स्वास्थ्य क्षेत्रको विकासमा दीर्घकालीन गुरुयोजना आवश्यक-सम्पादकीय

स्वास्थ्य क्षेत्रको विकासमा दीर्घकालीन गुरुयोजना आवश्यक-सम्पादकीय

सरकारले स्वास्थ्य क्षेत्रमा ध्यान दिन सकेको छैन । यसले गर्दा आम नागरिकहरुले अकालमा ज्याउन गुमाउनुपरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हामी सबैलाई दुःख दिएको छ । विश्वका अधिकांश देशहरु महामारीबाट निकै प्रभावित भएका छन् । विकशित मुलुकहरु देखि विकाशोन्मुख मुलुकहरुसम्म कोरोनाले निकै दुःख दिएको छ । यो शाताब्दीमा आएको यो नै ठूलो महामारी हो । अहिले मान्छेहरु मंगलग्रहसम्म पुगिसकेका छन् । विज्ञानमा धेरै चमत्कार भएको छ । विश्वलाई एकै छिनमा ध्वस्त पार्न सक्ने हतियारहरु बनेका छन् । तर, एउटा भाइरसले विश्व समुदायलाई निकै आक्रान्त बनाएको छ । साथै स्वास्थ्य क्षेत्रलाई बुझ्ने नयाँ परिभाषा पनि आएको छ । अहिले विश्वमा हतियारमा हाइन स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने आवाजहरु आएका छन् । अहिले विश्वका अधिकांश देशहरुले स्वास्थ्य क्षेत्रमा लगानी बढाईरहेका छन् । यसलाई हामी सबैले सकरात्मक मान्नुपर्छ । नेपालमा पनि स्वास्थ्य क्षेत्र कति विजोग रहेछ भन्ने कुरा अहिले देखिएको छ ।
नेपालमा अहिले सबै स्थानीय तहहरुमा अस्पताल निर्माणको प्रकृया शुरु भएको छ । यो निकै राम्रो कुरा हो । अहिले भएका अस्पतालहरुको सेवा पनि विस्तार गर्नुपर्छ । नेपालमा दक्ष जनशक्तिको अभाव पनि छैन । तर, धेरै डाक्टरहरु काठमाण्डौं केन्द्रित भएको देखिन्छ । मुलुक संघीयतामा गइसकेको छ । सबै प्रदेशहरुमा मेडिकल कलेजहरु तथा प्रतिष्ठानहरु स्थापना भएका छन् । त्यहाँ डाक्टरी शिक्षा पढाई भइरहेको छ । यहाँ जनशक्ति पनि उत्पादन भइरहेको छ । अब ती जनशक्तिलाई हामीले काममा प्रयोग गर्नुपर्छ । सबै अस्पतालहरुमा मेन्टिलेटर र आइसीयूको व्यवस्था गर्नुपर्छ । नेपालमा अक्सिजनको पनि समस्या देखिएको छ । अब सबै प्रदेशहरुमा ठूला ठूला लगानीका अक्सिजन प्लान्टहरु खोल्न जरुरी छ । स्वास्थ्य क्षेत्र आधारभूत आवश्यकता हो । हाम्रो संविधानले पनि यसलाई नैसर्गीक अधिकारको रुपमा उल्लेख गरेको छ । आम नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको दायित्व हो । साथै हाम्रो जस्तो आर्थिक अवस्था कमजोर भएको मुलुकमा सरकारी लगानीले मात्रै स्वास्थ्य क्षेत्रको सुधार हुन सक्दैन । अब स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी आउन जरुरी छ ।
स्वाथ्य क्षेत्रको पुर्नसंरचनाका लागि राज्यले दीर्घकालीन गुरुयोजना बनाउन आवश्यक छ । दक्ष जनशक्ति उत्पादनका साथै अस्पतालहरुको प्रविधि विकासमा राज्यले ध्यान दिन जरुरी छ । हाम्रो स्वास्थ्य क्षेत्रको संरचना नै परम्परागत ढंगको रहेको छ । यसलाई सुधार गर्नका लागि सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नैपर्छ । साथै आगामी वर्षहरुमा स्वास्थ्य क्षेत्रमा बजेट बढाउँदै जानुपर्छ । निजी क्षेत्रलाई पनि स्वास्थ्य क्षेत्रमा लगानी गर्ने वातावरण तयार गर्न आवश्यक छ ।