आफ्नो दृष्टिकोण बनाउन नसक्ने गठबन्धन किन सरकारमा छ?महासचिव पोखरेल

आफ्नो दृष्टिकोण बनाउन नसक्ने गठबन्धन किन सरकारमा छ?महासचिव पोखरेल

दाङ, पुस ५। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको गठबन्धनको सरकार आफ्नो दृष्टिकोण समेत बनाउन नसक्ने अवस्था रहेको बताउनुभएको छ । दाङको घोराहीमा प्रेस चौतारी नेपालको ९औँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले राष्ट्रका मामलामा आफ्नो दृष्टिकोण बनाउन नसक्ने गठबन्धन किन सरकारमा छ भन्दै प्रश्न गर्नुभएको छ ।

एमसिसि जस्तो मामलामा सरकारले आफ्नो दृष्टिकोण बनाउन नसकेर प्रतिपक्षको आश गरेर बसेको पनि उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका पोखरेलले एमसिसिका मामलामा सरकारको दृष्टिकोण के हो? भन्दै प्रश्न पनि गर्नुभएको छ।
‘एमसिसिका मामलामा सरकारको दृष्टिकोण के हो?,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘अँह गठबन्धन सरकार आफ्नो दृष्टिकोण बनाउन सक्दैन । उ प्रतिपक्षको आश गरेर बस्छ ।’

पोखरेलले राष्ट्रका हेरेक नयाँ मुद्दामा गठबन्धन सरकारले निर्णय गर्न नसकेको भन्दै दृष्टिकोण बनाउन नसक्ने गठबन्धन सरकार बस्न नसुहाउने दाबी गर्नुभयो । ‘राष्ट्रका मामलामा आफ्नो दृष्टिकोण बनाउन नसक्ने गठबन्धन सरकारमा बस्न सुहाउँदैन,’ उहाँले भन्नुभयो, ‘जब दृष्टिकोण बनाउन प्रतिपक्षको आश गरेर बस्ने सरकारले विकास निर्माण कसरी गर्छ?’