि व्यवसाय ८० प्रतिशत ह्रासमा रहेको बताउनु भयो ।

कोरोनाको त्रास कायमै रहेकाले अझै पनि होटलमा छिरेर खान नागरिकहरु हिचकिचाउने अवस्था रहेको भन्दै व्यवसायमा ८० प्रतिशत गरिवट आएको बताउनु भयो ।

कोरोनाभन्दा पहिले ४० जना कर्मचारी रहेको भिंग्रेली भिलेजमा अहिले ३० जना मात्रै कर्मचारी रहेका छन् । व्यवसायबाट मुनाफा कमाउने भन्दा पनि घरभाडा तिर्ने, खर्च कटाउने र होटलको व्यवस्थापन गर्नेमै ठिक्क हुने गरेको उहाँले बताउनुभयो । होटलमा लगानी बढेको बढै छ तर आम्दानी भने न्युन रहेको छ ।
४७ वटा रुम भएको भिंग्रेली भिलेजमा अहिले दैनिक १० वटा सम्ममात्रै बुक हुने गरेको उहाँले बताउनुभयो ।

यस्तै दाङ देउखुरी होटल व्यवसायी समितीका अध्यक्ष रुद्रबहादुर डाँगीले भन्नुभयो,–‘दिनभर बजारमा नागरिकको घुईचो हुन्छ । अधिकांशले मास्कको प्रयोग गरेका हुदैनन्, बजारका अन्य सबै पसलमा दिनभर सेवाग्राही कोचाकोच हुन्छन् तर हाम्रो साझ राम्रो व्यपार हुने समयमा बन्द गरिदिदा हामी निकै समस्यामा परेका छौँ,–उहाँले भन्नुभयो ।

यसैमा उहाँले थप्नुभयो,–‘दिनभरको व्यापारले खर्च उठाउन पुग्छ तर साझको व्यापारले केही कमाई हुन्छ भन्ने समयमा होटल बन्द गर्नुपर्दा हामी निकै मारमा परेका छौँ । पसल बन्द गरेर हाम्रोमा साझ नास्ता खान आउने समयमा बन्द हुदा सेवाग्रही पनि फर्काउन बाध्य भएका छौ,–डाँगीले भन्नुु भयो ।

होटल व्यवसाय सञ्चालनका लागी रातको समय बढाउन आफूहरुले माग गरिरहेको उहाँ बताउनु हुन्छ । यता होटल सिटि प्लाजाका म्यानेजर कमलप्रसाद श्रेष्ठले होटल व्यवसाय अझै पनि पुरानै अवस्थामा फर्किन नसकेको बताउनुभयो । लगातार देखा परेको कोरोनाको दुईवटा भेरिएन्टले होटल व्यवसाय निकै मारमा परेको उहाँले बताउनुभयो ।

कोरोना भन्दा पहिले २८ जना कर्मचारी रहेकोमा अहिले काममा १४ जनामात्रै रहेको उहाँले बताउनुभयो । १५÷१५ दिनको फरकमा सिफ्ट अनुसार कर्मचारी चेन्ज गर्ने गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘अहिले हामीले स्वास्थ्य सजकता अपनाउदै होटल सञ्चालन गरिरहेका छौ । अहिले प्रतिशतको हिसावले भन्नुपर्दा ३५ प्रतिशतसम्म व्यापार हुने गरेको छ, उहाँले बताउनुभयो ।

होटल व्यवसाय पुरानै अवस्थामा फर्किन नसक्दा यसम आश्रित जनशक्ति निकै मारमा परेका छन् । जिल्ला प्रशासन कार्यालय दाङले अहिले दाङमा साझ ८ बजेसम्ममात्रै व्यापार व्यवसाय सञ्चालन गर्न अनुमती दिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *