घरको छतमा बट्टाई पालन

पाण्डव शर्मा

घोराही, ६ मंसिर ।नेपालमा पछिल्लो समय कृषि पेशातर्फ आकर्षण बढेको छ । विगतमा परम्पारगत ढंगले कृषि व्यवसाय गर्नेहरु अहिले व्यवसायीक रुपमा काम गर्न थालेका छन् । अहिले कृषि पेशमा अवकाश प्राप्त कर्मचारीहरु पनि लाग्न थालेका छन् ।

ती मध्ये एक हुन् अर्जुन बुढाथोकी । बुढाथोकी कृषि विकास बैङ्कको अधिकृतबाट अवकाश प्राप्त हुन् । घोराही उपमहानगरपालिका वडा नं १५ निवासी बुढाथोकीले अहिले जनसेवा कृषि तथा पशुपंक्षि फर्म दर्ता गरेर व्यसायीक कृषिमा लागेका छन् ।

उनले घोराही उपमहानगरपालिका वडा नं ९मा १० कट्ठा क्षेत्रफलमा आँफ लिच्ची र कागती रोपेका छन् । त्यसैगरी टर्की, लोकल कुखुरा, हाँस, बाख्रा र भैसी पालनका लागि खोर निर्माणमा जुटेको बुढाथोकीले जानकारी दिए ।

उनले परीक्षणका लागि भनेर अहिले घोराही– १५ मा रहेको आफ्नो घरको छतमा पहिलो चरणमा ४ बट्टाई पालेका छन् । ती बट्टाई बिक्रीका लागि तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

बट्टाई मासु र अण्डा उत्पादनका लागि पालन गरिएको बुढाथोकीले बताए । ‘मैले बृहतरुपमा पशु पंक्षी पालन गर्न खोजेको छु, यो शुरुमा परीक्षणका लागि मात्रै पालन गरिएको हो,’ उनले भने, ‘मैले एक जोडी बट्टाईलाई एक सय ३० रुपैयाँमा खरिद गरेर पालन गरेको छु ।’ बिक्री गर्दा एक जोडीलाई तीन सय पचाश रुपैयाँ देखि चार सय रुपैयाँ सम्म पर्ने उनले जानकारी दिए । पोथी बट्टाई अण्डा उत्पादनका लागि उपर्युक्त हुने भएकाले भाले भन्दा ५० रुपैयाँ महंगो पर्दछ । एउटा बट्टाईले दुई वर्ष सम्म निरन्तर अन्डा उत्पादन गर्छ ।

बट्टाई बिक्रीका लागि ५० दिन भित्र तयार हुने उनले जानकारी दिए । त्यसैगरी एक क्यारेट अण्डालाई ३ सय रुपैयाँमा बिक्री गरिन्छ । एक क्यारेटमा ३० ओटा अण्डा हुन्छन् । बट्टाईको अण्डामा निकै धेरै प्रोटिन हुने भएकाले यसको माग अत्याधिक भएको उनले जानकारी दिए ।

अण्डा सानो हुने भए पनि एउटा व्यक्तिले दैनिक दुई ओटा मात्र खान सक्ने बुढाथोकीले बताए । ‘अत्याधिक प्रोटिन हुने भएकाले दुई ओटा भन्दा बढी खाँदा स्वास्थ्यलाई त्यति राम्रो गर्दैन,’ उनले भने, ‘चिसो मौसममा बट्टाइको मासु र अन्डाको माग अत्याधिक हुन्छ ।’

आँफूले कृषि विकास बैङ्कबाट अवकाश पाउनुभन्दा पहिले देखि नै कृषि पेशा गर्ने योजना बनाएको बुढाथोकीले जानकारी दिए । ‘नेपालको समृद्धिको आधार भनेको नै कृषि हो, मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रको विकास गर्नैपर्छ,’ उनले भने, ‘सरकारले किसानहरुका लागि अनुदान, राहत र तालिमको व्यवस्था गर्नुपर्ने देखिन्छ ।’

पछिल्लो समय वास्तविक किसान भन्दा कृतिम किसानहरुले सरकारबाट प्राप्त हुने अनुदानको फाइदा लिने गरेको बुढाथोकीको गुनासो छ । अब सरकारले पहुँचका आधार नभएर वास्तविक किसानहरुलाई मात्रै अनुदान दिनुपर्ने उनले सुझा दिए ।
युवा पुस्तालाई कृषि तर्फ आकर्षण गरेर सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नुपर्ने बुढाथोकीको भनाई छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *