नानीबाबुलाई संस्कार सिकाउँदै किशोरीहरु

पाण्डव शर्मा

दाङको राजपुर गाउँपालिका वडा नं ६ रामनगर निवासी १४ वर्षिया निर्मला रावत निकै व्यस्त छिन् । आजभोली उनलाई गाउँका साना नानीबावुहरुले भेट हुँदा वित्तिकै अभिवादन गर्छन् । केही समय पहिलेसम्म त्यहाँका नानीबावुहरु नयाँ मान्छेसँग भेट हुँदा टाढा हुन खोज्थे । तर, आजभोली उनीहरु नयाँ मान्छेलाई भेट्दा खुशी हुन्छन । अभिवादन गर्छन् अनि नजानेका कुरा सिकाइ माग्दछन् ।
अहिले निर्मला र उनका साथीहरु आँफूभन्दा साना नानीबावुलाई संस्कार सिकाउने अभियानमा लागेका छन् ।

गाउँमा  ३ वर्ष पूरा भएका र १२ वर्षसम्मका नानीबावुहरुलाई निर्मलाका साथीहरुले राम्रा ज्ञानगुनका कुरा सिकाउने गर्दछन् । उनीहरुले बाल बगैचा नै स्थापना गरेका छन् । बाल बगैचामा सधै बेलुकी ५ बजेपछि साना नानीबावुहरु आउने गर्छन् । उनीहरुलाई किशोरीहरुले हातमुख धुने, नङ काट्ने, अन्य सरसफाइ गर्ने र आँफूभन्दा ठूलालाई आदर गर्न र सानालाई माया गर्न सिकाउँछन् ।
बाल बगैचामा संस्कार सिकाउन किशोरीहरुले कोशेली ग्रेजुएट फोरम नै गठन गरेका छन् । ग्रेजुएट फो

रमा बसेका किशोरीहरु यसअघि बाल बगैचामा रहेर काम गरिसकेका छन् । उनीहरुले सरसफाइ, संस्कार र व्यक्तित्व विकासका विभिन्न कुरा सिकिसकेका छन् । विगतमा सिकेका कुरा अहिले साना नानीबावुलाई सिकाउने अभियानमा आँफूहरु जुटेको ग्रेजुएट फोरमकी सचिव संगिता गिरी बताउँछिन् ।

कोराना भाइरस महामारीको बीचमा उनीहरुले नानीबावुहरुलाई सावुन पानिले हात धुने, सेनिटाइजर लगाउने र सामाजिक दूरी कायम गर्ने तरिका सिकाएका छन् । त्यसैगरी कपला कोर्न, ब्रस गर्न र लाइनमा बस्ने कुरा सिकाइने संगिता बताउँछिन् । बालबगैचामा आउने बालबालिकाहरुलाई समूहमा बोल्न सिकाइन्छ । ‘उनीहरु अहिले समूहमा अगाडी उभिएर राम्रोसँग परिचयत दिन सक्ने भएका छन्, ’ फोरमकी कोषाध्यक्ष पार्वती चौधरी भन्छिन्, ‘साना नानीबावुहरुको समग्र क्षमता अभिवृद्धि गर्ने हाम्रो योजना हो ।’

बाल बगैचामा अहिले २२ जना १२ वर्ष मुनिका बालबालिकाहरु छन् । उनीहरुलाई साप्ताहिक रुपमा विभिन्न प्रतियोगिता आयोजना गरिन्छ । नानीबावुहरुले समयसमयमा सचेतनामुलक नाटक प्रर्दशन गर्दा आँफूहरुलाई खुशी लाग्ने गरेको स्थानीय श्यामलाल रावत बताउँछन् ।

‘पहिले आपसमा झैझगडा गर्ने नानीबावुहरु समेत अहिले मिलेर सामुहिक काम गर्न अग्रसर भएको छन्,’ उनले भने, ‘हाम्रै छोरीहरु साना नानीबावुलाई संस्कार सिकाएको देखेर हामीलाई पनि निकै खुशी लाग्ने गरेको छ ।’ अहिले नानीबावुहरु फुर्सदको समयमा आफ्ना अभिभावकलाई घरको काममा समेत सहयोग गर्ने गरेको रावतले जानकारी दिए ।

विगतमा घर बाहिर जान समेत गालि गर्ने अभिभावकहरु आजभोली आँफूहरुको काम देखेर खुशी भएको फोरमकी सदस्य रोशिला रावतले जानकारी दिइन् । ‘अहिले हाम्रा आमबुवाहरु निकै खुशी हुनुभएको छ, हाम्रा सचेतनामुलक कार्यक्रमहरु उहाँहरु पनि सहभागि हुनुहुन्छ,’ उनले भनिन्, ‘आजभोली हाम्रा कोही पनि साथीहरु एक आपसमा झगडा पनि गर्दैनन् ।’ बाल बगैचा स्थापनाकाका लागी मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले स्वावलम्वन समूह सिड्स अन्तर्गत सहयोग गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *