विशेषज्ञ डाक्टर पर्याप्त मात्रामा हनुहुन्छ

डा. सर्वेश शर्मा
मेडिकल सुपरिटेन्डेन्ट
राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङ

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दुईसय बेडमा स्तरबृद्धि भएको छ । अस्पतालको स्तरबृद्धि भएसँगै अहिले
सीटी स्क्यान सेवा समेत शुरु भएको छ । आगामी असारभित्र आइसीयू सेवा शुरु गर्ने तयारी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्मा बताउनुहुन्छ । शर्मासँग अस्पतालका विभिन्न विषयमा केन्द्रित रहेर गणतन्त्र दैनिकका कार्यकारी सम्पादक पाण्डव शर्माले गरेको कुराकानिको सार :

अञ्चल अस्पतालबाट प्रादेशिक अस्पतालमा परिणत भए पछि यहाँको स्वास्थ्य सुविधामा के फरक आएको छ ?

अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल भइसकेपछि अहिले गुणस्तर बढाइएको छ । पहिले अञ्चल अस्पताल हुँदा यहाँ ५० बेडको अस्पताल थियो । अहिले दुई सय बेडमा स्तरबृद्धि भएको छ । अब स्तरबृद्धि अनुसार छिट्टै कर्मचारी, डाक्टर तथा अन्य प्राविधिक कर्मचारी व्यवस्थापनका लागि काम हुने छ ।

जनशक्ति व्यवस्थापनमा केही थप हुने त कुरा आयो । अब त्यहाँको स्वास्थ्य उपचारका पहिलेको भन्दा के फरक हुन्छ ?

हिजो ५० बेडको उपचार गर्दा हामीसँग पूर्वाधार कम थियो । अब पूर्वाधारको विकास हुन्छ । अहिले इण्डोर र योगा भवन बनिरहेको छ । त्यसैगरी अस्पतालको माथिल्लो तल्ला थपको टेण्डर भएर अब काम शुरु हुने अवस्थामा पुगेको छ । तिहार पछि सायद काम पनि शुरु हुन्छ । त्यसैगरी हामीले अस्पतालका उपकरणहरु थप्ने योजना बनाएका छौं ।

दाङमा विगत देखि हुँदै आएको समस्या भनेको अस्पतालहरुको स्तरबृद्धि कागजिरुपमा हुने तर, व्यवहारिक रुपमा जनशक्ति, बजेट र डाक्टरहरुको अभावमा राम्रो उपचार नहुने समस्या रहँदै आएको छ । यसपटक पनि त्यस्तै त होइन ?

मुलुक अहिले संघीयता गइसकेको छ । अब हामीले सबै बजेट संघीय सरकारबाट ताक्नुपर्ने अवस्था छैन । अब विगतमा जस्तो समस्या आउँदैन कि भन्ने नै हो । अहिले हामीले माग गरे अनुसार यहाँको स्तरबृद्धि भएको छ । अहिले प्रत्यक्ष रुपमा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय यसमा लागेको छ । अब दुई सय बेड कागजमा मात्रै होइन । व्यवहारीक रुपमै सुविधा हुन्छ । अब एक बेडको एक लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय भइसकेको छ । भवनहरु निर्माण भइसकेपछि व्यवहारीक रुपमा नै हामीले स्तरबृद्धि अनुसारको सेवा प्रदान गर्ने छौं ।

ड यहाँ विशेषज्ञ डाक्टरहरुको अवस्था कस्तो छ ?

अहिले हाम्रो अस्पतालमा १७ जना विशेषज्ञ डाक्टरहरु हुनुहुन्छ । सबै संकायका विशेषज्ञ डाक्टर हुनुहुन्छ । नाक, कान, घाँटीको डाक्टर हुनुहुन्न । यहाँ दरवन्दि भए पनि उहाँ अस्पतालमा आउनुभएको छैन । अन्यत्र काम गरिरहनुभएको छ ।

ड कुनै ठूला दुर्घटना हुँदा विरामीलाई आइसीयू र भेन्टिलेटरको जरुरत पर्दछ । त्यस्तो सुविधा प्रदान गर्ने वारे तपाईहरुले केही सोँच्नुभएको छ ?

यसका लागि अस्पताल विकास समिति र तुलसीपुर उपमहानगरपालिका बसेर अस्पतालमा पनि आइसीयू चलाउनुपर्छ भनेर छलफल चलायौं ।

हिजोका दिनमा पनि आइसीयू सञ्चालन गर्नुपर्छ भनेर सामानहरु आएका थिए । तर, ती सामानहरु त्यतिकै बस्नुपर्ने अवस्था थियो । यसपटक हामीले ती सामानहरु बेलझुण्डि कोरोना अस्पतालमा लगेर आइसीयू व्यवस्थापन गरिरहेका छौं । आइसीयू सञ्चालनका लागि उपमहानगरपालिकाले भवन बनाइदिने र भेन्टिलेटरहरुको व्यवस्था प्रदेश सरकारले प्रदान गर्ने निर्णय भएको छ । आगामी असार भित्र पाँच बेडका आइसीयू सञ्चालन गर्ने निर्णय भइसकेको छ । त्यहीँ अनुसारको अहिले काम अघि बढिरहेको छु ।

तपाईले कोरोना विशेष अस्पताल बेलझुण्डि पनि हेरिरहनुभएको छ । त्यहाँको अवस्था कस्तो छ ?

