प्राविधिक शिक्षामा स्थानीय सरकारको ध्यान निशुल्क प्राविधिक शिक्षा

पाण्डव शर्मा
तुलसीपुर,८मंसिर । तुलसीपुर उपमहानगरपालिकाका १९ ओटै वडाले आफ्नै लगानीमा प्राविधिक जनशक्ति उत्पादन गर्न शुरु गरेका छन् ।

तुलसीपुरमा स्थापना भएको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा आफ्ना वडाका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरेर वडाहरुले प्राविधिक जनशक्ति उत्पादन गर्न शुरु गरेका हुन् । सबै वडाले पाँच जना देखि ८ जनासम्म विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा विद्यार्थी पढाउन थालेका हुन् । तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अहिले पाँच ओटा प्राविधिक विषय पढाई भइरहेका छन् ।

एउटा वडाले एउटा विषयमा कम्तिमा एक जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ती प्रदान गरेको शिक्षालय प्रमुख बसन्तविवश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार वडाहरुले पाँच वटा विषयमा एक÷एक जना गरेर कम्तिमा पाँच जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ती प्रदान गर्न थालेका छन् ।

विद्यार्थी छनोट पनि वडाहरु आँफैले गर्ने गरेको आचार्यले जानकारी दिनुभयो । ‘वडाहरुले कलेजमा आएर आँफूले सिफारिस गरेका विद्यार्थीहरुको शुल्क तिर्ने गर्छन्,’ उहाँले भन्नुभयो, ‘कतिपय
वडाले ८ जना सम्म विद्यार्थीलाई पूर्ण निशुल्क पढाईरहेका छन् ।’

वडाले दलित, जनजाति तथा जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा पढाईरहेको
आचार्यले जानकारी दिनुभयो ।वडाहरुले आँफूले पढाएका विद्यार्थीहरुलाई अध्ययन पूरा भइसकेपछि अनिवार्य
रुपमा एक वर्ष भोलेन्टिएर रुप्मा वडामै काम गर्नुपर्ने व्यवस्था गरेका छन् त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले
नगरबासी सबै विद्यार्थीहरुलाई ४० प्रतिशत सहुलियतमा पढाउन शुरु गरेको मेयर घनश्याम पाण्डेयले जानकारी दिनुभयो ।

‘नगरबासीको कारबाट स्थापना भएको कलेज भएकाले नगरवासीलाई ४० प्रतिशत सहुलियत दिने निर्णय भएको हो,’ उहाँले भन्नुभयो, ‘उपमहानगरपालिकामा प्राविधिक जनशक्ति उत्पादन गर्ने हाम्रो लक्षरहेको छ ।

तुलसीपुर उपमहानगरपालिका बाहिरका विद्यार्थीले तीन वर्षे कोर्ष पढ्नका लागि एक लाख २३ हजार रुपैयाँ तिर्नुपर्छ । तर, नगरपालिका भित्रका विद्यार्थीले भने ९६ हजार मात्रै तिर्नुपर्ने मेयर पाण्डेयले
जानकारी दिनुभयो । अहिले प्रविधिक कलेजमा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट अध्ययन गर्न आइरहेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *