प्रदेश राजधानी व्यवस्थित गर्न दीर्घकालीन गुरुयोजना आवश्यक-सम्पादकीय

प्रदेश राजधानी व्यवस्थित गर्न दीर्घकालीन गुरुयोजना आवश्यक-सम्पादकीय

लुम्बिनी प्रदेशको राजधानी घोषणा भए पछि भालुबाङ क्षेत्रमा चहल पहल शुरु भएको छ । क्रमशः विभिन्न मन्त्रालयहरू स्थायी राजधानी देउखुरी उपत्यकामा आउन थालेका छन् । सरकारले लुम्बिनी विकास प्राधिकरण गठन गरेर राजधानीको दीर्घकालीन विकासका लागि प्रकृया अघि बढेको छ । अहिले प्रदेश राजधानीका लागि जग्गा प्राप्ति प्रकृया शुरु भएको छ । प्राधिकरणले प्रदेश सभाका लागि आवश्यक पर्ने भवन निर्माणको कामलाई तीव्रता दिएको छ । अहिले राप्ती प्राविधिक शिक्षालयमा रहेका दर्जनौं भवनहरू प्रदेशका विभिन्न मन्त्रालयहरू तथा विभागहरू बस्नका लागि तयारी अवस्थामा छन् । अब कत्ति पनि ढिला नगरेर राजनीतिक नेतृत्वले प्रदेशको राजधानीको कामकाज भालुवाङबाट शुरु गर्नुपर्छ । लुम्बिनी प्रदेश सभाले स्थायी राजधानी भर्जिनल्याड रोजेको छ । यसको अर्थ यो हो कि हामीले नयाँ ढंगले व्यवस्थित रुपमा राजधानी बसाउन सकिन्छ । राजधानी बस्ने बनेको मन्त्रालय र सकारी कार्यालयहरू मात्र बस्ने होइन । शहरीकरण कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हो ।
लुम्बिनी प्रदेशको राजधानीलाई मुलुककै नमुना प्रदेश राजधानी बनाउनुपर्ने छ । त्यसका लागि सरकारी प्रयासले मात्र काम गर्दैन । आम नागरिकहरूले पनि त्यही ढंगले गर्नुपर्छ । विश्वमा व्यवस्थित शहरीकरणको सबैभन्दा उपर्युक्त विधि अवलम्बन गरिएको भनेको ल्याण्डपुलिङ विधि हो । एकीकृत जग्गा विकास कार्यक्रम (ल्याण्डपुलिङ)का लागि आम जनताको सहभागिता अवाश्यक हुन्छ । यसबाट समग्र प्रदेश राजधानी क्षेत्रको दीर्घकालीन गुरुयोजना सहितको विकास गर्न सकिन्छ । यसका लागि राज्यले लगानी पनि त्यति धेरै गर्नुपर्दैन । जनताकै सहभागितामा र लगानीमा व्यवस्थित विकास गर्न सकिन्छ । सरकारले अब कत्ति पनि ढिला नगरीकन व्यवस्थित राजधानी निर्माणका लागि काम गर्नुपर्छ । अहिले काम गरिरहेको लुम्बिनी विकास प्राधिकरणलाई स्रोत सम्पन्न बनाउन जरुरी छ । यसलाई अधिकार सम्पन्न गराएर एकीकृत विकासको अवधारणमा काम गर्न जरुरी छ । अहिले शरह बसाल्नका लागि हामीले क्षणिक आवश्यकता र अवस्थाको मात्र मूल्यांकन गरेर पुग्दैन । त्यसका लागि हामीले कम्तिमा एक शताब्दीको लक्ष्य राखे पूर्वाधार निर्माण गर्नुपर्छ ।
शहरका लागि आवश्यक पर्ने महत्वपूर्ण पूर्वाधारहरू मध्ये मुख्य कुरा खानेपानी हो । खानेपानीको उपलब्धताका लागि पानीको स्रोत र वितरणको प्रणालीलाई अहिले देखि नै चुस्त बनाउनुपर्छ । सडकको उचित मापदण्ड, ढल निकास, विजुली, टेलिफोन, केवल लगायतका तारहरूको वितरणमा अहिले देखि नै ध्यान दिनुपर्छ । पूर्वाधार बनाउने र केही वर्ष भित्रै नयाँ पूर्वाधार बनाउँदा पुराना भत्काउने हाम्रो चलन नै भइसकेको छ । यसले हाम्रो लगानी मात्रै डुबाएको छैन । विकासको नाममा नागरिकलाई दुःख दिने काम भएको छ । अहिले सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा हाम्रा पूर्वाधार निर्माणका कामहरुमा ढिला सुस्ति भएको यथार्थ हो । त्यसैगरी निर्माण कम्पनीहरुको लापरबाहिले गर्दा पनि हामीलाई विकास निर्माणमा निकै समस्या परेको छ । यसलाई रोक्नका लागि सरकारले लुम्बिनी विकास प्राधिकरणलाई सर्वाधिकार सम्पन्न गराउनुका साथै आवश्यक बजेट उपलब्ध गराउन जरुरी छ ।