पुँजी बजारको सुधार -सम्पादकीय

पुँजी बजारको सुधार -सम्पादकीय

उत्पादन र पूर्वाधार निर्माण एवं विकास क्षेत्रमा लगानी बिना देश आर्थिक उन्नति, प्रगतिका साथै समृद्धिका दिशामा अग्रसर हुन सक्दैन । लगानीका लागि पर्याप्त मात्रामा वित्तीय स्रोतहरूको आवश्यक पर्छ । यी क्षेत्रमा सधँै र सबै पुँजी सरकारकै तर्फबाट मात्रै लगानी सम्भव हुँदैन । तसर्थ मुलुकको पुँजी बजारको माध्यमबाट उत्पादन, पूर्वाधार निर्माण एवं विकासका क्षेत्रमा लगानीयोग्य पुँजी जुटाइने गरिन्छ । यो विश्वव्यापी प्रचलन नै हो । लगानीको आधुनिक मोडल नै हो भन्दा हुन्छ पुँजी बजार । पुँजी बजारले नै छरिएर रहेको साधन र स्रोतलाई एक ठाउँमा ल्याई लगानीलाई प्रतिफलउन्मुख गराउँछ ।

नेपालमा पुँजी बजारको विगत धेरै लामो तर छैन तर यताको दशकमा पुँजी बजारले आधार लिँदैछ । विगत केही वर्ष यतादेखि पुँजी बजारप्रतिको आमचासो बढ्दैछ । सेयर बजारप्रति अभिरुचि दिनेहरू निरन्तर बढ्दैछन् । यसैका कारण बजारको आयतनमा निकै विस्तार हुँदै आएको छ । अहिलेकै तथ्याङ्क हेर्दा पनि नेपालको पुँजी बजारमा ५० लाखभन्दा बढी हितग्राही खाता (डिम्याट एकाउन्ट) रहेको छ भने दोस्रो बजारका लागि खाता खोल्नेको सङ्ख्या ११ लाखभन्दा बढी छ । यस तथ्याङ्कबाट समेत नेपाली पुँजी बजारप्रति आमचासो तथा रुचि प्रतिविम्बित हुन्छ । पुँजी बजारप्रतिको आमजनताको बढ्दो रुचिलाई कायम राखेर मुलुकको विकासका लागि आवश्यक पुँजी निर्माणको उपयुक्त माध्यम बनाउनेतर्फ सम्बन्धित पक्षको सोच र जोड हुनुपर्छ । त्यसो त विगतमा कतिपय राजनीतिक नेतृत्वबाटै पुँजी बजार सम्बन्धमा नकारात्मक विचार प्रवाह नभएका होइनन् । वास्तविकता वा निचोडमा पुँजी बजार भनेको उत्पादन एवं पूर्वाधार विकास क्षेत्रका लागि लगानीयोग्य पुँजी ल्याउने एक प्रमुख माध्यम हो । पुँजी बजार बलिया हुँदा प्रत्येक नागरिक आफूसित भएको सानो रकमसमेत राष्ट्रिय विकासमा लगाउन पाउँछन् । अर्थतन्त्रको हिस्सेदार हुन सक्छन् ।

मुलुकको आर्थिक समृद्धि तथा पुँजी बजारबीच पनि निकै निकट सम्बन्ध छ । अपवादलाई छोडेर समृद्धिसँगै पुँजी बजारको पनि विस्तार भइरहेको हुन्छ । मुलुकको आर्थिक विकासका लागि महìवपूर्ण पुँजी व्यवस्थापनको थलो पुँजी बजारको विकास, अनुगमन, नियमनका लागि दुई सरकारी निकाय छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) नै बजारसित आबद्ध महìवपूर्ण निकाय हुन् । यी दुवै निकायका यसअघिका प्रमुख सेयरसम्बन्धी अनियमिततामा मुछिएका कारण पदबाट टाढिनु पर्ने अवस्था आएको थियो । फलतः सरकारले हालै मात्र यी दुवै निकायमा नयाँ प्रमुख नियुक्त गरेकोमा बुधबार यी दुवै निकायका नवनियुक्त प्रमुखलाई अर्थमन्त्री जनार्दन शर्माले विशेष निर्देशन दिनुभयो । नेपाली पुँजी बजारको नीतिगत सुधारका लागि तत्काल कार्य गर्न दिनुभएको निर्देशन पुँजी बजारको सुधारका सम्बन्धमा सकारात्मक सन्देश प्रवाहमा सक्षम हुने मान्न सकिन्छ ।

नेपाली पुँजी बजारमा विभिन्न खाले प्राविधिकलगायतका मानवीय समस्या देखापरिरहेका छन् । बजार अझै सानो छ । यस सम्बन्धमा सम्बन्धित विभागीय मन्त्रीले दिनुभएको निर्देशनबाट यी सबै खाले समस्या समाधान हुनेमा आशावादी हुन सकिने आधार बनेको छ । व्यवस्थित सेयर कारोबारका लागि  ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) को व्यवस्था गरिएको केही समय भइसकेको छ । तर पनि यसले सबै किसिमका सेवा उपलब्ध गराउन सक्ने गरी प्रभावकारी कार्य गर्न सकेको छैन । यो परिस्थितिमा अर्थमन्त्रीले उठाउनु भएको ज्ञिज्ञासा समयसापेक्ष छ । यस सम्बन्धमा पक्कै पनि सुधारात्मक कार्य हुने नै छ । यस्तै आपसी मिलेमतोमा हुने इन्साइडर  ट्रेडिड, पम्प एन्ड डम्प, सर्कुलर कारोबारजस्ता सेयर कारोबारले विशेषगरी साना लगानीकर्ता निकै नै पीडित छन् । यसबाट सेयर बजारप्रति नकारात्मक सन्देशसमेत प्रवाहित भइरहेको यथार्थ हो । यस्ता क्रियाकलाप नियन्त्रण हुन नसके साना तथा सोझा लगानीकर्ता पुँजी बजारमा ठगिने सम्भावना बढी देखिन्छ । तसर्थ यस्ता क्रियाकलापलाई समेत नियन्त्रण गर्नु आवश्यक छ । मातहतका निकायहरूको संस्थागत क्षमता अभिवृद्धिमा सेबोन तथा नेप्सेका नयाँ प्रमुखले ध्यान दिएर सुधार गर्न सके नेपाली पुँजी बजार सकारात्मक दिशातर्फ अग्रसर हुन सक्नेछ । पुँजी बजारको सुधार हुनेछ । पुँजी बजार बलियो हुँदा अर्थतन्त्रले गति लिन सक्नेछ र राष्ट्रले लाभ लिन सक्नेछ ।