हामीले साढे पाँच सय जनालाई लक्षण अनुसारको उपचार गरेर घर पठाएका छौं । पछिल्लो समयमा जटिल प्रकृतिका विरामी भर्ना हुनुभएको छ । त्यहाँ तीन ओटा भेन्टिलेटर सहितको आइसीयू सेवा सञ्चालन गरेका छौं । अहिले आइसीयूमा पाँच जना विरामी भर्ना हुनुभएको छ । अहिले बेलझुण्डि अस्पतालले पनि सेवा विस्तार गरेको छ ।

यो प्राविधिक विषय भएकाले हामीलाई त्यति जानकारी पनि नहुन सक्छ । भेन्टिलेटरको अन्तरराष्ट्रिय मूल्य हेर्दा त्यति महंगो पनि देखिदैन । तर, नेपालका अधिकांश अस्पतालमा भेन्टिलेटर सुविधा नभएको पाइन्छ । किन यस्तो भएको होला ?

भेन्टिलेटर किनेर राख्दैमा समस्या समाधान हुन्छ भन्ने होइन । भेन्टिलेटर जस्तै हुन्छ । भेन्टिलेटर हुँदैनमा राम्रो उपचार हुन्छ भन्ने होइन । त्यसका धेरै पक्षहरु हुन्छन् । त्यसमा चाहिनले क्रिटिकल केयर म्यानेजमेन्टमा चाहिने डाक्टर, नर्शहरुको व्यवस्था गर्नुपर्छ । एउटा बेडमा एउटा फिजिसियले हेर्नै पर्ने हुन्छ । एक जना मेडिकल अफिसर, एक जना सिस्टर हुनुपर्छ । तर, त्यो सबै क्रिटिकल केयर जानेको मान्छे हुनुपर्छ ।

नेपालमा क्रिटिकल केयर म्यानेजमेन्ट गर्न जानेको डाक्टर कति छन् ? वर्ष भरी कति उत्पादन हुन्छन् भन्ने कुरालाई पनि हामीले हेर्नुपर्ने हुन्छ । जहाँसम्म नेपाल सरकारको लोकसेवाबाट आउने जम्मा एक हजार ४ सय जना मात्रै डाक्टरहरु हुनुहुन्छ । तर, हामीलाई चाहिने डाक्टर कति हुन्छन् । त्यसको पूर्ति गर्नुपर्ने हुन्छ । त्यहीँ भएर सामानले मात्र उपचार हुन्छ भन्ने होइन । सामानको साथसाथै त्यसलाई चलाउने जनशक्ति पनि हुनुपर्छ ।

सबैको व्यवस्थापन गर्नुपर्छ । भेन्टिलेटर र मान्छे मात्र भएर हुँदैन । त्यहाँ चाहिने अन्य मेसिनहरु, ल्यावहरुको व्यवस्था गर्नुपर्छ । २४ घण्टा त्यसको व्यवस्थापन गर्न अलि जटिल पनि हुन्छ । त्यहीँ भएर एउटा भेन्टिलेटर किनेर दिएँ भन्दैमा आइसीयू भोलीबाट चल्छ भन्ने होइन । सबै चिजको व्यवस्थापन गरेपछि मात्र आइसीयू सञ्चालन गर्न सकिन्छ ।

विगतमा दाङको समस्या भनेको विशेषज्ञ डाक्टरहरुको दरबन्दि कम हुने । दरबन्दि भए पनि डाक्टरहरु आउन नचाहने समस्या थियो । अहिले कस्तो छ अवस्था ?

अहिले विशेषज्ञ डाक्टरहरु आउनुहुन्छ । कुनै पनि एउटा व्यक्तिलाई जीवन चलाउनका लागि के–के पूर्वाधार चाहिन्छ । त्यो हामीले दिन सक्छौं कि सक्दैनौं भन्ने महत्वपूर्ण कुरा हो । एउटा विशेष डाक्टर दाङ आउँछ भने उसले आफ्ना बच्चाबच्चिहरु पनि लिएर आएको हुन्छ । आफ्ना बच्चाबच्चिलाई पढ्ने स्कुलहरुको व्यवस्था हुनुप¥यो ।

मनोरञ्जनका लागि ठाउँ अथवा उसको सहज जीवनको व्यवस्था छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । अस्पतालमा क्वाटरको व्यवस्था देखि विभिन्न पक्षले काम गरिरहेको हुन्छ । एउटा डाक्टर आउँदैनमा लामो समयसम्म बस्न सक्छ भन्ने पनि छैन । आफ्नो बृद्धि विकासमा पनि ध्यान दिन्छन् ।

अब संघीयतामा मुलुक आएको छ । हामीले एउटा डाक्टरको व्यक्तिगत आवश्यकताहरु पूर्ति गर्न सकेको खण्डमा उहाँहरु यहाँ बस्न सक्नुहुन्छ । नत्र हामीलाई विशेषज्ञ डाक्टरको अभाव भइरहन्छ । सरकार र अस्पताल विकास समितिले यसमा ध्यान दिनुपर्छ । विगतमा भन्दा अहिले धेरै सुधार आएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *