मुलुकको समृद्धिको आधार उद्योग

गणतन्त्र समाचारदाता
घोराही, १० मंसिर । घरेलु तथा साना उद्योगको प्रवद्र्धन विनाको समृद्धिको कुनै अर्थ नरहने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

छैठौ राष्ट्रिय उद्योग दिवस एवम् घरेलु तथा साना उद्योग कार्यालयमा डिजिटल नागरिक बडापत्र सार्वजनिक कार्यक्रमका सहभागीहरुले दाङको समृद्धिका लागि औद्योगीक क्षेत्रको विकास हुन आवश्यक रहेको बताएका थिए । कार्यक्रमका प्रमृख अतिथि तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले आर्थिक विकाससँगै रोजगारीका अवसरहरु सिर्जना गर्नका लागि औद्योगीक क्षेत्रको विकास हुन आवश्यक रहेको बताएका थिए ।

उनले पछिल्लो समय दाङमा उद्योगहरुको विकास भएपनि विश्व बजारसँग प्रतिष्पर्धा गर्न सक्ने सामग्रीहरु उत्पादन हुन नसकेको बताएका थिए ।
घोराही नगरपालिकामा जनप्रतिनिधिका रुपमा आफु आएदेखि नै औद्योगीक क्षेत्रको विकासका लागि आफुले पहल गरिहेको समेत नगर प्रमुख चौधरीले बताए । उनले घोराही उपमहानगरपालिकाले घरेलु तथा साना उद्योगहरुको प्रवद्धर्नका लागि काम गरिरहेको समेत बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले समृद्धिका आधार घरेलु तथा साना उद्योगहरु रहेकाले उद्योगहरुको प्रर्वद्धन गर्न आवश्यक रहेको बताए । उद्योगहरुको विकासले जिल्लाको समृद्धिसँगै रोजगारीका अवसरहरु समेत सिर्जना हुने बताएका थिए ।

जिल्ला उद्योग प्रवद्र्धन समिति दाङका संयोजक समेत रहेका जिल्ला समन्वय समिति दाङका संयोजक जीतेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालले सरकारले उद्योग धन्दाको विकासका लागि लगानीमैत्री वातावरण तयार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले दाङले समग्र प्रदेशको नेतृत्व गर्ने गरी आफ्नो कदम अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।उद्योग दिवसका अवसरमा घरेलु तथा साना उद्योग कार्यालयले मंगलवार जिल्लाका ६ जना उद्यमीहरुलाई सम्मान गरिएको छ ।

जसअन्तर्गत स्वर्गद्धारी रेशम विकास अनुसन्धान तथा प्रशोधन केन्द्र गढवा–४ सञ्चालक रामनाथ अधिकारी, मोर्डन ग्रिन उद्योग राप्ती गाउँपालिका–५ सिसहनियाका प्रोपाईटर गन्धर्व चौधरी, गौमुखी च्याउँ तथा कृषि उद्योग घोराही–१७ का मनिराज पुन,शाही मसला उद्योग घोराही–१४ का अम्विका शाह, जेपी मौरी पालन फर्म घोराही–११ का झगाकुमारी केसी र गुडहिल छाला जुत्ता उद्योगका सञ्चालक कल्पना नेपालीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यालयका निमित्त प्रमुख उमबहादुर वलीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमका सहभागीलाई सूचना अधिकारी विक्रम केसीले धन्यवाद ज्ञापन गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *