कोभिड -१९ र फिजियोथेरापी

 

कोभिड१९ पश्चात पुनर्स्थापनानाराका साथ यो वर्षसेक्टेम्बर विश्व फिजियोथेरापी दिवस मनाइँदै छ। कोभिड१९ बिरामीहरूको उपचारमा मात्र नभई पुनर्स्थापनामा पनि फिजियोथेरापीको एकदमै ठूलो भूमिका छ।  तथ्यमा आधारित उपचार पद्धति फिजियोथेरापीको हो।

साधारण भाषामा बुझ्दा फिजियोथेरापी भनेको भौतिक चिकित्सा विज्ञान हो। स्वास्थ्य उपचार पद्धति भित्रका बहुविधा (Multidisciplinary Team) मध्य एउटा महत्वपूर्ण विधा फिजियोथेरापी हो । यसमा विद्युतीय उपकरणको प्रयोग र व्यायामबाट बिरामीको उपचार गरिन्छ। यसको आफ्नै उपचार पद्धति हुन्छ, आफ्नै तरिकाले रोगको पहिचान गरिन्छ र रोगको पहिचान गरिसकेपछि आफ्नै विधि र प्रक्रियाबाट रोगको उपचार गरिन्छ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस कोभिड -१९ ले सबैलाई त्रसीत बनाएको छ। पछिल्लो समय विश्वमा संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ। यो लेख तयार पार्दासम्म विश्व स्वास्थ्य संगठन (WHO) को तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या पौने ३ करोड पुगिसकेको छ भने मृत्यु हुने पौने ८ लाख पुगेका छन् । नेपालमा ४६,२५७ संक्रमित हुँदा २८९ को मृत्यु भइसकेको छ।

सुमन के.सी.  – फिजियोथेरापिष्ट

कोभिड -१९ ले श्वास प्रणालीमा असार गर्दछ। यसका मुख्य लक्षणहरु ज्वरो आउने, खोकी लाग्ने , सास फेर्न गाह्रो हुने आदि हुन्। विभिन्न खोज तथा अनुसन्धानले पत्ता लगाए अनुसार कोभिड -१९ लागेका मध्य ८० प्रतिशत असिम्टोमेटिक वा सामान्य लक्ष्यण, १५ प्रतिशत बिरामीलाई सिभियर इन्फेक्सन र ५ प्रतिशत क्रिटिकल हुनसक्छ। क्रिटिकल विरामीहरुलाई लामो समयसम्म आइसियुमा राख्नुपर्ने हुनसक्छ भने तीमध्य केही विरामीहरुलाई स्वासप्रस्वासको जटिल समस्याले भेन्टिलेटरको आवश्यकता पनि पर्न सक्छ। अहिलेसम्म कोरोनाको कुनै पनि औषधि र खोप बनेको छैन। तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोगका कारण स्वास्थ्यमा आउने विभिन्न प्रकारका समस्याहरूका लागि फिजियोथेरापीको पनि महत्वपूर्ण भूमिका छ। त्यसकारण नेपाल फिजियोथेरापी संघ (नेफ्टा)ले अन्तर्राष्ट्रिय स्तरको कोभिड -१९ भएका विरामीहरुलाई गरिने फिजियोथेरापी उपचारको निर्देशिका बनाएको छ। त्यहीँ निर्देशिका अनुसार नेपाली फिजियोथेरापिष्टहरुले कोभिड -१९ बिरामीहरूको उपचार गर्दै आइरहेका छन्।असिम्टोमेटिक वा सामान्य लक्ष्यण भएका विरामीहरुलाई फिजियोथेरापीको आवश्यकता भने पर्दैन। तर सिभियर इन्फेक्सन र क्रिटिकल विरामीहरुलाई फिजियोथेरापीको आवश्यकता पर्दछ। स्वासप्रणालीका विज्ञ काडियोरेष्पिरेटरी (Cardiorespiratory) फिजियोथेरापिष्टको अझ बढी भूमिका रहन्छ।

लामो समयसम्म आइसियुको बेडमा रहिरहेका बिरामीहरूको फोक्सोमा म्युकस जम्मा भई सास फेर्न गार्हो हुने , मांसपेशी कमजोर भई शारीरिक अवस्था कमजोर हुने जस्ता समस्याहरु देखा पर्न सक्छन। यस्ता अवस्थामा बिरामीलाई फिजियोथेरापीष्टले विभिन्न पोजिसनमा राखेर पोस्चरल ड्रनेज, व्यायमहरु वा साधन प्रयोग गरी फोक्सोभित्र रहेको म्युकसलाई खोकिको माध्यमबाट वा सक्सन प्रयोग गरी बाहिर निकाल्न मद्धत गर्न सक्छन्। यसैगरी विरामीहरुलाई विभिन्न व्यायामहरु गराई मांसपेशी बलियो र शरीरलाई तन्दुरूस्त बनाउन मदत गर्न सक्छन्।

कोभिड -१९ बिरामीहरूको उपचारमा मात्र नभई पुनर्स्थापनामा पनि एकदमै ठूलो भूमिका छ। विभिन्न खोज तथा अनुसन्धानले डिस्चार्ज भई घर भएका विरामीहरुमध्य ४० प्रतिशतले शरीर कमजोर हुने, थाक्ने र गल्ने जस्ता समस्याहरु आएको बताएका छन्। यस्ता बिरामीहरुलाई फिजियोथेरापी पुनर्स्थापनाको आवश्यकता पर्दछ। पुनर्स्थापना गर्नुपर्ने बिरामीहरुलाई लामो समयसम्म विभिन्न किसिमका व्यायामहरु गरी तन्दुरुस्त बनाउनुका साथै दैनिक क्रियाकलापहरू सहजीकरण गराउन विभिन्न प्रकारका व्यायमहरु सिकाईन्छ। बिरामीहरुले लामो समयसम्म व्यायामहरु घरमै पनि गर्न सक्छन्। यस्ता बिरामीहरुलाई विभिन्न समयमा बोलाई शरीरको अवस्थामा सुधार भए नभएको हेरी व्यायमहरु थपघट गरिन्छ।

आजभन्दा पाँच वर्षअगाडि र अहिले फिजियोथेरापीबारे नेपाली जनसमाजमा धेरै परिवर्तन आएबाट मानिसले यस पद्धतिमा बिश्वास गर्न थालेका छन्। हुन पनि यो उपचार पद्धतिले यस्ता रोगहरु निदान गर्ने गरेबाट विश्वास बढ्न गएको देखिन्छ। यस पद्धतिले यस्ता रोगहरु निको मात्र नगरी रोगलाई बल्झिन समेत नदिने भएकाले यसको विशेष महत्व छ । यस उपचार विधिमा विद्युतीय उपकरणको प्रयोग र व्यायामबाट बिरामीको उपचार गरिने हुदा यसको कुनै नकारात्मक असर पनि हुँदैन। यति महत्वपूर्ण फिजियोथेरापी विधालाई नेपाल सरकारले अझैपनि प्राथमिकतामा पारेको छैन। नेपाल सरकारले सरकारीस्तरमा दरबन्दी बढाउने, स्वास्थ्य नीतिमा फिजियोथेरापीको स्पष्ट व्याख्या गर्ने , जनचेतना कार्यक्रमहरु ल्याउने, राष्ट्रिय र अन्तर्राष्ट्रिय सभा सम्मेलन गरेर यस सम्बन्धी महत्व उजागर गर्न आवश्यक छ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *