तपाईंको जीवनको लक्ष्य के हो ?

प्रेम रावत
यो संसारमा कसैलाई केही चीजको अनुभव छ त कसैलाई कुनै चीजको अनुभव छ । कोहीसँग प्रेमको अनुभव छ भने कसैसँग क्रोधको अनुभव हुन्छ । कसैलाई सुखको अनुभव छ त कसैलाई दुःखको अनुभव छ ।

तथापि, हामीले यी जति पनि चीजको अनुभव गर्छौँ, यिनका अतिरिक्त जीवनमा अनुभव गर्नुपर्ने एउटा अर्को चीज पनि छ र त्यो चीज हो– शान्ति । तपाईंलाई प्राप्त भएको यो जीवनलाई सफल तुल्याउनुभएको छ त ? के तपाईंले आफूले आफूलाई चिन्न सक्नुभयो ? यो संसारमा जे भइरहेको छ, त्यसलाई म सही वा गलत हो भनेर भनिरहेको छैन । म व्यापार गर्नुहुँदैन भनिरहेको छैन । तपाईंले कुनै पनि चिन्ता गर्नुहुँदैन भनेर म भनिरहेको छैन । मेरो भनाइको अर्थ त पहिला आफूले आफूलाई चिन्नुहोस्, आफूले आफूलाई पहिचान गर्नुहोस् भन्ने हो । तपाईंको पहिलो सम्बन्ध आफूसँग नै हुनुपर्छ ।

उदाहरणका रूपमा हेरौँ– तपाईंसँग ‘एक’ र दुईवटा ‘शून्य’ छन् । यदि एकलाई तपाईंले दुईवटा शून्यका पछाडि राखिदिनुभयो भने पनि त्यसको मूल्य ‘एक’ नै हुन्छ । ठीक विपरीत यदि एकलाई तपाईंले दुईवटा शून्यभन्दा अगाडि राखिदिनुभयो भने त्यसको मूल्य हुन्छ– सय ।
यदि तपाईं सय बनाउन चाहनुहुन्छ भने ‘एक’ लाई पहिला राख्नुहोस् ।

अनि, एक तपाईं हुनुहुन्छ र यो संसार शून्य हो । जबसम्म तपाईं हुनुहुन्छ तबसम्म तपाईंभित्र यो श्वास छ । त्यस अवस्थासम्म त यो शरीरको कुनै न कुनै मूल्य रहन सक्छ । यदि ‘एक’ निस्केर गयो भने ‘शून्य’ त रहनेछ तर त्यसको कुनै पनि मूल्य रहँदैन । तसर्थ यो बुझ्नुपर्ने कुरा हो, किनभने समय त बितिरहेको छ । यो समयरूपी एउटा राम्रो माटो छ अनि तपाईं हुनुहुन्छ– कुमाले । यदि तपाईंले चाहनुभयो भने यो मुछिएको हिलो माटोलाई तपाईं माटाको भाँडोका रूपमा रूपान्तरण गर्न सक्नुहुन्छ ।

तथापि, त्यही चीज यदि हिलोका रूपमा मात्रै रह्यो भने त्यसको कुनै आफ्नो अस्तित्व हुँदैन । त्यही हिलो माटो कुमालेको हातमा परेपछि कुमालेले आफ्नो कलाकौशलद्वारा कुनै यस्तो चीजमा रूपान्तरण गरिदिन्छ, जुन कतै न कतै प्रयोगयोग्य वस्तु बन्छ । हामी जीवनमा के कुरा बुझ्दैनौँ भने हामी त्यो हिलो माटोबाट केही चीज बनाउन सक्छौँ ।

त्यसबाट हामी केही निर्माण गर्न सक्छौँ । यदि त्यसबाट काम लाग्ने चीज बनायौँ भने त त्यो पनि उपयोगी वस्तु बन्नेछ । हरेक क्षण जुन हामीलाई प्राप्त भइरहेको छ अनि गुमिरहेको छ– यो त्यही माटो समान छ । यदि त्यसलाई केही गरेनौँ भने माटो त माटो नै रहनेछ । अनि, यही माटोमा तपाईंले एकदिन मिसिनु छ । यदि यसलाई केही गर्नुभयो भने यो माटो मात्रै रहनेछैन । यसबाट कुनै राम्रो वस्तु बन्नेछ । कुनै राम्रो चीज बन्नेछ अनि त्यो राम्रो चीज के बनाउने हो, यो तपाईंमाथि निर्भर रहन्छ ।

हरेक क्षण जुन तपाईंका साथमा आइरहेको छ अनि गइरहेको छ– यसमा तपाईं केही गर्न सक्नुहुन्छ । यसका बारेमा बुझ्नुपर्ने आवश्यकता छ । तथापि, मानिसलाई यी कुरा बुझ्नका लागि भने समय नै रहेन । मानिसले त यस्तो–यस्तो चीज बनाइदियो त्यसैमा ऊ अल्झिरहेको छ । यो कुरा तपाईंमा नै निर्भर रहन्छ– तपाईं के गर्न चाहनुहुन्छ ? आफ्ना लागि, आफ्नो यो जीवनका लागि केही गर्न चाहनुहुन्छ या चाहनुहुन्न ? के तपाईंले कहिल्यै आफ्ना लागि सोच्नुभएको छ ? यो जीवनमा जबदेखि तपाईं आउनुभएको छ अनि जब तपाईंले जानुपर्ने समय आउनेछ– जुन उद्देश्यलाई तपाईंले पूरा गर्न सक्नुहुन्थ्यो, के त्यो लक्ष्यलाई पूरा गर्नुभयो ? के यो हृदयरूपी भाँडोलाई आभारले भर्नुभयो ? शान्तिले भरिपूर्ण भयो त ? तर, के गर्नुपर्छ र के गर्नुहुँदैन, यो तपाईंमाथि नै निर्भर रहन्छ ।

तपाईंको जीवनमा पहिलो कुरा के हो ? ‘तपाईं’ कि यो संसार ? ‘तपाईं’ भन्नुको अर्थ के हो भने, तपाईंको हृदयमा केही चीज विद्यमान छ । तपाईंले त्यसलाई चिन्नुभयो या चिन्नुभएन ? त्यो तपाईंकै अंश हो– जबसम्म तपाईं जीवित रहनुहुन्छ तबसम्म त्यो पनि तपाईंको अंश हो । त्यो तपाईंभित्र रहेको छ । तपाईंको हृदयमा विराजमान छ । तसर्थ पहिला ‘तपाईं’ हुनुहुन्छ कि यो संसार ? अब कतिपय मानिसहरूलाई ‘तपाईंले एकदिन जानुपर्नेछ’ भन्नुभयो भने यस कुरालाई उहाँहरूले स्वीकार गर्नुहुन्न ।

मानिसहरू त यही नै भन्छन्– ‘मस्ती गर, यसो गर, त्यसो गर, त्यहाँ जाऊ’ गर्दागर्दै बुढेसकाल लाग्छ । अनि, जब वृद्धावस्था शुरु हुन्छ तब मानिसलाई चिन्ता लाग्न थाल्छ– ‘अहो ! साँच्चै मैले त जानुपर्छ !’ जति पनि तपाईंका नातागोता छन्, यहाँबाट जानुभएपछि तपाईंले तिनलाई फेरि कहिल्यै देख्न पाउनुहुनेछैन । यसर्थ जोसँग प्रेम गर्नु छ, तिनलाई जति गर्नुपर्छ त्यति नै प्रेमभाव प्रदर्शन गर्नुहोस्, किनभने यो मौका फेरि पाइँदैन ।
जुन सफलता प्राप्तिका लागि तपाईं प्रयासरत हुनुहुन्छ, जुन प्रगतिको भ¥याङमा तपाईं चढ्न चाहनुहुन्छ– तपाईंभन्दा पहिला कति हजारौँ, लाखौँ मानिसले यो मिहिनेत गरिसकेका छन् । त्यसमध्ये धेरै माथिसम्म पुगे अनि चिप्लिएर तल खसे पनि । सफलताको सोपानमा चढ्नलाई मानिसले कोशिश गरिरहेकै छन् अनि निकै टाढासम्म पनि पुगेका हुन्छन् । तथापि, खुट्किलाको दूरी यति फराकिलो छ जसमा खुट्टाले भेट्नै सक्दैन । त्यसपछि मानिस खसेर तल झर्छ । फेरि कोशिश गरिरहन्छ तर त्यो प्रयासका कारणले तपाईंको समय खेर जानुपूर्व नै केही गर्नुहोस् । भित्रको जुन सफलता छ, जुन तपाईंको आफ्नो वास्तविक सफलता छ, त्यसलाई पूरा गर्नुहोस् । आफूले आफूलाई बुझ्नुहोस् ।

यो शरीररूपी माटोलाई माटो मात्रै हुन नदिनुहोस् । यो हिलोलाई हिलै बनाएर नराख्नुहोस् । यसबाट केही आकृति प्रदान गर्नुहोस् ।
चाहे जतिसुकै निस्पट्ट अँध्यारो होओस् तर एउटा बलेको सानो दियोले त्यस अन्धकारलाई नष्ट पारिदिन्छ । तपाईंभित्रका सृष्टिकर्ताद्वारा प्रदान गरिएको शक्ति पनि एउटा बलेको दियो हो । तपाईंभित्र त्यो बलिरहेको दियो हुन्जेलसम्म तपाईंमा अन्धकार नजिक आउन सक्दैन । तपाईंको वास्तविक सफलता त्यो भ¥याङमा छैन, तपाईंको सफलता त तपाईंको हृदयमा बलिरहेको दियोमाथि निर्भर रहन्छ । किनभने त्यसमा एउटा शक्ति छ, जसले त्यो अन्धकारलाई रोक्ने क्षमता राख्छ । यसर्थ तपाईंको सफलताको सम्बन्ध त्यो भ¥याङका खुट्किला चढ्नुसँग होइन । तपाईंको सफलता त त्यो हृदयरूपी भाँडोमा तपाईंले आनन्दलाई भरेपछि प्राप्त हुने हो ।

त्यसपछि तपाईंले सफलता प्राप्त गर्नुहुनेछ ।
मानिस हुनुको नाताले नै हामी एक हिसाबमा कति धेरै भाग्यशाली छौँ अनि अर्कोतिर हामीले धेरै दुःखलाई सहन गर्नुपर्ने हुन्छ । के हामी भाग्यशाली छौँ या यो दुःखले भरिएका छौँ त ? दुःख त यसकारण हुन्छ, किनकि हामीले आफ्नो भाग्यलाई, आफूले आफूलाई चिन्दैनौँ । हामीले कति अमूल्य चीजलाई प्राप्त गरेका छौँ ।

हामीले हाम्रो काम गर्ने क्रममा अर्थात् अहिले जे गरिरहेका भए पनि त्यो भाग्यरूपी ‘एक’ लाई कहाँ राखेका छौँ ? त्यो भाग्य भनेको यही नै हो । यदि हामीले त्यो ‘एक’ लाई पहिला राखेपछि मात्रै शून्यलाई थप्यौँ भने सबै कुरा राम्रो भइरहेको हुन्छ । यसका विपरीत पछिल्तिर राखिरहेका छौँ भने त शून्य ‘शून्य’ नै रहन्छ । सफलता त के हो भने, यो ‘एक’ लाई पहिला राख्नुहोस् । आफूले आफूलाई चिन्नुहोस् अनि आफ्नो भाँडोलाई त्यस आनन्दद्वारा भर्नुहोस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरणः डा. प्रेमराज ढुङ्गेल ।)

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *