धरातल बिर्सने नेता र धुपौरे जनता

रमेश भट्टराई ‘सहृदयी’

मुलुकमा पटक्कै केही परिवर्तन भएको छैन भन्ने पनि बिलकुल होइन । हक र अधिकारका लागि आवाज उठ्न थालेका छन् । जनतामा केही गरौँ र कमाएर बाँचौँ भन्ने ज्ञान बढेको छ । सन्तानलाई पढाउनुपर्छ भन्ने सोच, सूचना प्रविधितिरको आकर्षण, सभ्य जीवनको चाहना, बचत गर्नुपर्ने आवश्यकताबोध हुँदा जनतामा ज्ञान अभिवृद्धि हुँदै गएको छ ।

केही परिवर्तनका बीचमा बाधक तत्त्वलाई सुधार गरिएन भन्ने विषय मात्रै पेचिलो हो ।
जनतालाई परिवर्तनको प्रत्यक्षरूपमा आभास नभएको भने हो । मूर्तरूपमा व्यवहार परिवर्तन नभएको विषय पनि यथार्थ हो । नेपालको संविधान २०७२ ले कोरेको बाटोको विपरीत मपाईंत्वको जगमा ध्यान दिइँदा समस्या भयो ।

भ्रष्टाचारको आरोप लागेकालाई पनि चुपचाप काखी च्यापेर राखिएको छ । यस्ता कतिपय सन्दर्भलाई जनतासमक्ष प्रस्ट पार्नेतिर नलाग्नु, पारिवारिक स्वार्थमा मन्त्रीको भागवण्डा हुनु, मेरो गोरुको बाह्रै टक्का गरिरहनु सत्तारूढ दलको सबैभन्दा ठूलो कमजोरी हो । चित्त शुद्ध छ÷छैन भन्ने कुरालाई व्यवहारले प्रदर्शित गर्छ तर त्यसो हुन सकेन ।

त्याग र समर्पण ग¥यौँ भने पनि नेकपाका अध्यक्षद्वयमा स्वार्थको सोच हाबी देखिन्छ । यदि एकताको मियो भाँच्चियो भने गुटका कारण हुने दुर्घटनाबाट जनताले नै घाटा व्यहोर्नुपर्ने देखिन्छ ।गाउँपालिकासँग गाउँ नै कायापलट हुने बजेट छ । हाम्रो नीति तथा कार्यक्रम युगसापेक्षी छ । तर, राणा ढालेँ, पञ्चायत ढालेँ, बहुदल ल्याएँ, राजा खेदाएँ भने पनि त्यो शासन पद्धतिका कमजोरी र हुकुमी शैली पनि त हट्नुपर्छ ।

जुन बहुमतको सरकारले एकढिक्का भई काम गरेर देखाउनुपथ्र्यो, ऊ आफैँ आन्तरिक किचलोमा शुरुदेखि नै होमियो । सोही गोलघरमा सत्तारूढ दल आजसम्म घुमिरहेको छ अनि जनता पनि टुलुटुलु हेरिरहेका छन् । भुसको आगोमा पिल्सिएर आन्तरिक किचलोभित्र नेतृत्व अल्झिरहन्छ ।

विकासमा होमिने अमूल्य समयलाई खेर फालेर ‘आफू पनि नगर्ने अनि गर्नेलाई पनि गर्नै नदिने’ अघोषित सोचभित्र पार्टीगत स्वार्थ हाबी छ । हिजो तिनलाई किन जिताएको हो भन्ने कुरोचाहिँ जनताले पनि बिस्र्यो ।परिवर्तन भनेको जादुको छडी होइन तर युवा खाडीमा भासिएकै छन् ।

स्वरोजगारको अभाव र शिक्षितहरू बेरोजगार बनिरहेकै छन् । हाम्रो यस्तो देश हो जहाँ युवाले कुनै बाहिरको देशले कामदारको भिसा खुलायो भन्दा मन्त्रीले नै गर्व गर्छन् । विदेशमन्त्री र सरोकार गमक्क हुन्छन् । खुसी मान्छन् । उपलब्धि ठान्छन् तर युवालाई स्वदेशमा रोजगारी दिलाउन नसकेको पीडामा नेतृत्वबाट चिन्ता गरिँदैन ।

सिद्धान्तगत आधारमा पुँजीवादको विरोध गरेर जुन नेतृत्व आखिरमा शक्तिस्वार्थकै लालचमा वा कुर्सीका रडाको मच्चाउँछ भने तब त्यहाँ पनि तानाशाहकै गन्ध आउँछ । हाम्रो देशमा नेतृत्वले नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्ने अभ्यासको अभाव त विगतबाटै कायम देखिन्छ । वास्तवमा हेर्ने नै हो भने त हाम्रो समाजलाई सबाल्टर्नको दर्शनका कोणबाट सोच्नु अपरिहार्य छ ।

आज पनि बालश्रम शोषण, कमाराकमारी राख्ने, सम्पन्नले विपन्नलाई हेप्ने, सुगम र दुर्गमको विशाल फासला छैन र ?
कठिन काममा बालबालिकाले पसिना नपोखे खानै नपुग्ने बाध्यता हुने विपन्न वर्गको पीडा पनि हिजोजस्तै छ ।

हक र अधिकारका विषय त बोल्न र बुझ्न सक्नेका लागि मात्र प्रयोगयोग्य हुँदै आएका छन् । जो आवाजविहीन छन्, जसले बोल्नुपर्छ भन्ने नै बुझ्दैन अर्थात् बोल्न थाले मुखमा लागेको माड पनि खोसिने भय छ भने तिनका लागि वर्गद्वन्द्वका भाषण र समाजवादका लम्बेतान गफले केही प्रभाव पार्दैन ।
लोकतान्त्रिक व्यवस्थामा हामी सबै स्वतन्त्र छौँ । जनताले नै भोट दिएर जिताएका मानिसले सत्ताको बागडोर सम्हालिरहेका छन् । घोषणापत्रमा मीठा लालीपप खुवाइए । आज त्यसमा ढुसी मात्रै होइन पूरै स्याउँस्याउँती कीरा परिरहेको छ ।

कारण– सबै जनता कुनै न कुनै पार्टीका कार्यकर्ता छन् अनि जनताको मुखलाई गुटबन्दी र खेमावादरूपी शक्तिको सियोले सिएको छ । तथापि, त्यो सियोमा खिया लागेको छ अनि धागो झनै मक्काएर कमजोर छ । जुन जनताले पार्टीको हाँगो समात्न सक्दैन उसका लागि कतिपय सन्दर्भमा असहयोगको परिवेश सिर्जित छ । सामाजिक हैसियत नभएर पिरोलिनुपर्ने बाध्यता त्यहाँ छ ।

यसर्थ खेमाबन्दभित्र मिल्न नसक्नेले बिकामे बन्नुपरेको देखिन्छ । हिजो भोट माग्दा नेताले एकपटक नमस्कार गरे, आज जनता पटकौँ पटक नमस्कार गरिरहेका छन् ः विकास गर, स्वार्थ छोड, रोजगारको यकिन गरिदेऊ, शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाऊ । यसको अर्थ घोषणापत्र पल्टाएर हेर भनिएको हो ।

नेताले नदेखिने बदमासी गरिरहेको कुरालाई कसले खोजतलास गर्छ र ? किनभने, अख्तियारलाई समेत शक्तिको पञ्जाबाहिर बसेर काम गर्ने परिवेश रहेको देखिँदैन । यसको अर्थ नेताले जनतालाई खुलेआम ढाँट्न पाइनुचाहिँ लोकतान्त्रिक पद्धति हो त ? नेताले स्वार्थका लागि झगडा गर्दा जनताले सास्ती भोग्नुपर्छ ।

तब सबैभन्दा धेरै जनतामाथिको अन्याय त नेताबाटै भएन र ? विकास र समृद्धिका लागि भोट माग्ने अनि आफू स्वार्थको लडाइँ लड्ने ? कानुन सबैलाई बराबरी भए पनि सर्वसाधारणलाई नाटकीय ढाँचामा जेलमा कोचिइरहिन्छ ।निर्मला पन्तको हत्याराको आरोप लगाएर सामान्य र निर्दोष मान्छेलाई अन्याय गरेजसरी अपराध गरिन्छ ।

आखिर नेताका धुपौरेलाई जेलनेलका घटना सामान्य नै भइदिन्छ । यो परिपाटी ठ्याक्कै हिजोजस्तो नभए पनि आजजस्तोचाहिँ नभएको होइन । धेरै हदमा मानवअधिकारले पनि काम गर्दैन ।जनताको अभिमतबाट चुनिएको प्रतिनिधिले विचारलाई बाँड्दा, एकथोक भनेर भोट माग्ने अनि अर्कै थोक गर्दा अर्थात् आफ्नो धरातललाई बिर्संदाचाहिँ कारबाही हुनुपर्दैन ? कम्तीमा जनताको मागलाई सम्बोधन गर्ने वा चित्त बुझ्दो कारण वा काम गरेर देखाउन पनि त जान्नुपर्छ । काम गर्नभन्दा पनि ओहोदाका नाममा, भ्रष्ट चरित्रको नाम र मनोविज्ञानमा स–साना बखेडाभित्र अल्झिएर आजको हाम्रो राजनीतिक नेतृत्व भौँतारिइरहेको देखिन्छ ।

फलतः यसो भ्रष्टचारीले आड लिन्छन् । फटाहाले हैकम जमाउँछन् । नेताले चुनाव लड्ने र जित्ने एउटा कार्यकालका लागि मात्रै होइन । नेतृत्वले गल्ती गर्नु, समृद्धिको पाइलामा भाँजो हाल्नु, नेता यताउता गर्दा जनताको मन भाँड्नु भनेको जनताको अभिमतमाथिको अत्याचार हो । गुटको लडाइँमा होइन, समृद्धिको लडाइँमा साथ दिऔं । जनताले पनि कसैको पक्षमा लागेर विनाविश्लेषण केवल विरोधी आँखाले हेर्ने सोचलाई बदल्नु अबको अपरिहार्य आवश्यकता हो ।

लोकतान्त्रिक पद्धतिमा बोलवालाको हुकुमलाई अघोषित कानुन बनाइँदा वास्तवमा अल्पमतमा पर्नेका दशा ‘तैँ चुप मै चुप’ भएका हुन् । यो दरारलाई संविधानमा लेखिएको भाषाले भन्दा व्यवस्थाभित्रको अनुशासनको दायराले चिर्नुपर्छ । गुटबन्दी देश विकासको सबैभन्दा ठूलो बाधक हो, जुन कुरा बहुमतको सरकार भनिएको सत्तारूढ दलमा भुसको आगो हो ।

आज सत्तारूढ दलमा ओली र प्रचण्ड–नेपाल गुटले देशको विकासमा लाग्नुपर्ने सृजनशील समयलाई नराम्ररी खेर फालेको होइन र ? यसरी जनताका लागि सेवा गर्छु भन्नेले आफू माथि गएर गुमराहमा बस्न मिल्छ ? स्वार्थको लडाइँमा होमिन मिल्छ ? जनताले यस विषयमा पनि बोल्नुपर्दैन र ? सत्तारूढको बाम एकता त युद्धविराम मात्रै जस्तो छ ।

यो मिलनको भ्रमजस्तो देखिन थालेको छ । परिणामतः देश र विकासको गति उही हिजोको नौ महिने सरकारकै जसरी अन्योलको भूमरीमा नै अल्झिरहने सङ्केत देखिन्छ ।हो, द्वन्द्वकालअघि गाउँ–गाउँमा गुण्डागर्दी खूबै हुन्थ्यो । समूह–समूहमा विभाजित भएर युवाहरू काटाकाट–मारामार गर्थे । बाटो छेकेर कुट्ने, मार्ने पनि हुन्थ्यो ।

कुनै ‘दादा’ हरू नाम चलेका हुन्थे, जुन केही अघिसम्म पनि चर्चामा थिए । अहिले धेरै नै कम मात्रै सुन्नुपरिरहेको देखिन्छ । तिनले पार्टी र ठूला मान्छेका आडमा पैसा र शक्तिको दम्भ देखाएर जनतालाई खुलेआम दमन गर्थे । त्यहाँ कसैको हैकम चल्थ्यो । त्यो कुपद्धति अहिले पूर्णतः हटेको भने होइन ।

अहिलेको माफियावाद कूटनीतिक चालमा मोडिएकोचाहिँ देखिन्छ । उसै गरी राजनीतिक आडमा स्वार्थका लप्काहरूमा सोझा जनता पिल्सिएका छन् । बोल्न नसक्ने र पहुँच नहुनेको स्तर हिजोदेखि नै उस्तै छ । आफ्नै श्रमको मूल्य नपाएर पिल्सिएका निम्न स्तरका श्रमिकको दशालाई शहरतिर केही–केही हेरिएको हो भन्नुपर्छ । मात्र रूप र नाम फरक शैलीमा छ तर ठगिने, पिल्सिने, हेपिने भनेको पहुँच नभएका जनता नै हुन् ।

स्थानीय अधिकारप्राप्त स्थानमा हिजोका मुखियाजसरी नेतृत्व पाउने र गुलामी गर्नेको शक्तिका मुन्तिर परेर पनि आज जनता विभाजित छ खेमावादमा फसेर गुलामी गर्नेको सङ्ख्या बढ्नु अहिलको तीतो समस्या हो ।गुटबन्दी नै हाम्रो मुलुकको आजको अभिशाप हो । जहाँ भाइ–भाइमा एकता हुँदैन, त्यहाँ रावण र विभीषणको द्वन्द्व हुन्छ नै ।

चाहे कथा नै होओस् तर कौरव र पाण्डवका बीचको रक्तहोली पनि इतिहासको अब्बल दृष्टान्त हो । शायद त्यो पनि भोगिएकै कुरा हो । राजनीतिक मैलो नै ठूलो समस्या हो । काममा ढिलासुस्ती, भ्रष्टाचार, माफियातन्त्रको जालो तोड्नुको साटो काखी च्यापेर चुनावी कार्यकर्ता बढाउने होडबाजीले देशको विकासमा बाधा पुगेको विषयलाई सत्तापक्ष र विपक्ष दुवैले बदल्नु आवश्यक छ । जबसम्म पार्टीको स्वार्थ हेरेर देश र जनताको ख्याल हुँदैन, तबसम्म देश कछुवा गतिमा चल्नेछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *