फरार अभियुक्तलाई अर्घाखाँची प्रहरीले धमाधम पक्राउ,चार महिनामा ८ जना पक्राउ

फरार अभियुक्तलाई अर्घाखाँची प्रहरीले धमाधम पक्राउ,चार महिनामा ८ जना पक्राउ

अनिल नेपाली
अर्घाखाँची पुस ५ । विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई अर्घाखाँची प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, अदालतले विभिन्न मुद्दामा कैद, जरिवाना तोकेका व्यक्तिहरु कैद र जरिवाना भुक्तानी नगरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरिरहेको हो । अर्घाखाँचीमा प्रहरी प्रमुख भएर प्रहरी नायब उपरीक्षक अम्मर बहादुर थापा क्षेत्री आएसँग फरार अभियुक्त पक्राउ पर्न थालेका हुन।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार चालू आर्थिक बर्षको पछिल्लो चार महिनामा आठ जना फरार प्रतिवादीलाई प्रहरीले प्रक्राउ गरेको छ । २२ वर्ष देखि फरार रहेका देखि पछिल्लो केहि महिना देखि फरार रहेकालाई प्रक्राउ गरिएको प्रहरी नायव उपरिक्षक अम्मरबहादुर थापाले बताउनुभयो। २०५६ साल असार १८ गते फैसला भएका कर्तव्य ज्यानका प्रतिवादी शितगंगा नगरपालीका वडा नम्वर ७ का खिमबहादुर पुलामीलाई २०७८ कार्तिक १६ गते प्रक्राउ गरि कारागार पठाईएको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो पटक २०७८ मसिर २३ गते बहुविवाह गरि फरार रहेका बसन्त नेपाली, पाणिनी गाउँपालिका साविक मैदान गाविस वडा नम्वर ९ का नारायण बहादुर सुर्यवसीलाई हत्या गरि फरार रहेका सोही स्थानका हुमबहादुर रास्कोटी, लागुऔषधमा संलग्न पाणिनी गाउँपालीका साविक पाली गाविस वडा नम्वर २ निवासी रोसन अली पक्राउ परेका छन् ।

त्यस्तै कर्तव्य ज्यानमा फरार रहेका सितगंगा नगरपालिका वडा नं. ७ निवासी खिमबहादुर पुलामी, छत्रदेव गाउँपालिका वडा नं.४ निवासी गोकुल बस्नेत चोरी सम्बधी कसुरमा फरार रहेकोमा प्रक्राउ गरिएको प्रहरी निरीक्षक सुजन शाहले बताउनुभयो।

उहाँका अनुसार सवारी ज्यानमा फैसला भई फरार रहेका पाणिनी गाउँपालीका – ३ का मनोज दलार्मी, बैकिङ कसुरमा भुमिकास्थान नगरपालीका – ८ का लिलबहादुर कुवर क्षेत्री र बहुविवाह सम्बन्धि कसुरमा फरार रहेका सन्धिखर्क नगरपालीका ११ का तेज बहादुर कुवरलाई प्रक्राउ गरि कारागार चलान गरिएको छ।

गल्ती गरेपछि कुनै दिन कानुनको दायरमा आउनु पर्छ भन्ने मान्यता स्थापित गर्न पनि जिल्लामा फरार अभियुक्त पक्राउ अभियान नै चलाईएको प्रमुख थापाले बताउनुभयो ।