पहिरोले चालकसहित स्काभेटर पुरियो

पहिरोले चालकसहित स्काभेटर पुरियो

म्याग्दी, पुस ५। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा आज पहिरोले चालकसहित स्काभेटर पुरिएको छ। तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८।५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको सडक निर्माणका क्रममा चालक र एक्स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले स्काभेटर चालक रघुगङ्गा–२ का अन्दाजी २७ वर्षका भीमबहादुर खत्री पहिरामा पुरिएको जानकारी दिनुभयो।

‘अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ’, उहाँले भन्नुभयो, ‘सडक खनिरहेको अवस्थामा एक्कासि पहिरो खसेर पुरिएको हो।’

प्रहरी निरीक्षक गुरुङसहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदूर र स्थानीयवासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन्।