आजबाट सुरु भएको संसद बैठक स्थगित

आजबाट सुरु भएको  संसद बैठक स्थगित

दाङ, मंसिर २८। आजबाट सुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशन आधि घण्टा पनि नबसेर स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को अर्को बैठक पुस ६ गते सम्मका लागि स्थगित गर्नुभएको हो ।

सभामुखको कार्यशैलीप्रति असन्तुष्ट रहेको एमालेले सुरुमै नाराबाजीसहित बैठक अवरुद्ध गर्न खोजे पनि सभामुखले बैठकको कारबाही प्रक्रिया अघि बढाउनुभयो।

संसद्‍ बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा हुँदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताउनुभएको थियो ।

यसैबीच भित्र संसद चलिरहेको समयमा संसद् बाहिर भने अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा प्रदर्शन भएको छ।

एमसीसी संसदबाट पारित नगर्न भन्दै माओवादी केन्द्र निकट कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ।