वातावरण प्रदूषण रोक्न प्रभावकारी योजना आवश्यक-सम्पादकीय

वातावरण प्रदूषण रोक्न प्रभावकारी योजना आवश्यक-सम्पादकीय

 

पछिल्लो समय विश्वमा वातावरणको तीब्र रुपमा प्रदूषण भइरहेको छ । नेपालमा पनि पछिल्लो समय वातावरण प्रदूषण बढिरहेको छ । मुलुकको संघीय राजधानी काठमाडौं अहिले विश्वमै प्रदूषित शहहरुमा पर्दछ । यसलाई समयमा न्यूनीकण गर्न नसक्ने हो भने भविष्यमा नेपालले निकै दुःख व्यहोर्नुपर्ने अवस्था सृजना हुन सक्छ । नेपालको भौगोलिक बनोट विविधतायुक्त रहेको छ । नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको छ । जलवायु परिवर्तनका कारण यी तीनवटै क्षेत्र डरलाग्दो गरी प्रभावित भइरहेका छन् । हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण हिउँ पग्लने प्रक्रिया निकै तीव्र छ । हिमरेखा माथिमाथि सर्दै गइरहेको छ । पर्वतारोही अहिले सगरमाथाको वरिपरि पानी देख्दा आश्चर्यमा पर्न थालेका छन् । उनीहरूले जीवनमा कहिल्यै पनि हिउँमाथि पानी नदेखेको कुरा गरिरहेका छन् । अर्कोतिर बेमौसमी वर्षा हुने र त्यसले भीषण बाढीपहिरो निम्त्याउने गरिरहेको छ । नेपालको पहाडी तथा चुरे भूगोल बाढीको उच्च चपेटामा पर्दै गइरहेको छ । दक्षिण एसियामा सबैभन्दा ठूला पहिरो नेपालमा गएको पछिल्ला तथ्यांकले देखाइरहेका छन् । पहाडी भूभागमा पहिरोका कारण कैयौं मानिसको जनजीवन विस्थापित हुन पुगेको छ । खेतीयोग्य जमिन नास हुँदै गएको छ । वातावरण प्रदूषण र जलवायू परिवर्तनका कारण नेपालमा पछिल्लो समय प्राकृतिक प्रकोपका घटनाहरु भइरहेका छन् ।

मुलुकका विभिन्न स्थानहरुमा अहिले सुख्खा पहिरो जान थालेको छ । वर्षातको समयमा बाढी सहितको वर्षा हुन सम्भावना हुन्छ । अहिले गइरहेका सुख्खा पहिरोले बर्साद सुरु हुने बेलामा कस्तो रूप लेलान् भनेर चुरेमुनि मैदानमा बसोबास गरिरहेका जनता त्रसित र आतंकित हुन पुगेका छन् । बस्तीहरू डुब्ने, पुरिने र अनउर्वरभूमिमा परिणत हुने आशंका बढेर गएको छ । यसले ल्याउने घरबारबिहीनताको अवस्था कस्तो होला भनेर अहिल्यैदेखि सोच्ने बनाउन थालेको छ । अहिले पनि अत्यधिक वर्ष हुँदा र बाढी पहिरो चल्दा लालाबाला र बाबाआमा गुमाएर रुखको छहारीमा बालबालिका बाँच्नु परेको विडम्बना नेपालीले भोगिरहेका छन् । अहिले पनि बिरलै देखिने, भोगिने र नमेटिने आँसुका आहाल नेपालीमाँझमा सँगालिएका छन् । ढलेका पर्खाल, करेसा, गोठ, कटेराले मानिसलाई तर्साउने गरिरहेका छन् । वर्षातको समयमा बाढीले डुवान पार्ने खतरा हुन्छ । यसबाट धनजनको समेत धेरै क्षति भइरहेको छ ।

वातावरण प्रदूषणलाई हामीले समयमै ध्यान नदिने हो भने भविष्यमा ठूलो संकट निम्तने खतरा रहेको छ । जलवायु परिवर्तनका असरहरु देखिन थालेका छन् । जलवायु परिवर्तन आफंैमा दीर्घकालीन समस्या भएकाले यसले निम्त्याउने दीर्घकालीन समस्या समाधानका लागि नीति योजना तथा कार्यक्रम पनि दीर्घकालीन प्रकृतिको हुनुपर्छ । यसका लागि नेपाली मौलिकतामा भोगिरहेका दैनन्दिन जीविकाका समस्यालाई सम्बोधन गर्नेगरी नीति बनाउनुपर्छ । यसो नीति कुनै संस्था वा निकायले होइन, सिंगो राज्यसत्ता र सरकारले बनाउनुपर्छ । नीति, योजना तथा कार्यक्रम मनोगत र अव्यावहारिक हुन नदिन जलवायु परिवर्तनका कारण पीडा भोगिरहेका जनतासँग छलफल गरी तदनुरूप कार्यक्रम तय गरिनुपर्छ । विश्व समुदायसँग सहकार्य गरेर नेपालले वातावरण प्रदूषण न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको छ ।