सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला सर्लाही

सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला  सर्लाही

दाङ, मंसिर २०। सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो सर्लाही। सरकारी तथ्यांकअनुसार यहाँ १८ हजार ९०६ हेक्टरमा उखु खेती हुन्छ। तर, अहिले यसै क्षेत्रका किसान उखु खेती गर्न मन गर्दैनन्। कारण उधारोमा बेच्नुपर्ने बाध्यता, लागत वृद्धि र मलखादको अभाव। बिक्री भए पनि हातमा नगद पार्न आन्दोलन र अनशन बस्नुपर्ने सास्तीले खेती गर्न छाडेको किसान बताउँछन्।

‘पहिला त एक बिघामा खेती गर्थे। अहिले १० कठ्ठामा मात्रै गर्छु,’ महोत्तरीको गौशाला १ कुसमारीका प्रदीप कार्की भन्नुहुन्छ ।’

सर्लाहीमा सात वर्षअघिसम्म वार्षिक ७०–८० लाख क्वीन्टल उखु उत्पादन हुन्थ्यो। गत वर्ष ३५ लाख क्वीन्टलमा सीमित भयो। यो वर्ष ४० प्रतिशतले खेती घटेकाले उत्पादन २० लाख क्वीन्टलको हाराहारीमा झर्न सक्ने बताउनुहुन्छ नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनाली। ‘मूल्य र मलखादकै समस्याले किसान उत्पादन गर्न रुचाउँदैनन्, त्यसैले उत्पादनमा ह्रस आएको हो,’ मैनालीले भन्नुभयो।

नेपालका ४१ जिल्लामा उखु खेती भए पनि तराईका ११ जिल्लामा व्यावसायिक खेती हुन्छ। व्यावसायिक खेती हुने सबै जिल्लाका किसानको पीडा सर्लाहीको भन्दा कम छैन। समस्या एउटै भएकाले किसानले यसको विकल्पमा अन्य खेती रोज्न थालेका हुन्। उनीहरू अहिले उखु खेतीको साटो केरा, धान, मकै र ड्रायगन जस्ता खेती रोज्न थालेका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकले पनि मुख्य सिजनमा नै उखुको उत्पादन घटेको देखाएको छ। आर्थिक वर्ष २०७७र७८ को तथ्यांकअनुसार उखुलाई काटेर मिलमा पुर्‍याउने समय (क्रिसिङ सिजन) मा ४१।६७ प्रतिशतले उत्पादन घटेको छ। यो फागुन र चैतको समय हो। यो समयमा १ लाख ५ हजार मेट्रिक टन मात्रै उत्पादन भएको तथ्यांक छ।

आर्थिक वर्ष २०७६र७७ को यो सिजनमा १ लाख ८० हजार मेट्रिक टन उत्पादन भएको थियो। किसानले खेती नगरेकै कारण उत्पादन घटेको उद्योग मन्त्रालयकी उपसचिव उर्मिला केसी बताउनुहुन्छ। ‘बजारमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनीको माग छ। तर, चिनी उत्पादन आधा पनि हुँदैन,’ केसीले भन्नुभयो। उत्पादन नभएकै कारण भारतबाट चिनी आयात गर्नुपर्ने बाध्यता छ।

नेपालमा करिब १ लाख कृषक परिवार उखु उत्पादनमा संलग्न छन्। यसले नेपालको अर्थतन्त्रमा करिब १७ अर्ब रुपैयाँ बराबरको योगदान गर्छ। देशभरिका १२ वटा चिनी मिलहरूमध्ये प्रदेश २ मा ६ वटा मिल छन्। यहाँ करिब पाँच हजार नेपाली कर्मचारी एवं कामदार र ६० हजार कृषक परिवारले प्रत्यक्ष रोजगार पाएका छन्। यो समाचार अन्नपूर्ण पोष्टमा छ ।