सबै वडामा डाक्टर सहितको स्वास्थ्य सेवा, चालु आवभित्र घोराहीमा १५ बेडको अस्पताल

पाण्डव शर्मा

घोराही । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षभित्र १५ बेडको अस्पताल स्थापना गर्ने तयारी गरेको छ ।

चालु आवको बजेटमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गर्न ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । केही समय भित्रै भवन निर्माणको काम शुरु हुने उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो ।

शुरुमा पाँच वेडको अस्पताल निर्माण गर्ने भनिए पनि अन्तिममा १५ बेडको अस्पताल सञ्चालन गर्ने तयारी गरिएको हो ।
अस्पताल स्थापनाको प्रक्रिया पूरा गर्ने काम भइरहेको चौधरीले जानकारी दिनुभयो ।

‘हामीले आम उपमहानरपालिकावासीहरुलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा प्रदान गर्न खोजिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘आम नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउनका लागि स्वास्थ्य क्षेत्रमा थपक कदमहरु चाल्नुपर्ने देखिएको छ ।’

उपमहानगरपालिकाले वडा नं ४ मा सो अस्पताल निर्माण गर्ने तयारी गरेको छ । अस्पतालमा सरकारी मापदण्ड अनुसार दरवन्दिको व्यवस्था गरिने चौधरीले जानकारी दिनुभयो । अस्पतालमा विशेषज्ञ डाक्टर सहित, स्टाफ नर्श, ल्याव टेक्निसियन लगायतको दरवन्दि हुने छ ।

सबै वडामा एमवीवीएस डाक्टर

उपमहानगरपालिकाले १९ वटै वडामा एमवीवीएस डाक्टरको व्यवस्था गर्ने तयारी गरेको छ ।

अहिले तीन ओटा नगर स्वास्थ्य प्रवद्र्धन केन्दम्रमा एमवीवीएस डाक्टर सहितको सेवा शुरु भइसकेको छ ।

रामपुर र नारायणपुर स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा संस्थागत परिवारनियोजन क्लिनिक घोराही उपमहानगर अन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर सहितको सेवा शुरु भएको छ । त्यहाँ ल्यावको समेत व्यवस्था गरिएको छ । आगामी दिनमा सबै स्वास्थ्य केन्द्रहरुमा एमवीवीएस डाक्टर र ल्याव सुविधा पु¥याइने चौधरीले जानकारी दिनुभयो ।

अहिले उपमहानगरपालिकाका १९ वटै वडामा स्वास्थ्य कार्यलयहरु रहेका छन् । कुनै वडामा भने दुई ओटा सम्म स्वास्थ्य संस्था स्थापना गरिएको छ । जनताको पायकका लागि सजिलो होस् भनेर दुई ओटा वडामा दुई÷दुई ओटा स्वास्थ्य संस्था स्थापना गरिएको उपमहानगरपालिको जानकारी दिनएको छ ।

जसअनुसार वडा नं १३ को कलमघारी र बाह्र कुनै नजिकमा, १८ नं वडाको घोरदौरा र हात्तिखर्कमा दुई ओटा स्वास्थ्य संस्था स्थापना गरिएको छ । गोग्ली, रामपुर र नारायाणपुरमा ल्यावको समेत व्यवस्था गरिएको छ । अब विस्तारै सबै वडामा ल्याव सहितहको सेवा शुरु हुने चौधरीले जानकारी दिनुभयो । ‘गास, बास, कपाससँगै स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यकता हो,’ उहाँले भन्नुभयो, ‘सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने काम हाम्रो प्राथमिकता रहेको छ ।’

आँफूहरुको चुनावी प्रतिवद्धता अनुरुप नै स्वास्थ्य क्षेत्रको विकासमा कार्यक्रमहरु अघि बढिरहेको चौधरीले जानकारी दिनुभयो । ‘हामीले हिजो जनतासँग जे वाचा गरेका थियौंं, ती वाचाहरु पूरा गर्ने काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘कोरोना महामारीका कारण केही योजनाहरु पूरा गर्नमा ढिलाइ भएको छ, आगामी दिनमा हामीले क्रमशः ती योजनाहरु पूरा गर्ने छौं ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *