विकास निर्माणमा नयाँ अवधारणा आवश्यक-सम्पादकीय

विकास निर्माणमा नयाँ अवधारणा आवश्यक-सम्पादकीय

 

नेपालमा कुनै पनि योजना समयमा सम्पन्न नहुने समस्या विगतदेखि नै रहँदै आएको छ । समयमा काम सम्पन्न नहुँदा आम जनताले दुःख पाउनु परेको छ भने राज्यको बजेट सहिरूपमा सदुपयोग हुन सकेको छैन । दाङको घोराही तुलसीपुर सडकखण्डमा विकास निर्माणको काम अत्यन्त सुस्त गतिमा भइरहेको छ । सडक विस्तारको काम सुरु भएको तीन वर्ष पुगिसक्दा समेत हालसम्म सात प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तारको काम ढिलाइ हुँदा आम नागरिकले सास्ती व्यहोर्नुपरेको छ । विस्तारको काम सुरु गर्दा दाँया र बाँया क्षेत्रमा खाल्डो पारीएको छ । सडकको दाँयाबाँया खाल्डो पर्दा दुर्घटनाको जोखिम निकै बढेको छ । हिउँदको समयमा आमनागरिकले धुलोको समस्या बेहोर्नुपरेको छ भने वर्षाको समयमा हिलोबाट दुःख पाउनु परेको छ । सडकको दायाँबायाँ क्षेत्रमा पुलर्निर्माणको काम समेत निकै ढिलो भएको छ । खोलाहरूमा पुल निर्माण नहुँदा वर्षातको समयमा आवतजावत गर्न निकै समस्या परिरहेको छ । वर्षातको समयमा खोलाले बगाएर वर्षेनी केही नागरिकहरूले अकालमै ज्यान गुमाइरहेका छन् । नागरिकको जीवनसँग जोडिएको यति संवेदनशील विषयमा पनि राज्यले कुनै ध्यान दिन सकेको छैन । नागरिकस्तरबाट सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा विरोधका आवाजहरु आए पनि सरकारले अहिलेसम्म उचित सुनाई गर्न सकेको छैन । सडक बनाउने जिम्मा पाएको निर्माण कम्पनी अहिले बेपत्ता जस्तै भएको छ । आमनागरिकलाई अब यो सडकखण्ड कैले बन्ने हो भन्ने कुरा पनि जानकारी छैन । अहिले त आम नागरिकहरुलाई यो सडक कैले सम्म निर्माण सम्पन्न भई सक्छ भन्ने कुरा पनि जानकारी छैन । सरकारी निकायहरुले पनि यो सडकमा कहिले काम सम्पन्न भई सक्छ भनेर भन्न सक्ने अवस्था छैन । सरकारले अब समयमै उचित पहल गरेर यो सडक खण्ड विस्तारको काम तुरुन्त सुरु गर्नुपर्छ । समयमा निर्माणको काम नसक्ने निर्माण कम्पनीलाई सरकारले यथासक्दो चाँडै कारबाही गर्नुपर्ने देखिन्छ ।

