स्वदेशै प्रशस्त रोजगारीको व्यवस्था हुनुपर्छ

कुनै पनि देशको समग्र विकासका लागि विशेषगरी युवाशक्ति परिचालन हुन आवश्यक छ । यसका लागि राज्यले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका कुराहरुमा विशेष ध्यान दिनुका साथै सबैको पहुँच पुग्ने वातावरण निर्माण गर्न जरुरी छ ।

मुलुकको अवस्था हेर्दा सबै क्षेत्र अपेक्षितरुपमा विकसित हुन सकेको छैन । यसमा पनि स्वदेशमै राजगारीको व्यवस्था न्यायोचित ढंगबाट हुन सकेको छैन । अहिले पनि नेपालमा लाखौं युवा जनशक्ति व्यरोजगार बसिरहेको अवस्था छ । राज्यको ठोस नीतिको अभावका कारण एकातिर रोजगारीको प्रशस्त सम्भावनाहरु देखा पर्न सकेका छैनन् भने अर्कोतर्फ महिनैपिच्छे हजारौं युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्था छ । जसले गर्दा मुलुक आर्थिक समृद्धितर्फ अगाडि बढ्नै सकेको छैन ।

जबसम्म स्वदेशमै युवा जनशक्तिले श्रम गर्दैन, मुलुकको विकास हुनैसक्दैन । यसप्रकारको वातावरण निर्माण गर्नका लागि राज्यले सबै नेपालीलाई मुलुकमै रोजगारीको व्यवस्था गर्नुपर्दछ । रोजागर भन्नासाथ सरकारी कार्यालयको कामलाई मात्र बुझ्नु हुँदैन ।

रोजगार भन्नासाथ व्यक्ति आत्मनिर्भर बन्ने माध्यम हुनुपर्छ, चाहे त्यो सरकारी कार्यालयमा होस्, वा अन्य संघसंस्थामा नै किन नहोस् । व्यक्तिलाई सीपमा दक्ष बनाएर स्वरोजगार बनाउन सके पनि यसबाट धेरै लाभ लिन सकिन्छ ।
नेपालमा अहिले पनि व्यक्तिलाई रोजगारमुखी बनाउन सक्ने शिक्षा छैन । शिक्षा क्षेत्रलाई जबसम्म रोजगारको आधारभूमि बनाउन सकिदैंन तबसम्म कुनैपनि समस्या समाधान हुन सक्दैनन् । यसका लागि कम्तिमा पनि नेपालको शिक्षालाई व्यवहारिक र वैज्ञानिक बनाउँदै अध्ययन गरी सकेपछि विद्यार्थीले जागिर नै नपाएपनि स्वरोजगार बन्नसक्ने बनाउनु पर्दछ ।

विदेशमा अहिले पनि शिक्षा ग्रहण गरिसकेपछि सरकारी जागिर नखाए पनि त्यहाँका मानिसलाई उच्चस्तरको जीवनयापन गर्नसक्ने शिक्षाले बनाउँदछ । जसका कारण त्यस्ता मुलुकले पनि प्रगति गरिरहेको हामीले देखेका छौं । तर, बिडम्वना नै भन्नुपर्छ, नेपालमा अध्ययनपश्चात् जागिर नपाएको खण्डमा आफूले अध्ययन गरेको पढाइकै बलमा स्वरोजगार भएर बस्नेसक्ने अवस्था छैन । तसर्थ युवावर्गले यस्ता कुराहरुमा विशेष ध्यान दिन जरुरी छ ।

राजनीतिक दलहरुले सधँैभरि युवालाई राजनीतिक माहोल बलियो बनाउने माध्यममात्र बनाए । युवावर्गका लागि व्यवहारिक शिक्षा, प्रशस्त रोजगारको व्यवस्था गर्ने सवालमा दलहरुले गम्भीरताका साथ कहिल्यै सोंचेको हामीले पाएका छैनौं । यस्तो अवस्थामा खासगरी दलहरुका भातृ संगठन युवा संगठनहरुले यस विषयमा गम्भीरताका साथ आवाज उठाउन जरुरी छ ।

संविधान निर्माणका क्रममा मुलुकका अगाडि बढेकाले यस्तो अवस्थामा युवा संगठनहरु एकढिक्का भएर खवरदारीको दरिलो आवाज सामुहिक ढंगबाट उठाउन जरुरी छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *