घरघरमा विरामी खोज्दै स्वास्थ्यकर्मी

घरघरमा विरामी खोज्दै स्वास्थ्यकर्मी

पाण्डव शर्मा
घोराही, ६ पुस । घोराही उपमहानगरपालिका वडा नं १० निवासी ९० वर्षीया रामकली डाँगी खुसीले गदगद हुनुभएको छ ।
डाँगीले बिरामी परेपछि घरमै घरेलु औषधीमूलो गराउने गर्नुहुन्थ्यो । त्यति गर्दा पनि निको नभए पछि उहाँ आफ्ना छोरा बुहारीको सहारामा अस्पताल सम्म जाने गर्नुहुन्थ्यो । यस पटक भने स्वास्थ्यकर्मीहरू नै उहाँकै घरमा गएर स्वास्थ्य परिक्षण गरेका छन् । ‘बिरामी भए पछि धौधौका अस्पताल सम्म जाने गरेको छु, यस पटक भने अस्पतालबाटै मेरो स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरू घरमा आउनुभएको छ,’ डाँगीले भन्नुभयो, ‘सरकार आफै जनताको घरमा आएर बिरामीको उपचार गर्छ भन्ने कुरा यस अघि मलाई विश्वास नै थिएन ।’ दमको समस्या भएकी डाँगीलाई सामान्य हिँडडुल गर्दा पनि थकान लाग्ने गर्छ । अस्पताल जान पनि निकै गाह्रो हुने गरेको उहाँले बताउनुभयो ।
सरकारले घरघरमै गई ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा उपचार कार्यक्रम शुरु गरेको छ । यो कार्यक्रम तीन वर्ष पहिले शुरु भए पनि कोरोनाका कारण बीचमा प्रभावकारी रुपमा सञ्चालन हुन सको थिएन । विगतमा ८४ वर्ष, त्यसपछि ८० वर्ष र यही मंसिर देखि ७० वर्ष माथिका जेष्ठ नागरिकको घरमै गएर सेवा प्रदान गर्न थालिएको घोराही उपमहानगरपालिका वडा नं १० स्थित नारायणपुर स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख डिल्लीराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिकहरूलाई सम्मान र उनीहरूको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले यो कार्यक्रम लागू गरेको हो । ‘यो कार्यक्रम निकै प्रभावकारी देखिएको छ, घरमै गएर उपचार गर्दा ज्येष्ठ नागरिक आमाबुबाहरू निकै खुसी हुनुभएको छ,’ उहाँले भन्नुभयो, ‘सरकार नागरिकको स्वास्थ्य प्रति गम्भिर भएर लागेको छ भन्ने कुरा यसबाट पुष्टि हुन्छ ।’
देशका सबै स्थानीय तहका सबै वडाहरूमा यो कार्यक्रम लागू भएको छ । नारायणपुर स्वास्थ्य प्रवर्द्धन केन्द्रमा मात्रै मंसिर महिना देखि हालसम्म २ सय जेष्ठ नागरिकको घरमा पुगेर ज्येष्ठ नागरिकको उपचार गरिएको छ । हामीले कार्यालयको कामको चाप हेरेर जनप्रतिनिधिहरू, स्वयम् सेवक र स्वास्थ्यकर्मीहरू पुगेर उपचार गर्ने गरेका छौं । यो कार्यक्रमबाट आम ज्येष्ठ नागरिक निकै लाभान्वित भएको वडा अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल)ले बताउनुभयो । ‘यो कार्यक्रमबाट हाम्रा वडामा रहनुभएका ज्येष्ठ नागरिकहरू निकै खुसी हुनुभएको छ,’ उहाँले भन्नुभयो, ‘हामी आफै पनि जनताको घरमा पुगेर सेवा गर्न पाउँदा निकै खुसी भएका छौं ।’
स्थानीय ७८ वर्षीय चेतलाल रावतले पहिलो पटक रक्त चापको परिक्षण गर्नुभयो । ‘मैले अहिलेसम्म कहिले पनि रक्तचापको परिक्षण गरेको थिएन,’ उहाँले भन्नुभयो, ‘यस पटक परिक्षण गर्दा मलाई रक्तचापको समस्या रहेछ, रक्तचाप २००÷१२० रहेछ ।’ सामान्यतया मान्छेको रक्तचाप १२०÷८० हुने प्रवर्द्धन केन्द्रका प्रमुख आचार्यले जानकारी दिनुभयो । ‘उहाँलाई रत्तचाप सम्बन्धि समस्या रहेछ, हामीले थप उपचारका लागि मुटु विशेषज्ञको रिफर गरेका छौं,’ उहाँले भन्नुभयो, ‘मंगलबार मात्रै हामीले घुम्ति स्वास्थ्य परीक्षणका क्रममा एक जनामा मुटुको समस्या भएको फेला पा¥यौं, उहाँलाई पनि मुटु विशेषज्ञको रिफर गरिएको छ ।’
हामीले मंगलबार मात्रै ४० जना जतिको स्वास्थ्य परिक्षण गरेका छौं । त्यसमध्ये १५÷१६ जनमा एन्जाइटी र डिप्रेसनका बिरामी फेला परेका छन् । उनीहरुलाई औषधीको व्यवस्था गर्न सकिएको छैन । ‘मानसिक रोग सम्बन्धी औषधी निशुल्क प्रदान गर्ने सरकारको कार्यक्रम छैन, हामीसँग बजेट पछि छैन,’ आचार्यले भन्नुभयो । यो कर्याक्रम आगामी दिनमा पनि निरन्तर चलिरहने छ ।