नेपालमा विकास निर्माणको काम गर्दा विभिन्न समस्याहरु आउने गरेका छन् । नेपालमा विकास निर्माणको मुख्य समस्या भनेको निर्माण कम्पनीले समयमै काम गर्न नसक्नु हो । एउटै निर्माण कम्पनीले धेरै ठेक्का लिने र समयमै काम नगर्ने समस्या विगतदेखि नै हुँदै आएको छ । त्यस्ता निर्माण कम्पनीहरुलाई सरकारले तत्काल कालोसूचीमा राखेर कानुनअनुसार कारबाही गर्नुपर्छ । धेरै विकास निर्माणको काम निर्माण कम्पनीको कमजोरीका कारण हुने देखिन्छ । यसो हुनुमा निर्माण कम्पनीको मात्रै दोष देखिदैन । यसमा हाम्रो कानुनमा रहेको नीतिगत त्रुटीका कारण पनि समस्या उत्पन्न भइरहेको छ । सार्वजनिक खरिद ऐनमा भएको नीतिगत त्रुटीका कारण पनि विकास निर्माणको काम सही ढंगले हुन सकेको छैन । हाम्रो सार्वजनिक खरिद ऐन अनुसार कुनैपनि ठेक्कामा सबैभन्दा कम रकममा ठेक्का अन्य निर्माण कम्पनीलाई कामको जिम्मा दिने नीति रहेको छ । कुनै पनि निर्माण कम्पनीले उदाहरणका लागि १० करोड लागत अनुमान गरिएको कामलाई ६ करोड सम्ममा ठेक्का हालेको देखिन्छ । यसरी कम रकममा ठेक्का हाल्दा समयमै गुणस्तरीय काम हुन सक्दैन । निर्माण कम्पनीहरुलाई पनि ठेक्का पाउने कै लागि प्रतिष्पर्धामा जतिसक्दो कम रकममा ठेक्का आउनुपर्ने बाध्यता रहेको छ । सरकारी इन्जिनियरले डिजाइन गरेको ठेक्कामा कम रकममा ठेक्का हालेर प्राप्त गर्नुपर्ने अवस्था रहेको छ । सरकारले पनि आफ्नै इन्जिनियरहरुले तयार पारेको डिजाइन भन्दा कम रकममा ठेक्का ले निर्माण कम्पनीलाई आयोजनाको काम दिइरहेको छ । यही व्यवस्थाका कारण हाम्रो निर्माण व्यवसाय बदनाम हुन पुगेको छ भने हाम्रा ती विकास निर्माणका कामहरू समयमै गुणस्तरीय ढंगले हुन सकेका छैनन् । सरकारले अब सरकारी इन्जिनियरले तयार पारेको डिजाइनमा गुणस्तरीय काम गर्नसक्ने निर्माण कम्पनीहरुलाई प्रतिस्पर्धाको आधारमा छनौट गर्नुपर्छ । निर्माण कम्पनीको काम गर्ने शैली उसले विगतमा गरेका कामका आधारमा उसलाई ठेक्का दिने व्यवस्था मिलाउनु पर्दछ ।

सडक तथा पुल निर्माणमा भइरहेको ढिलाइलेअब आम नागरिकको धैर्यताको बाँध टुटिसकेको छ । अब सचेत नागरिकहरू विकास निर्माणको काम समयमै सक भनेर सडकमा आउनु पर्ने अवस्था सिर्जना भएको छ । संघीय प्रदेश र स्थानीय सरकार गरी तीनओटै सरकारले अब सडक तथा पुल निर्माणमा भइरहेको ढिलाइका बारेमा गम्भीर रुपमा चासो दिनुपर्ने बेला आएको छ । स्वतन्त्रपूर्वक बिना डर एक ठाउँबाट अर्को ठाउँमा जान पाउनु आम नागरिकको अधिकार हो । तर हाम्रा सडकहरूको अवस्था हेर्दा बिहान घरबाट निस्केको मान्छे बेलुकी घरमा फर्किन सक्छ कि सक्दैन भनेर आशंका गर्नुपर्ने अवस्था आएको छ । दिनप्रतिदिन सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटनाका कारण बर्सेनि हजारौं नागरिकले ज्यान गुमाउनुपरेको छ । सडक दुर्घटनाको प्रमुख कारण मानवीय भएपनि पछिल्लो समय सडकको तथा पूर्व अवस्थाका कारण पनि दुर्घटना बढिरहेको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख रहेको छ । घोराही तुलसीपुर सडकखण्ड २४ किलोमिटर भएपनि अहिले यहाँका यात्रा गर्नका लागि घण्टौ समय लाग्ने गरेको छ । नागरिकहरू समयको निकै खर्च भइरहेको छ । बिरामी भएका मान्छेहरु पनि समयमै अस्पताल जान पाइरहेका छैनन् । गम्भीर बिरामी भएका मानिसहरु समयमा अस्पताल जान नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सृजना भएको छ । अब सरकारले कत्ति पनि ढिला नगरेर समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्छ । नयाँ ठेक्का समयमै गरेर निर्माणको कामलाई समय गर्नु सरकारको प्रमुख दायित्व बनेको छ ।